२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

रेट्रोफिटिङको भर

Share:
  
संरचनागत त्रुटिबाट कमजोर घरलाई बलियो पार्ने प्रविधि हो, रेट्रोफिटिङ।

१२ वैशाखको महाभूकम्पपछि रेट्रोफिटिङ प्रविधिले एकाएक चर्चा पाएको छ। कतिपयले क्षतिग्रस्त घरमा रेट्रोफिटिङ गरिसकेका छन्। कतिपयले यही प्रविधि अनुसार घर बनाइरहेका छन्।

उप्किएका र चिरा पारेका ठाउँमा प्लास्टर गर्ने, टाल्ने गरेर पनि कतिपयले घर बलियो बनाएको तर्क गर्ने गरेका छन्। तर, यस्तो मर्मतले घर पहिले जस्तै देखिए पनि बलियो भने हुँदैन। कमजोर जग, गारो, बीम, पीलर जस्ता संरचना रेट्रोफिटिङ गरी घरलाई पहिलेभन्दा बलियो बनाउन सकिन्छ। थप भारवहन क्षमताका साथै सम्भावित भूकम्पको धक्का थेग्ने सक्ने बनाउन सकिन्छ।

रेट्रोफिटिङका अनेक विधि भए पनि नेपालमा प्रचलित विधि भनेको ज्याकेटिङ नै हो। तर, स्ट्रक्चरल इन्जिनियर प्रमोद न्यौपानेका अनुसार विस्तृत क्षति मूल्यांकन विना कुन विधिबाट कहाँ रेट्रोफिटिङ गर्ने भन्ने निष्कर्ष निकाल्न सकिन्न।

प्रमुख विधि

इपोक्सी रिपेयरिङः 'इन्जेक्सन हाल्ने' भनेर प्रचलित यस विधिमार्फत पीलर, बीम र भित्ताका मसिना चिरा टाल्न सकिन्छ। त्यस्ता चिरामा पम्पको माध्यमबाट विशेष प्रकारको ग्लू (इपोक्सी) हालिन्छ। तर, ठूला चिरामा भने यो विधिले काम गर्दैन।

फाइबर रिइन्फोर्स पोलिमर्सः यो विधि अन्तर्गत बीम, पीलर वा भित्ताको क्षमता बढाउन विशेष प्रकारको फाइबर टाँसिन्छ। नेपालमा खासै प्रचलनमा नरहेको यो विधि प्रयोग गर्न भने सजिलो छ।

कंक्रिट ज्याकेटिङः रेट्रोफिटिङको यो विधि सबैभन्दा प्रचलित छ। क्षतिग्रस्त पीलर र बीमको वरिपरि ठाडो डण्डी राखेर त्यसलाई रिङले बाँधेपछि ढलान गर्ने विधिलाई नै कंक्रिट ज्याकेटिङ भनिन्छ। यसले बीम वा पीलर थप बलियो हुनुका साथै यसको आकार पनि बढ्छ।

यो विधिबाट पीलर नभएका घरका गारोको पनि रेट्रोफिटिङ गर्न सकिन्छ। भित्ताको भित्र–बाहिर दुवैतिरबाट ठाडो तेर्सो डण्डीको जाली लगाएर प्लास्टर गरिने यो विधिमा भित्ता छेडेर ठाउँठाउँबाट घुसाइएको डण्डीले बाँधेर बलियो पारिन्छ। यो तरीका तीन तलासम्मका भवनका लागि उपयुक्त हुन्छ। ज्याकेटिङ विधिबाट माथिल्लो तलामा रेट्रोफिट गर्दा फलामे डण्डी र ढलानले भार बढ्ने हुँदा तल्लो तलाको क्षमतामा ध्यान दिनुपर्छ।

स्टील ज्याकेटिङः यो विधिमा कमजोर बीम र पीलरमा स्टील प्लेट टाँसेर बलियो पारिन्छ। विकसित देशमा प्रचलित यो विधि सामग्री अभावमा नेपालमा भने प्रचलनमा छैन।

पोष्ट टेन्सन मेटल स्ट्रयाप्सः विशेषज्ञको निगरानीमा फलामे पाताले पीलर र बीमलाई विशेष प्रकारले बाँधेर बलियो बनाउने यो विधि विकसित मुलुकमा प्रचलित छ। यो विधिबाट पुराना पुल, बाँध जस्ता संरचना पनि बलियो पारिन्छ। इन्जिनियर न्यौपाने बेलायतको शेफिल्ड विश्वविद्यालयको सहयोगमा नेपालका भूकम्पबाट क्षतिग्रस्त विद्यालय यही विधिबाट मर्मत गर्ने तयारी भइरहेको बताउँछन्।

रिमुभल एण्ड रिप्लेसमेन्टः यो विधिमा क्षतिग्रस्त वा कमजोर संरचनालाई नयाँ संरचनाद्वारा विस्थापित गरिन्छ। जस्तो, क्षतिग्रस्त पीलर वा भित्ता भत्काएर नयाँ बनाइन्छ। पीलर कम भए थपिन्छ।

comments powered by Disqus

रमझम