२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

ईश्वरले चाहे...!

Share:
  
- महेश थापा
छिमेकी प्रभूले दैलो उघार्लान् कि नाईं भन्दै ढुकुवा बन्नुको सट्टा आफ्नो घर आफैं सम्हाल्ने सद्बुद्धि हाम्रो नेतृत्वलाई दिन भगवानले नबिर्सिउन्!

भानु भट्टराई
बासी भात गोदेर कार्यालयतिर लम्किंदै गर्दा बाटोमा बडबडाउँदै हिंडेका एकसुरे सहकर्मी भेटिए।

“सुप्रभातम्, जिग्री!”

“नाकाबन्दी भारतले गरेको होइन!”

मतिर नहेरी यति बोलेर उनी अघि बढे। मित्रले नचिनेको आशंका गर्दै म उनलाई पछ्याउन थालें।

“कति बज्यो, दाइ?” त्यहीबीचमा आइलागेको एउटा फुच्चेले सोध्यो। “नाकाबन्दी भारतले गरेको होइन!”

“कसले गर्‍यो त?” जिल्लिएको फुच्चेले फेरि सोध्यो।

“यही ज्यानको करामत हो”, फुकीढल मित्र आत्मविश्वासी देखिन खोजे। “खुट्टी देख्दै चाल पाएँ”, केटोले ओठ लेपार्‍यो।

यतिवेला ढँटुवा पेशा चम्किएको देख्दा मान्छेहरूलाई मन थाम्न मुश्किल परिरहेछ। नेपालीको किलकिले अँठ्याउन सीमानामा छाडेको बिल्ली अन्ततः सबैको निम्ति गलपासो बन्यो। कसैलाई सर्लक्क टकटकिने सुर्ता छ, कसैलाई भारी बोक्न नसक्दाको छटपटी। कोही यसलाई नाकाबन्दी भनम्/नभनम् भन्ने दोधारमा फँसेर बेहाल भएका देखिन्छन्। नाकाबन्दीको जाँतोमा पिसिएर गानो खुस्केला जस्तो भएपछि कतिपय पढाकु चाहिं राजनीति, कूटनीति र अर्थनीतिको पोथा फिंजाएर तमाससँग बर्बराइरहेछन्। अन्तर्राष्ट्रिय कानून र भूपरिवेष्ठित देशको पारवहन अधिकारको रौंचिरा व्याख्याबीच हल्लनटाट भएका हामीले भने समस्याको नाभी छाम्न नसकी सास्ती व्यहोरिरहेका छौं। महीनौंको माथापच्ची पश्चात् नाकाबन्दी नामकरणमा गोलमटोल सहमति बने पनि त्यो निकृष्ट कृत्यको कर्ता खोज्ने भाउँटो ज्यूँदै छ।

तथापि, 'ईश्वरले चाहे नाकाबन्दी खुल्ने' भारतीय विदेशमन्त्रीको मधुवाणीले आँत हरहरिएका बहुसंख्यक नेपालीलाई मुख मिठ्याउन प्रेरित गरिकन धेरै उल्झ्नलाई होलसेलमा निप्टारा पनि लगाएको छ। हामी नानाभाँती तर्कनामा तैरियौं, अनेकका 'लजिक' लगायौं, तर यो सब कियाधरा ईश्वरको रहेछ। उनै ईश्वरले नचाहँदा तक छोट्के भ्राता जति फड्फडाए पनि छेस्किनी खुल्नेवाला नाईं। आध्यात्मिक आँखाले हेर्दा छ्याङ्ग देखिन्छ पनि– ब्रह्माण्डका रचयिता ईश्वरको निम्ति असम्भव के छ? समस्या के मात्र हो भने, कण–कणमा व्याप्त ईश्वर राममा मात्र नभई रावणमा समेत विराजमान हुने भएकाले कहाँका कुन भगवानलाई पुज्दा चाँडो फलिफाप होला?

निर्णायक भनिएको वार्तालाई अलपत्र छाडेर दिल्लीतिर लस्किएका महाजनहरूलाई सिल्ली सावित गर्न बतौरेहरू बेस्कन लागे, तर विघ्नहर्ता रिझाउन प्रभूको द्वार धाउने तीर्थालुहरूप्रति दुर्भाव पाल्ने पापात्माहरूको दोजात्रा अवश्यंभावी छ। तपोभूमि नेपालमा तीर्थस्थलको कुन कमि थियो र दिल्लीसम्मको धपेडी? भन्ने बचकाना सवालमा टोलाउनेहरूले नजिकको तीर्थलाई जस्तै धर्मान्धले पनि हेलाँ गर्ने सत्यको हेक्का राखून्।

भारतीय सदनमा अचेल नेपाल सार्वभौम मुलुक भएको सत्य गुञ्जायमान छ। कतिपयले यसलाई बल्छीको माछो उम्केर नदीमा छुमन्तर होला भन्ने माझ्ीदाइको चिन्तासँग पनि दाँज्लान्, किन्तु दशकौंबाट शीतनिद्रामा लट्ठिएका छिमेकी माननीयहरूमा अचानक यस्तो चेत पलाउनुमा पनि भगवानकै हात हुनुपर्छ। भारत जन्मँदाको 'देखी जान्ने' नेपाललाई सार्वभौम भनिदिएकोमा फुरुङ्गिदै हाम्रो संसद्ले धन्यवाद प्रस्ताव पारित गरिदिन पनि बेर छैन!

उता, सुषमा म्याडमले नेपालमा हालसम्म लगाएको नाकाबन्दीहरूको साविती बयान राज्यसभामा रेकर्ड गराएकी छन्। यताका बछेडाहरूले दिल्लीको सडकमा ड्वाँ ड्वाँ गर्दै नाकाबन्दीको बोझ घिच्याउन खोजेको वेला टाठी म्याडमको जिब्रोमा फिसलन आउनु फगत संयोग होइन। ईश्वरले चाहे नेपालमा भारतले गर्दै आएको भाइगिरीको फेहरिस्त भारतीयहरूले नै लिखितम् र बकितम् दुवै गर्दै जाने आशा राखम्।

जहाँसम्म ईश्वरले साँच्चै नाकाबन्दी खोल्लान् त? भन्ने बलढ्याङ्ग्रे प्रश्नको बात छ, लक्षण त्यस्तै छ। काठमाडौंका दूतले दिल्ली पुगेर वर्तमान संकटलाई 'नेपालको आन्तरिक राजनीतिक समस्या' कबोलेकोमा गद्गद् ईश्वरले साधुवाद दिएको खबरले कराई–कराई त्यही भनिरहेको छ। धर्मका यी 'स्टकिस्ट' र 'रिटेलर' हरूको बैठकले दिल्लीमा फाइनल गरेको चारबुँदे रोडम्यापमा यताबाट विमतिको जुर्रत नहुने कारणले पनि यसपालिलाई भगवानले दैलो उघार्नेमा आश्वस्त हुम्।

comments powered by Disqus

रमझम