'दादा' को शरणमा व्यापारी

Share:
  
- गोपाल गडतौला, झापा
सीमा क्षेत्रका भारतीय तस्कर, प्रहरी र भन्सार अधिकारीको मिलेमतोमा नेपाली व्यापारी ठगिइरहेका छन्।

गोपाल गडतौला
नेपाल पस्न पानीट्यांकीमा भन्सार जाँच कुरिरहेका कन्टेनर।
खाडी मुलुकबाट आएको एक कन्टेनर प्लास्टिकको कच्चा पदार्थ कात्तिक पहिलो साता भारतको कोलकाता बन्दरगाहहुँदै नक्सलबारीसम्म आइपुग्यो। तर, ६ असोजदेखिको भारतीय नाकाबन्दीका कारण कन्टेनर नेपाल पस्न सकेन। एक महीनासम्म कन्टेनर सीमामै थन्कियो।

मंसीरको पहिलो साता कन्टेनर धनी मेचीनगर–१० काँकडभिट्टाका मोहन निरौलालाई फोन आयो। आफूलाई नक्सलबारीका 'दादा' बताउने उनीहरूले भनेजति पैसा दिएमा कन्टेनर पानीट्यांकी भन्सारसम्म जान दिने बताए। “दादाहरूलाई भारु २५ हजार पठाएको छु”, निरौला भन्छन्।

मेची भन्सार एजेन्ट संघ काँकडभिट्टाका अध्यक्ष समेत रहेका निरौलाले नाकाबन्दीयताका दुई महीनामा सात वटा ट्यांकर भित्र्याउन नक्सलबारी―पानीट्यांकीका 'दादा' हरूलाई पटकपटक गरी भारु २ लाख ५० हजार बुझाइसकेका छन्। उनी भन्छन्, “पानीट्यांकीको भन्सार र सीमा प्रहरीलाई तिनै 'दादा' हरूले मिलाउँछन्।” कात्तिक दोस्रो साता काठमाडौंका एक व्यापारीले थाइल्याण्डबाट मगाएको एक कन्टेनर ट्वाइलेट पेपर भारु ५० हजार खुवाएर मात्र भन्सार पास गराएको निरौला बताउँछन्।

६ असोज अपराह्न अघिसम्म निर्वाध रूपमा पानीट्यांकी नाकाबाट नेपाल भित्रिरहेका कन्टेनर यतिवेला भारतीय भन्सार र प्रहरीको मिलेमतोमा कमाउने धन्दा बनिरहेको छ। 'दादा' हरू कन्टेनरको आकारका आधारमा व्यापारीसँग भारु १५ हजारदेखि भारु ५० हजारसम्म असुलिरहेका छन्। “लूटको शैलीमा पैसा बुझाएर सामान ल्याउनु परिरहेको छ”, काँकडभिट्टाका व्यापारी रोशन अग्रवाल भन्छन्। अग्रवालले पनि कात्तिकको अन्तिम साता पैसा खुवाएरै हार्डवेयरको एक ट्रक सामान भित्र्याएका थिए।

रोशन अग्रवाल

सुरेन्द्र अग्रवाल

वीरगञ्ज भन्सारहुँदै खेलौना र उपहार सामग्री आयात गर्ने सुरेन्द्र अग्रवालले ट्यांकरको बाटो परिवर्तन गर्दै कात्तिक अन्तिम साता पानीट्यांकी नाकाबाटै सामान हात पारे। तर, यसो गर्न उनले भन्सार कर्मचारीले तोकेको व्यक्तिलाई भारु २५ हजार बुझाएका थिए। उनी भन्छन्, “धेरै व्यापारी यसरी नै सामान ल्याइरहेका छौं।”

सम्झौता विपरीत

१८ कात्तिकमा बाङ्लादेशको व्यापारिक नाका फूलबारीस्थित भारतीय भन्सार अड्डाका सुपरीवेक्षक सि मिञ्जले दाजीर्लिङ जिल्लाको खोरीबारी प्रहरीलाई नक्सलबारी―पानीट्यांकी खण्डमा रोकिएका आठ वटा नेपाली मालबाहक ट्रक 'स्कर्टिङ' गर्न नसकिने पत्र लेखे। (हे. पत्र) पत्रलाई नक्सलबारी, खोरीबारी र सीमाको पानीट्यांकी भन्सार कार्यालयले तत्काल अनुमोदन गरे। जबकि सन् १९९७ मा तात्कालीन वाणिज्य सचिव मोहनदेव पन्त र भारतीय राजदूत केभी राजनबीच काँकडभिट्टा―पानीट्यांकी―फूलबारी―बंगलाबन्ध पारवहन मार्गबाट नेपालतर्फ हुने आयात भारतले 'स्कर्ट' सुविधा दिने उल्लेख छ। “यो पत्रले नेपाल आयात गर्ने व्यापारीलाई ठूलो नोक्सान पुर्‍याएको छ”, भन्सार एजेन्ट संघ काँकडभिट्टाका अध्यक्ष निरौला भन्छन्, “भारतीय स्कर्ट सुविधा नपाउँदै नक्सलबारी आएका ती मालबाहकलाई भारतीय 'दादा' ले गाँज्छन् र पैसा नदिई चटपटाउन दिंदैनन्।”

पैसाको चलखेल बढेको भन्दै दार्जीलिङको डिस्ट्रिक मजिस्टे्रट र प्रहरी कार्यालयमै पुगी निरौलासहितको व्यापारी टोलीले गुनासो पनि गरेको थियो। तर, कुनै सुधार भएन। भारतीय भन्सार परिसरमा नेपाली आयातकर्ता ठगिएको बारे नेपाली भन्सार अधिकारीलाई पनि प्रष्ट जानकारी छ। तर, उनीहरू “सीमापारिको लेनदेन र कारोबारबारे केही गर्न नसक्ने बताउँछन्।

भारतीय सीमामा पैसा खुवाएर जसोतसो नेपाल भित्र्याएको सामान काठमाडौंलगायतका स्थानमा ढुवानी गर्न पनि उत्तिकै चर्को छ। ढुवानी व्यवसायीले नाकाबन्दीको आडमा भाडा दुई गुणा बनाएका छन्। दुई महीना अघिसम्म एक ट्रक सामान राजधानी पुर्‍याएबापत रु.४० हजार लिने व्यवसायीले अहिले रु.८० हजार असुलिरहेका छन्। दश चक्के ढुवानीले झ्ापा―काठमाडौं गर्न रु.१ लाख र १२ चक्केले रु.१ लाख १० हजारसम्म लिने गरेको झ्ापास्थित लक्ष्मी रोडवेजका प्रबन्धक श्याम प्रसाई बताउँछन्। उनी भन्छन्, “पेट्रोल र डिजलको भाउ नै दोब्बर हालेर किन्नुपरेपछि भाडा नबढाउनुको विकल्प पनि छैन।”


'कालोबजारी रोक्ने आदेश छैन'

पेट्रोल व्यापारी बनेकी जुली साह।
गौरीगञ्ज, झापामा १९ वर्षदेखि पान बेचिरहेकी जुली साह (३४) अढाइ महीनायता पेट्रोल र डिजल बेचिरहेकी छन्। उनको पसलमा पेट्रोल र डिजल भरिएका बोतल र ड्रम देखिन्छ। उनी भन्छिन्, “दैनिक सरदर एकहजार लीटर तेल बिकिरहेको छ।”

सदरमुकाम चन्द्रगढीबाट करीब ८० किलोमीटर पश्चिम दक्षिणमा पर्ने गौरीगञ्जमा झापा र मोरङका सवारी इन्धन भर्न आउँछन्। पान, चिया, कपडा र भेटेरिनरी पसलसम्मले प्रतिलीटर रु.२०० सम्ममा खुल्लमखुला पेट्रोल बेचिरहेका छन्। गौरीगञ्जबाट दश किलोमीटर दक्षिण भारतको बेरियाबाट तस्करहरूले मोटरसाइकल, ड्रम र ग्यालेनमा इन्धन ल्याउँदै गौरीगञ्जमा बेच्ने गरेका छन्।

गौरीगञ्ज बजारमै होटल सञ्चालन गरिरहेका जगदीशप्रसाद हलुवाई (४८) होटल र पेट्रोल पसल दुवै सञ्चालन गरिरहेका छन्। दैनिक ७०० लीटरको हाराहारीमा पेट्रोल र ५०० लीटर डिजल बेचिरहेका उनी भन्छन्, “सजिलै आउँछ, हाताहाती बिक्छ।”

दुई साताअघि झापाको केचनामा भारतीय सुरक्षा बलका १३ जवानलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछिको केही दिन भने नाकामा कडाइ गरिएको थियो। तर, अहिले उस्तै छ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्री रातो–दिनको कालोबजारी देखिरहेकै छन्। तस्करहरूबाट भए पनि गाउँलेको गर्जा टरिरहेको ठान्ने उनी भन्छन्, “रोक्नू भन्ने आदेश छैन।”

comments powered by Disqus

रमझम