बा १ ख ६३१५ नम्बरको मालबाहक ट्रक लिएर काठमाडौंबाट रसुवागढीहुँदै केरुङ हिंडेका कपिल सुवालले चीन प्रवेश नै पाएनन्। नेपाल चीन व्यापार संघका अध्यक्ष कुमार कार्कीसहितको टोलीले १८ मंसीरमा केरुङ प्रवेश गर्न समेत ठूलै सकस व्यहोर्नु पर्यो।
रसुवागढीस्थित चिनियाँ अध्यागमन अधिकारीले रसुवावासीबाहेक अन्यलाई प्रवेश अनुमति नै नदिएका कारण समस्या भएको हो। कात्तिक तेस्रो साता रसुवाकै अर्का चालकको भरमा केरुङ पुगेको सुवालको गाडी २० दिनपछि बल्लतल्ल फर्कियो। “ठाउँठाउँमा गाडी बिग्रिएकाले बनाउनै रु.७० हजार खर्च भयो”, सुवाल भन्छन्।
रसुवागढी नाकाबाट पारि केरुङ पुग्न चीनले दुई लेनको कालोपत्रे सडक बनाएको छ। वारि भने गत वैशाखको महाभूकम्पले पहिरो गएपछि अवरुद्ध सडक मर्मतकै क्रममा छ। रसुवागढी नाका नजिकैका भग्नावशेष भर्खर हटाइँदैछ। नेपालतर्फको सडक जोखिमले भरिएको छ। जसोतसो गुडिरहेका गाडी पनि साँघुरो र बिग्रिएको बाटोका कारण घन्टौं जाममा फस्ने गरेका छन्।
सीमाका दुवैतर्फका अधिकारीसँग पटक–पटकको अनुनयपछि मात्र केरुङ जाने अनुमति पाएका कार्की तातोपानी नाका बन्द हुँदा रु.५ अर्बको सामान सीमापारि नै अलपत्र परेको बताउँछन्। तातोपानी नाकामा व्यापारीका लागि जारी 'वान डे पास' ले रसुवागढीमा काम नगरेको बताउँदै उनी भन्छन्, “व्यापारी र ट्रक चालकले नै प्रवेश नपाउँदा हामी आहत भएका छौं।” नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रमेश बराल रसुवागढी नाकाको समस्या सुल्झाउन सरकारले तत्काल कूटनीतिक पहल थाल्नुपर्ने बताउँछन्।
हल्लैहल्ला
नाकाबन्दीपछि रसुवागढीबाट काठमाडौंमा इन्धनलगायतका सामान आउने चर्चा अहिले पनि चलिरहेकै छ। तर, नाकाको अवस्था भने ठ्याक्कै उल्टो छ। रसुवागढीबाट केरुङ पुग्ने कठिनाइ त छँदैछ, केरुङ आइसकेका सामान गन्तव्यसम्म पुर्याउन पनि उत्तिकै झ्न्झ्ट छ।
चीनको व्यापारिक केन्द्र ग्वाङ्झाउबाट नेपाल निर्यात गरिएका करीब ४०० ट्रक सामान रसुवागढीबाट २७ किलोमीटर टाढा केरुङमा थुप्रिएका छन्। त्यतिकै संख्यामा मालबाहक ट्रक टिमुरे, रसुवागढी र केरुङसम्म पुगेका छन् तर प्रवेश पास, अध्यागमन, भन्सार आदिको समस्याले यो क्षेत्र अस्तव्यस्त देखिन्छ।
चिनियाँ प्रशासनले बाटोमा पहिरोको खतरा रहेको भन्दै आवतजावत बन्द गरेको बताउने गरेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापा नाका खोल्न चिनियाँ अधिकारी तत्काल लचिलो हुने सम्भावना नदेखिएको र नेपाल पक्षको अनुरोधलाई चिनियाँ पक्षले नमानेको बताउँछन्। “अब पहल गर्ने पालो सरकारको हो”, उनी भन्छन्। जिल्लाका प्रहरी नायब उपरीक्षक अवधेश विष्ट पनि रसुवागढी नाका क्षेत्र अस्तव्यस्त बन्दा आपराधिक गतिविधि बढ्न सक्ने बताउँछन्। केरुङसम्म व्यापारीहरू पुग्न नपाउँदा सामान हराएको, चोरिएको गुनासो आउन थालेको उनले बताए।
नेपाल सामान आउने ढुवानीको ५० प्रतिशत हिस्सा ओगट्ने ग्वाङ्झाउस्थित मुसा ट्रान्सपोर्टका सञ्चालक झाङ सी पीङ केरुङसम्म सामान आए पनि नेपाली व्यापारी आउन नपाएका कारण गाह्रो परेको बताउँछन्। उनकै भनाइमा पनि व्यापारीले तातोपानी नाका जत्तिको सहज वातावरण रसुवागढी नाकाबाट पाएका छैनन्।
नाकाबन्दीका कारण तातोपानी, भारतको कोलकाता बन्दरगाहमा सामान थन्किएको तर रसुवागढी नाका खुला भएको जानकारी सञ्चारमाध्यमले दिएपछि व्यापारीले केरुङमा सामान झ्िकाएका थिए। नाकाको अवस्था बुझन केरुङ आएका काठमाडौंका व्यापारी श्याम रुँगटा भन्छन्, “सञ्चारमाध्यमको पछि लागेर हौसिएका हामी अहिले धेरै दुःख पाइरहेका छौं।”
रसुवाको नागरिकता भएका चालकलाई मात्र केरुङ पस्न दिने भनेपछि यतिवेला जिल्लाका करीब ३५ जना चालकलाई भ्याई नभ्याई छ। रसुवा प्रहरीले ट्रक चलाउन आएका एक चालकबाट नक्कली सवारी चालक अनुमति पत्र समेत बरामद गरेको छ। चालकहरूले एउटा खाली ट्रक केरुङ पुर्याएको र ल्याएबापत रु.१० हजारदेखि रु.२० हजारसम्म कमाइरहेका छन्। यसरी दैनिक सरदर २५ वटा ट्रक नेपाल भित्रिन्छन्। नेपाल आइसकेपछि टिमुरेमा हुने भन्सार प्रक्रिया झ्नै झ्न्झ्टिलो छ। काठमाडौंसम्म आइपुग्दा सोही ट्रक १५ ठाउँ जाँचमा पर्छ। “पाँच घन्टामा पुगिने १५३ किमी सडक पार गर्न १० घन्टा भन्दा बढी लाग्छ”, एक चालक भन्छन्। हुन पनि भन्सार कार्यालयसँगैको टिमुरेमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टाछुट्टै जाँच गर्छन्। यिनै निकायले अन्य तीन/चार ठाउँमा पुनः जाँच गर्छन्।
अध्यागमन, भन्सार, सुरक्षा जाँचको अस्तव्यस्तता बाहेक स्थानीय ट्रक सिन्डिकेट र प्रति ट्रक रु.१ हजारदेखि रु.५ हजारसम्म लिने अनधिकृत समूह पनि देखिएको छ। प्रनाउ विष्ट रसिद नै काटेर रकम उठाएको पाएपछि कडाइ गरिएको बताउँछन्। तातोपानी नाका बन्द भएपछि उताका ट्रक व्यवसायी, सामान छुटाउने एजेन्टदेखि राजमार्गमा पैसा उठाउने 'दादा' हरू समेत रसुवागढीमा भेटिन्छन्।
टिमुरेमा सुक्खा बन्दरगाह
रसुवागढी नाका अवरोधबीच टिमुरेमा तीन महीनापछि सुक्खा बन्दरगाह निर्माण शुरू हुने भएको छ। पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको डिजाइन तयार भइसकेको छ। नमूनालाई अन्तिम रूप दिएलगत्तै निर्माण शुरू हुने वाणिज्य मन्त्रालयले जनाएको छ। अहिलेको नमूना अनुसार बन्दरगाहमा पाँचतले प्रशासनिक तथा आवास भवन, करीब ३५० वटा ट्रक पार्किङ स्थल, गोदाम, मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य संरचना रहने छन्।