२०-२६ मंसीर २०७२ | 6-12 December 2015

पीपलामोडकी आमा

Share:
  
महाभूकम्प र नाकाबन्दीले सताएको नेपाली समाजमा यस्ता पात्र पनि छन्, जसलाई भेट्दा जब्बर नेपाल यिनकै विवेकमा टिके झै लाग्छ।

हिमाल साप्ताहिक को लागि पर्साका सीमावर्ती गाउँको स्थलगत रिपोर्टिङ गरेर काठमाडौं फर्कने क्रममा चौथो दिन १० मंसीरको बिहान हामीले धादिङको पीपलामोड नजिकै डाँडामा मोटरसाइकल बिसाएका थियौं। साथी विक्रम राईले इन्धन अभावका कारण खाली–खाली देखिएको नागबेली सडकको तस्वीर खिच्न क्यामरा निकाल्न लाग्दा मेरो ध्यान कान्लामुनिको टहरामा कोदो सुकाउन लागेकी आमैतिर तानियो। मैले पनि फोटो खिच्ने अनुमति लिंदै कुरा थालें।

“मेरो खास नाम मनकुमारी हो, तर सबैले कान्छी खत्रीनी भन्छन्। अबको १२ वर्षमा सय पुग्छु। श्रीमान् उहिल्यै बित्नुभो। तीन छोरा, बुहारी र नातिनातिना छन्। उनीहरूले नै हेरिरहेका छन्, नहेरे त म बूढी कसरी बाँच्नु र! भूकम्पले घर लगे पनि मान्छे बाँचियो। दुहुनो गाईलाई पनि केही नहुँदा दूधभात खान पाइएको छ। घाँस काट्छु, खेती गर्छु। अलि फोहोर जस्तो ठाउँमा बस्न मन लाग्दैन र अलग्गै बसेकी छु। सरकारले घर बनाउन पैसा दिन्छ भन्ने सुनेकी छु तर कसैले थोरै चामल र त्रिपाल मात्र दिए।”

बोल्दाबोल्दै जरुरी केही बिर्से झै गरेर आमैले सोधिन्, “ए बाबु, भोगटे खान्छौ? मेरै बारीको हो, चार वटा ल्याएकी थिएँ, एउटा बाँकी छ।”

आमैले भित्र पसेर तुरुन्तै भोगटे ल्याएर लिन कर गर्न थालिन्। बदलामा रु.१०० दिंदै भोगटे लिन खोज्दा मानिनन्। 'छोराहरूको तर्फबाट पनि लिनुस्न' भन्दै पैसा थमाइदिएपछि अप्ठ्यारो महसूस गरेकी उनले फेरि सोधिन् “बाबुहरूलाई अकबरे खुर्सानी मन पर्छ?”

अचानकको यो लेनदेनबाट जिल्लिरहेकै वेला फुर्तिली आमैले एक पोको खुर्सानी ल्याएर हामीतिर बढाइन्। पैसाका लागि जे पनि भइरहेको सीमा क्षेत्रबाट फर्किएका हामी भूकम्पपीडित यी आमैको मनको अगाडि कायल भयौं। खुर्सानी लिएपछि अर्को रु.५० आमैको हातमा थमाउन फेरि कर गर्नु पर्‍यो। शरीर थाकेको भए पनि दिलदिमाग चंगा पार्दै विदाको हात जोड्दा आमैले भनिन्, “विस्तारै जानू।”

शब्द/तस्वीरः अनुशील श्रेष्ठ

comments powered by Disqus

रमझम