२०-२६ मंसीर २०७२ | 6-12 December 2015

इन्डोर क्रिकेटको अवसर

Share:
  
निजी क्षेत्रले काठमाडौंमा खोलेको इन्डोर क्रिकेट एकेडेमीमा दैनिक २०० जनाले बाह्रै महीना क्रिकेट अभ्यास गर्न सक्छन्।

गोपेन राई
नेपाली क्रिकेटलाई नयाँ उँचाइमा पुर्‍याएका क्यानेडियन प्रशिक्षक पुबुदु बाथिया दासानायके नेपालबाट विदा भई स्वदेश फर्कने दिन १२ मंसीरमा काठमाडौं, रातोपुलस्थित सुविधासम्पन्न इन्डोर क्रिकेट एकेडेमीको उद्घाटनमा पुगे। दासानायकेको चारवर्षे प्रशिक्षकत्वमा टीम नेपालले आईसीसी टी–२० विश्वकप खेलेको थियो भने एकदिवसीय क्रिकेटमा डिभिजन–४ बाट डिभिजन–१ मा उक्लन सफल भएको थियो।

नेपाल स्पोर्टस् म्यानेजमेन्टले सञ्चालनमा ल्याएको इन्डोर एकेडेमीमा क्रिकेटको आधारभूतदेखि विशिष्ट स्तरको प्रशिक्षण दिइने मुख्य प्रशिक्षक तथा राष्ट्रिय टीमका पूर्व कप्तान विनोद दास बताउँछन्। “इन्डोर एकेडेमीले क्रिकेटर उत्पादनका साथै राष्ट्रिय टोली बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु”, दास भन्छन्। प्रशिक्षणका लागि विदेशी प्रशिक्षक झिकाउने तयारी भइरहेको पनि उनको भनाइ छ। राष्ट्रिय टीमका खेलाडीलाई जुनसुकै वेला अभ्यास गर्ने व्यवस्था मिलाइएको एकेडेमीमा पूर्व राष्ट्रिय खेलाडी कलाम अली पनि प्रशिक्षकको भूमिकामा छन्।

एकेडेमीमा राति समेत अभ्यास गर्न सकिन्छ। कृत्रिम घाँसेमैदान, बलिङ मेशीन, बलिङ गति नाप्ने स्पीड गन जस्ता थुप्रै सुविधा उपलब्ध छन्। एकेडेमीका सञ्चालक करण घिमिरे वर्षायामको तीन–चार महीना विना अभ्यास बस्नुपर्ने खेलाडीको बाध्यता अन्त्य भएको बताउँछन्। काठमाडौं क्षेत्र नं ३ का पूर्व खेलाडी समेत रहेका घिमिरे भन्छन्, “बिहान, दिउँसो र साँझ गरी दैनिक २०० जनालाई प्रशिक्षण दिन सक्ने व्यवस्था मिलाएका छौं।” चार रोपनी आठ आना क्षेत्रफलमा फैलिएको एकेडेमीले यू–१४ र यू–१६ इन्डोर प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको पनि उनी बताउँछन्।

इन्डोर एकेडेमीले क्रिकेटर उत्पादनका साथै राष्ट्रिय टोली बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।

विनोद दास,

एकेडेमीका मुख्य प्रशिक्षक

एवं नेपाली टोलीका पूर्व कप्तान

एकेडेमीले खेलाडीलाई 'एक्सपोजर' का लागि विभिन्न देशहरुमा खेलाउने योजना बनाइरहेको एकेडेमीका अर्का सञ्चालक अकुर रिमाल बताउँछन्। प्रशिक्षणका क्रममा प्रतिभावान तर आर्थिक अभाव भएका खेलाडीलाई छात्रवृत्ति समेत प्रदान गरिने बताउँदै रिमाल भन्छन्, “क्रिकेटरको संख्या बढाउन विद्यालयहरूमा जाने सोच बनाएका छौं।”

प्रशिक्षक दासका अनुसार, बलिङ मेशीनले एकै स्थानमा र एउटै गतिमा बल फ्याँक्ने हुँदा एकेडेमीको प्रशिक्षणले ब्याटिङ सुधार्न पनि मद्दत पुग्छ। उनी भन्छन्, “आवश्यक सुविधा भएपछि इन्डोर पिचको प्रशिक्षण पनि प्रभावकारी हुन्छ।”

सन्त गाहा मगर

comments powered by Disqus

रमझम