यो 'इल्लिगल' हो

Share:
  
- केदार शर्मा
पोहोरसाल एउटा भारतीय बिजुलीमिस्त्रीले मेरा मनमा लगाइदिएको करेन्टले यस पटक मंसीरको बिहे भोजहरूमा सहभागी हुँदा फेरि केही झट्का दियो।

भानु भट्टराई
हिजोआज म भरेका सारी र लेहेंगाहरूको चमकदमक देख्दा रामप्रित सिंहलाई सम्झिन्छु र अनायासै मेरो कल्पनामा आउँछन्, ती महँगा लुगामा जरी भर्दै गरेका मसिना र असहाय औंलाहरू। कलम समाउने उमेरमा सियो बोकेर आफूले विताएका दिनहरूको बयान सुनाएपछि उनले भनेका थिए, “यो सब स–साना बच्चाहरूको खून–पसिनाको चमक हो।”

रामप्रितसित मेरो भेट झ्ापा, बिर्तामोडको एउटा बिजुली पसलमा भएको थियो। दुवै जना ग्राहकका रूपमा उभिएका थियौं। त्यहाँ उनले मैले किन्न खोजेका 'अर्थिङ' का सामानका बारेमा व्यावहारिक सल्लाह दिए। कुरै कुरामा कुरा लम्बियो। उनले एउटा पार्टी प्यालेसको 'लाइट–वाइट' हेर्न केही दिनका लागि सिलिगुडीबाट आएको बताए। ती हँसिला युवकले आफ्नो पेशागत दक्षताको जानकारी दिने क्रममा 'बचपन बचाओ आन्दोलन' (बीबीए) ले काम सिकाएको, तीन वर्ष काठमाडौं बसेको र त्यहाँका केही नामी पार्टी प्यालेसहरूमा बत्ती जडान गरेको पनि बताए।

नोबल पुरस्कार विजेता कैलाश सत्यार्थीको संस्था बीबीएको नाम आएपछि मलाई ती युवकप्रति चाख बढ्यो। फुर्सदै भएको थाहा पाएर मैले चिया खाने प्रस्ताव राखें। हामी नजिकको पसलमा छिर्‍यौं। बाह्र–तेह्र वर्षको बालकले चिया ल्याएको देखेपछि जुरुक्क उठेर काउन्टरमा गएका रामप्रितले हिन्दी मिसिएको नेपालीमा पसलेलाई भने, “तपाईंलाई चाइल्डलेबर राख्नुहुँदैन भन्ने मालुम छैन? म पुलिसमे 'एफआईआर' दर्ज गरिदिऊँ?”

पसलेले केही नभन्दै उनले थपे, “हामी यो चिया पिउँदैन। यसको पैसा भी तिर्दैन!”

त्यस्तैउस्तैलाई ठाडै हप्काएर पठाउने झापाली हलुवाई आश्चर्यजनक रूपमा विनम्र देखिए। “घरबाट भागेको रहेछ, काम माग्यो”, उनले भने, “मैले काम दिएर राखेको हो।”

रामप्रित चूप लागेनन्, “यो 'इल्लिगल' हो। तपाईंलाई जेलको हावा खिलाइदिन्छ। माफ गर्नुस्, हामी यो चिया पिउँदैन।”

म आफैं अर्को चिया बनाउँछु भन्दै गरेका साहूलाई रामप्रितले भने, “म चाइल्डराइटमा काम गर्ने मान्छे हो। उहाँ सर सरकारी अफसर हो। चाइल्डलेबर भएको ठाउँमा हामीले खानपिन गर्न मिल्दैन। चिया तपाईंले बनाए पनि वर्तन साफ गर्ने उसले हो। अरू काम गर्ने त उसले हो!”

म 'सरकारी अफसर!' आफूलाई मानवअधिकारमा सचेत भनी टोपल्ने लेखक भएर पनि एउटा बालकले चिया ल्याएको विषयलाई त्यसरी हेर्न जानेको थिइनँ। त्यसपछि त रामप्रितसित कुरा गर्ने लोभ अझ् बढ्यो। अनि हामी अलिकति गतिलो रेस्टुरेन्टमा छिर्‍यौं। त्यहाँ एक नवयुवकले टेबुलमा पानी र मेनु राखे। “यो ठीक छ नि!” सोध्ने वित्तिकै रामप्रितले कुरा शुरू गरे, “तपाईंलाई अनौठो लाग्यो होला, तर तीन वर्षसम्म बँधुवा बाल मजदूर हुनुको पीडा मैले भोगेको छु।”

आफूलाई 'छोरा गङ्गा किनारे वाला' भन्न रुचाउने रामप्रित पटनाबाट १० किलोमीटर टाढा गुल्जारबागमा जन्मे। उनी आमा खसेको अलिअलि मात्र सम्झ्िन्छन्। त्यसपछि दिदी मामाघरमा लगिइन्। उनका बाबु साइकल चढेर पटना जान्थे काम गर्न। हजुरआमा कागजका थुँगा बनाउँथिन्, तर प्लास्टिकका थैलोले त्यसको माग घटायो। नजिकको पाठशालामा अक्षर चिन्ने र बिहान बेलुका दादीलाई सघाउने काम सकेपछि रामप्रितलाई साथीहरूसित गङ्गा किनारमा अर्धनग्न बरालिन फुर्सद हुन्थ्यो।

“गरीबको घरमा परिवारको सदस्यलाई बाँधेर राख्ने बलियो 'फेबिकोल' हुँदैन, त्यसैले म पनि अलि आवारा भएँ”, उनले बँधुवा मजदूरका रूपमा आफू फँस्ने पृष्ठभूमि बताउँदै भने, “साला दलालहरू त्यस्तै केटाहरूको फिराकमा हुन्छ।”

गङ्गा किनारमा दोस्ती भएको करीब ३० वर्षको बाबुलालले उनलाई दिल्ली जान उक्सायो। उनले दुई पैसा कमाएर बाबुजी र दादीलाई मद्दत गर्नकै लागि घर छाडे। उनलाई बाबुलालले दिल्ली भनेर पुर्‍याएको ठाउँ शहर थिएन, पर्खालले घेरिएको तीन वटा लामा लामा टहराको 'फ्याक्ट्री' थियो। गुल्जारबागको उनको घरमा रेलको आवाज नजिकै सुनिन्थ्यो, नयाँ ठाउँमा रेल कराएको निकै टाढा सुनिन्थ्यो। पर नाङ्गा डाँडाहरू देखिन्थे, अरू उनलाई कहिल्यै केही थाहा भएन।

काम थियो साडीमा जरी भर्ने। खटियामा तन्काएर बाँधिएका साडीहरूमा ३२ जोडी मसिना हातले अनेक थरी डिजाइनमा काम गर्थे। चिया, चना र 'दो पिस ब्रेड' खाएर बिहान सात बजे शुरू भएको काम ११ बजे चिया खान र पिसाब फेर्न १५ मिनेट रोकिन्थ्यो। दिउँसो १ बजे खाना खाएपछि पाइने एक घन्टाको 'सुत्ने छुट्टी' मा उनीहरू बिहानदेखि कक्रिएका खुट्टा तन्काएर पल्टिन पाउँथे। दुई बजेदेखि आठ बजेसम्म काम गरेर खाना खाएपछि हलको छेउमा भएको ठूलो टीभीमा फिलिम लाग्थ्यो। रामप्रितले भने, “सैकडौं फिल्म देखायो तर मैले एउटा पनि पूरा हेर्न सकिनँ, निधाइहाल्थें।”

उनलाई त्यहाँ पुर्‍याएको दुई महीना जतिमा त्यहाँबाट भाग्न खोजेका दुई जना केटालाई सबैले देख्ने गरी पिटेर रगतपच्छे पारियो। त्यसपछि कसैले त्यो हिम्मत गरेन। “बिहानको नास्ता पछि धीत मर्ने गरी पानी खान पनि दिदैनथे। पिसाब फेर्ने टाइम बाहेक अरू वेला उठ्यो भने कामचोर भनेर पटकै पिच्छे एक बेत हानिन्थ्यो”, रामप्रितले भने, “बसेर गर्ने काम छ, तीन छाक खाना र दुई–दुई पटक चिया दिएको छु। बेलुका डेली फिलिम देखाएको छु भन्दै ठेकेदार सधैं ताना मारिरहन्थ्यो।”

कोही बिरामी भयो वा हात ढिलो चलायो भने ऊ 'अर्को फ्याक्ट्री' मा पठाइदिने धम्की दिन्थ्यो। 'अर्को फ्याक्ट्री' भनेपछि सबैको मनमा योभन्दा पनि अप्ठ्यारो भन्ने पारेको थियो। एक दुई जनालाई 'अर्को फ्याक्ट्री' मा पठायो पनि, तर त्यो थियो कि थिएन, थियो भने कहाँ थियो, कस्तो थियो कसैले थाहा पाएनन्।

करीब तीन वर्षपछि पुलिसले उनीहरूको उद्धार गर्‍यो। त्यो 'रेस्क्यू अपरेशन' 'बचपन बचाओ आन्दोलन' को अग्रसरतामा भएको थियो। रामप्रितले सगर्व भने, “कैलाश सत्यार्थीको नाम त सुन्नुभएको छ नि! हो उहाँकै संस्था। बीबीएको तालीम पाएर मैले पनि बन्डेड लेबरबारे धेरै कुरा बुझें।”

कुनै फिलिमको स्टोरीभन्दा कम छैन उनको कहानी। तीन वर्षमा घर आउँदा उनले कसैलाई भेटेनन्। दादीको मौत भइसकेको र बाबुजी पटनामा बस्न थालेको छिमेकीहरूले बताए। “बाबुजीलाई अझै भेटेको छैन”, उनले मार्मिक ठट्टा गर्न भ्याए, “तर भेट्छु, हिरोले लास्ट सिनमा भेट्छ सब बिछुडेको मान्छेलाई!”

मैले चाखले कुरा सुनेपछि रामप्रित उत्साही भए। उनी धाराप्रवाह बोल्न थाले, “केटाकेटीले काम गर्नुहुँदैन भनेर कसले भनेको छ र? नराम्रो काम भने लगाउनुहुँदैन। उसको भविष्य दाउमा लगाएर काम लगाउनुहुँदैन, शोषण गर्नुहुँदैन। ठेकेदारले हामीलाई सधैं घरमा पैसा पठाइदिएको छु भन्यो, घरमा एक पैसा पठाएनछ। घरमा सम्पर्क हुन दिएन। त्यो सब शोषण हो। यो संसारमा पाप–धर्म भन्ने कुरा छैन, हामीले अधिकारबारे बोल्नुपर्छ।”

उनको आरोप थियो, “नेपालमा बन्डेड चाइल्ड लेबरको काम भएको छैन।”

“नेपालमा भारतमा जस्तो खराब स्थिति छैन”, मैले जानेको यथार्थ भनें।

“यो बाहिरबाट देखिने समस्या नै होइन सर”, उनले भने, “यो रोग हो, भित्रभित्र हुन्छ। तपाईं हामी सबै भएर निगरानी गर्नुपर्छ। नेपाल भारत भन्नुहुँदैन। जहाँको पनि बच्चा भगवान हो। जुनजुन सामानमा चाइल्डलेबर लागेको हुनसक्छ, त्यो किन्नै हुँदैन।”

रामप्रितले आफ्ना कुरा टुंग्याउँदै भने, “दिल दुख्नुपर्छ सर, दिल। अघिको चिया दुकानमा मेरो दिल दुख्यो। त्यहाँ आएर पुलिसले पनि सोधखोज गरिदियो भने त्यो बच्चा त्यहाँबाट निस्किन्छ। बच्चालाई काममा राख्नेले भन्छ, बिचरा निस्केर कहाँ जान्छ? एक दुई ठाउँमा हण्डर खाला, आखिरमा आफ्नै घर जान्छ। आफ्नो घरमा बसेको बच्चा गरीब हुनसक्छ तर मान्छे नै रहन्छ। बाहिर काममा गयो भने उसलाई मालिकले जनावर बनाउँछ।”

हामीमध्ये कतिलाई रामप्रितको कथा 'इन्डियन' लाग्न सक्छ, तर यो कुनै देशविशेषको समस्या होइन, मानवताको समस्या हो। म रामप्रितका कुरा सम्झिइरहन्छु, “जुनजुन सामानमा चाइल्डलेबर लागेको हुन सक्छ, त्यो किन्नै हुँदैन।”

म वर्षौंदेखि बालश्रमका बारेमा धेरै कुरा पढ्दै र सुन्दै आइरहेको छु तर ती सबैले भन्दा रामप्रितको बयानले मेरो मन छोयो। अनि लाग्यो, कतै हामी सन्देशमूलक विकास र मानवअधिकार सञ्चारका नियोजित सामग्री प्रस्तुत गरेर मान्छेलाई गम्भीर विषयवस्तुमा चाख राख्नबाट विमुख गराइरहेका त छैनौं?

धेरैलाई थाहा छ, बालबालिकाको शोषणमा परोक्षरूपले पनि सहभागी हुनुहुँदैन, तर स्कूल जाने अवसरबाट वञ्चित बालबालिकाले काम गर्दा हाम्रो अधिकारचेत सितिमिति जाग्दैन। हामीले 'निकृष्ट तथा जोखिमपूर्ण बालश्रम' का सैद्धान्तिक पक्षहरूका बारेमा जानेका हौंला, त्यस्तो बालश्रम के–केमा प्रयोग भइरहेको छ भनेर पनि हामीलाई थाहा होला, तर आफैंलाई सोध्नुपर्ने कुरा हो, के हामीले घर बनाउने ईंटा किन्दा 'बालश्रम मुक्त ईंटा' खोजेका छौं? हामीले जरी भरेका सारी किन्दा तिनको कारिगरीको स्रोतबारे कहिल्यै चासो राखेका छौं? हामीले बालबालिकाका हितमा आफ्नै तर्फबाट कुनै आवाज उठाएका छौं?

रामप्रितको बयानले मलाई करेन्ट लगाइदियो, मेरो बयानले तपाईंलाई कतै छोयो?

comments powered by Disqus

रमझम