२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

हिंसालाई 'ब्लक'

Share:
  
प्रविधिसँगै महिला हिंसाका नयाँ–नयाँ रुप सामुन्ने आएका छन्।

कञ्चनपुर, वेतकोट नपा–९ चथरीकी देउसरा जोशी।
'साँच्चिकै सावित्री हो कि नाम मात्रै हो?' महेन्द्रनगरमा स्नातक दोस्रो वर्षमा अध्ययनरत सावित्री चन्द (२१) लाई एक पुरुष साथीले फेसबुकमा यस्तो प्रश्न सोधे। जवाफमा उनले केही भनिनन्। तत्काल साथीको 'प्रोफाइल' मा गइन् र 'ब्लक' गरिन्। उनी भन्छिन्, “चियापसलमा बसेर बाटो हिंड्ने केटी जिस्क्याए जस्तो सोचेका होलान्, फेसबुकमा त्यस्तो चल्दैन। किन सहने? ब्लक ठोकिदिएँ।”

११ कक्षाकी निर्मला जोशी (१९) लाई कलेजकै साथीले फेसबुकको इनबक्समा हिन्दी चलचित्र 'पीके' मा नायक आमिर खानले रेडियो बोकेको जस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको फोटो पठाए। उनले जवाफमा 'म त हाँसेरै मर्ने भएँ' लेखिन्। तर, अर्को दिन तिनै साथीले नाङ्गो फोटो पठाए। “थप्पड लगाऊँ जस्तो लागेको थियो, 'ब्लक' हान्दिएँ”, उनी सुनाउँछिन्।

सावित्री र निर्मला जस्तो हिंसा र विभेद गर्नेलाई सोझै 'ब्लक' गर्ने सुविधा पाएको भए काँडा–५, बझाङकी मानमती बोहरा (४१) ले यतिविघ्न दुःख सहनुपर्ने थिएन। १४ वर्षकै उमेरमा विवाह गरेकी उनले शुरूका पाँच वर्षसम्म त सन्तान जन्मिएनन् भनेर कुटाइ खाइरहिन्। पाँच वर्षपछि छोरी जन्मिन्। “त्यसपछि छोरी जन्माई भनेर कुटाइ शुरू भयो”, उनी भन्छिन्। खानेकुरा पनि छिमेकीले खुवाए। श्रीमान् र परिवारको छोरा मोहमा उनले सात सन्तान जन्माइन्। सातौं भने छोरो जन्मियो। “अहिले तीन जना मात्रै बाँचेका छन्” उनी भन्छिन्। अहिले मानमती आफू जता गए पनि छोरालाई सँगै लिएर जान्छिन्। उनी भन्छिन्, “यो छोरालाई केही भइहाल्यो भने मैले पनि सँगै मरे हुन्छ।”

बच्चु विक
बझाङ, काँडा–५ की मानमती बोहरा।
कञ्चनपुरको वेतकोट नगरपालिका–९, चथरीकी देउसरा जोशी (६२) ले विवाह गरेदेखि सुखको छायाँसम्म देख्न पाइनन्। “पुर्ख्यौली घर बाजुरा छँदा परिवारको कुरा सुनेर कुट्थ्यो, कञ्चनपुर आएपछि रक्सी पिएर कुट्न थाल्यो” उनी भन्छिन्। देउसरा भन्छिन्, “मर्ने वेला भयो, तर अहिले पनि अनेक वहानामा कुट्न छाडेका छैनन्। कहिल्यै सुख पाइनँ।”

समाजको चेतनास्तर बढिरहेको तथ्य एकातिर भए पनि महिलामाथिको हिंसामा कमी आएको छैन। बरु, समयसँगै यसले आफ्नो रूप परिवर्तन गरिरहेको छ। अधिकारकर्मी भगवती थापा भन्छिन्, “हिजो परिवार र समाजमा सीमित हिंसा अनेक स्वरुपमा सामाजिक सञ्जालसम्म आइपुगेको छ।” छोरा नजन्माएको आरोप, बोक्सी, छाउपडी, कम्लहरी, यौन दुर्व्यवहार, बलात्कार, बेचबिखन घटनामा महिलाका पीडा सुनिन छाडेका छैनन्। अधिकारकर्मी एवं अधिवक्ता पुनम चन्द सामाजिक सञ्जालमा हुने यौनजन्य दुर्व्यवहार, मानसिक यातना तथा फ्लर्ट पनि महिला हिंसा नै भएको बताउँछिन्। “साइबर क्राइम भनिए पनि ती महिला हिंसाकै रूप हुन्”, चन्द भन्छिन्।

महिला हिंसा विरुद्धका थुप्रै कानून त बनेका छन्। गाविस, नगरपालिका, जिविसदेखि प्रहरी, राष्ट्रिय महिला आयोग र अदालतमा समेत उजुरी गर्न सकिने व्यवस्था छ। घरेलु हिंसामा रु.३ हजारदेखि रु.२५ हजारसम्म जरिवाना, ६ महीना कैद वा दुवै सजायको व्यवस्था छ। बलात्कार र बेचबिखनमा जन्मकैदसम्मको प्रावधान छ। बलियो कानून बने पनि कार्यान्वयन सजिलो छैन। अधिवक्ता चन्द महिलामाथि हुने सबै प्रकारका हिंसा समेट्ने एउटै कानून नहुँदा समस्या परिरहेको बताउँछिन्। “एउटा कानून अनुसार जानुपर्ने मुद्दा अर्को कानूनमा टेक्ने गरेकोले फितलो हुने गरेको छ”, उनी भन्छिन्।

बच्चु विक, महेन्द्रनगर


ठकुरानी संघर्ष

वि.सं. २०१५ मा प्रधानमन्त्री बीपी कोइरालाबाट मन्त्रीको शपथ लिंदै द्वारिकादेवी ठकुरानी।
सुदूरपश्चिमकी द्वारिकादेवी ठकुरानी, जसले महिला हिंसा विरुद्ध २००७ सालतिरै आवाज उठाएकी थिइन्। अन्तरजातीय विवाह गरेकी मुलुककै प्रथम महिला मन्त्री ठकुरानीले विभेद विरुद्ध उत्रन महिलाहरूलाई संगठित समेत गरेकी थिइन्। ठकुरानीले महिलालाई राइफल चलाउन तालीम पनि दिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका समाजशास्त्र एवं राजनीतिशास्त्रका उपप्राध्यापक डा. मुकुन्द कलौनी बताउँछन्।

२०१५ सालको पहिलो आमनिर्वाचनमा बैतडीबाट उठेकी ठकुरानीलाई हराउन विपक्षीले 'पेटीकोटलाई भोट नदेऊ' भन्ने जस्ता नारा समेत लगाएका थिए। “राष्ट्रपति निर्वाचन अघि विद्या भण्डारीका विपक्षमा सामाजिक सञ्जालमा देखिएका कतिपय प्रतिक्रिया ठकुरानीकालको मनोविज्ञानसँग मिल्छन्”, कलौनी भन्छन्, ''पढ्यौं, लेख्यौं। तर, पुरुष मानसिकता परिवर्तन भएन।''

comments powered by Disqus

रमझम