२०-२६ मंसीर २०७२ | 6-12 December 2015

पर्वतीय चलचित्रको पालो

Share:
  
पर्वतीय चलचित्रको महोत्सव बिहीबारदेखि पाँचदिनसम्म राजधानीमा हुँदैछ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १३औं संस्करण २४–२८ मंसीरसम्म राजधानीको कमलपोखरीस्थित कुमारी सिनेमा हलमा हुँदैछ। महोत्सवमा २५ देशका वृत्तचित्र, फिक्सन, एड्भेन्चर, सर्ट फिल्म, एन्थ्रोपोलोजिकल न्यारेटिभ्स् र एनिमेशन विधाका ८० वटा चलचित्र देखाइने छन्। नेपाल पानोरामा अन्तर्गत नेपाली वृत्तचित्रको विशेष प्रदर्शन पनि गरिनेछ।

महोत्सवकी निर्देशक रम्यता लिम्बूका अनुसार, महोत्सवको उद्घाटन गणेश पाण्डेद्वारा निर्देशित 'भाग्यले बाँचेकाहरू' वृत्तचित्रबाट हुनेछ। “यो वृत्तचित्रमा १२ वैशाखको महाभूकम्पबाट मुश्किलले बाँचेकाहरुको कथा र क्षतिग्रस्त देश चित्रित छ”, लिम्बू भन्छिन्। चलचित्रबाहेक महोत्सवमा भारतीय पर्वतारोही तथा फोटोग्राफर अभिजित सिंहका तस्वीरहरूको विशेष प्रदर्शनीका साथै 'दक्षिण एशियाली स्वतन्त्र चलचित्रहरुको प्रवृत्ति' बारे परिसंवाद समेत हुनेछ। परिसंवादमा नेपाली चलचित्र निर्देशकहरु छिरिङ रितार शेर्पा, मीन भाम, भारतीय चलचित्र सम्पादक नम्रता राव र वरिष्ठ चलचित्र समीक्षक प्रेमेन्द्रनाथ मजुमदार सहभागी हुनेछन्। यसबाहेक प्रतिस्थापन कलालाई पनि स्थान दिइएको छ।

पानोरामा।

द कपर भिलेज।

तासी एण्ड द मंक।

शेर्पा।

वृत्तचित्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट तीन चलचित्रलाई १५००, १००० र ५०० अमेरिकी डलरसहित सम्मान प्रदान गरिनेछ। नेपाल पानोरामा अन्तर्गतका दुई उत्कृष्ट फिक्सन र वृत्तचित्रलाई रु.५० हजार दिइनेछ। आयोजकका अनुसार, दक्षिणएशियाको पर्वतीय विकास सम्बन्धी बनेको उत्कृष्ट चलचित्रलाई पनि १००० डलरको विशेष पुरस्कारले सम्मानित गरिनेछ। यस वर्ष प्रतियोगिताको निर्णायकमा बेलायती पर्वतारोही तथा पत्रकार एड डग्लस्, दक्षिणकोरियाकी प्राध्यापक युन यङ्ग किम, भारतीय चलचित्र सम्पादक नम्रता राव तथा समीक्षक प्रेमेन्द्रनाथ मजुमदार छन्।

महोत्सवको आकर्षण 'हिमाल चिनौं' (नो योर हिमाल) हाजिरीजवाफ प्रतियोगिता यस वर्ष पनि हुनेछ, जसलाई पत्रकार कुन्द दीक्षित र गायक अमृत गुरुङले सञ्चालन गर्नेछन्। महोत्सवको समापन नेपालमा अन्तर्राष्ट्रियस्तरको होटल व्यवसाय शुरु गरेका बोरिस लिसानोभिचबारेको वृत्तचित्र 'टाइगर फर ब्रेकफास्ट' बाट हुने आयोजकले जनाएका छन्।

comments powered by Disqus

रमझम