२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

महाकुलुङको सपना

Share:
  
- मिलन बगाले
विमानस्थल बने पनि जहाज नचलेको उदाहरणमा महाकुलुङ नथपियोस्।

मिलन बगाले
१२ वैशाखपछिको तारन्तारको भुईंचालोबाट थाहा भयो, शहरी समाज आपत्विपत् थेग्ने सवालमा असाध्यै कमजोर हुनेरहेछ। भुईंचालोपछि घरबाट चौरमा निस्केका अधिकांश शहरवासीसँग न त्रिपाल थियो न घोचाघारा नै। भूकम्पपछि भारतीय नाकाबन्दी आइलाग्दा हामी शहरीसँग न साइकल थियो न चूलो बाल्न दाउरा। विकासको स्थायी नाकाबन्दी भोगिरहेका दूरदराजका गाउँबस्तीलाई भने यस्ता बन्द वा नाकाबन्दीले केही फरक नपार्दो रहेछ।

भारतीय नाकाबन्दी कसिंदै गएको वेला कात्तिक तेस्रो साता आर्किटेक्ट साथी सम्पूर्ण महर्जन र म हिमाली क्षेत्रको निर्माण शैली―संस्कृति, बसोबास पद्धति र भूकम्पको क्षतिबारे अध्ययन गर्न सडक, आकाश कतैबाट पनि जोडिने मौका नपाएको सोलुखुम्बूको गुदेल गाविस पुगेका थियौं। फाप्लुबाट तीन दिन कठोर पैदल यात्रा गर्दा हामीले अनकन्टारका नेपालीको कष्टबारे राम्रै भेउ पायौं।

बिरामीलाई स्ट्रेचरमा राखेर सदरमुकाम पुर्‍याउन समेत नमिल्ने बाटो, हेलिकप्टर चार्टर गरेर काठमाडौं लैजाँदा बेहोर्नुपर्ने आर्थिक भार, समयमै उपचार नपाएर ज्यान गुमाउनु पर्दाको पीडा, सरकारी काम पर्दा सदरमुकाम आउजाउ गर्दाको हैरानी, तीन–चार घण्टा टाढाका स्कूल, खच्चर र मान्छेको पिठ्यूँ चढेर गाउँ पुगेका सरसामानको भाउले यताको जनजीवनलाई ज्यादै कष्टकर बनाएको छ।

सदरमुकाम सल्लेरीबाट हिंड्दा एक दिनमा पुगिने रोक्तीसम्म सडकको ट्रयाक खुलेको रहेछ, तर मोटर चढेर गुदेल पुग्ने कल्पना गर्न सकिने वेला भइसकेको छैन, अझ्ै। स्थानीय निकायमा पुग्ने सानो बजेटले डरलाग्दा भीरपहरा फोर्न सक्दैन। यस्ता कुनाकन्दरामा राष्ट्रिय योजना पुग्ने चलन शुरू भएकै छैन। गुदेल गाविसको १, २, ३ ४ र ५ नम्बर वडा छुने महाकुलुङ विमानस्थलको प्रस्तावले चाहिं यताको हैरानी घटाउने बलियो सम्भावना देखाएको रहेछ। काम सकेर फर्कने वेलामा हामी दुखेका खुट्टा लतार्दै विमानस्थल निर्माण समन्वय समितिका अध्यक्ष सिङ्गराम राईसँग प्रस्तावित निर्माणस्थलमा उक्लियौं।

उनले विमानस्थल बनाउन प्रस्ताव गरिएको डाँडो घुमाउँदै हामीलाई 'महाकुलुङ सपना' सुनाए। आठ वर्षअघि रोपिएको यो सपना फुलाउन गाउँलेहरूले निःशुल्क जग्गा दिएका रहेछन्। यो परियोजना अगाडि बढ्दा कतिपय परिवारको त उठिवासै हुने रहेछ। तीनैमध्येका एक लालमान राईलाई भेट्न जाँदा उनको घरमा ताला झुन्डिएको थियो। गाउँको गरामा जहाज उतार्न थातथलो माया मार्नुपर्ने परिवार बारेको हाम्रो जिज्ञासामा अध्यक्ष सिङ्गराम राई ढुक्कैसँग बोले, “कसैले गाउँ छाड्ने छैनन्, सबैको लागि गाउँमै जमीनको व्यवस्था मिलाउँदैछौं।”

यो सपनामा गाउँलेले माननीय बलबहादुर केसीको ठूलो भरोसा गरेका रहेछन्। आफ्ना प्रतिनिधिप्रति स्थानीय जनताको भरोसा सुनेर हामीलाई खुशी लाग्यो। नभन्दै, नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले विमानस्थलको सर्भे र डिजाइनको काम सिध्याइसकेका रहेछन्। अब हेलिकप्टरले डोरीमा झुन्ड्याएर बुल्डोजर ल्याउन र त्यसले डाँडा सम्याउन बाँकी रहेछ। गुदेलमा विमानस्थल बनेर जहाज आउजाउ हुन थालेपछि वरिपरिका सोताङ, बुङ, पावै, वाकु मात्रै हैन, खोटाङ र संखुवासभा जिल्लाका पनि केही गाविसका जनताले सुविधा पाउने छन्।

महाकुलुङ विमानस्थल बने पनि यस भेगका जनताको सदरमुकाम आउजाउ कष्ट चाहिं यथावत् नै रहनेछ। गुदेलबाट फाप्लु उड्ने लोकल जहाज थुप्रै दशक नउड्ने भएकोले गोरेटो–घोरेटोहरूको स्तरोन्नति अत्यावश्क छ। यसमा सरकारले छिटो काम गर्नुपर्छ। डाँडामा विमानस्थल बनाएर कष्टको पहाड होच्याउने सपना पालेका गुदेल सेरोफेरोका स्थानीयको सुरलाई ताल दिन बढी हतार चाहिं नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्ने देखियो। विमानस्थल बने पनि जहाज नउडेको उदाहरणमा महाकुलुङ नथपियोस्। महाकुलुङको दुःख दूर गर्न सार्थक पहल गर्नेको जय होस्।

comments powered by Disqus

रमझम