२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

सफाइसँगै सौन्दर्य

Share:
  
पहिले मूल ढोकामा मात्र ओछ्याइने 'डोर म्याट' अहिले शौचालयको ढोकासम्म पुगेको छ।

अनलाइन तस्वीर
जुत्ता–चप्पलमार्फत घरभित्र धूलो/मैलो नजाओस् भन्ने उद्देश्यले मूल गेट वा घरको प्रवेशद्वारमा ओछ्याइने म्याट सबैतिर प्रयोग हुन थालेको छ। बेड म्याट, भान्सामा फिल्टर म्याट, शौचालयमा बाथडोर म्याट, कमोड म्याट आदि राख्न थालिएको छ। म्याट सफाइका लागि मात्र नभएर सौन्दर्यको साधन समेत बनेको छ।

इन्टेरियर डिजाइनर निशा थापा चटाइले कोठा सुन्दर देखाउन मद्दत गर्ने बताउँछिन्। “थुप्रै रङ र डिजाइनका डोर म्याट पाइन्छन्”, उनी भन्छिन्, “कोठाको डिजाइन अनुसारका म्याट राख्दा उज्यालो देखिन्छ।”

राजधानीको बत्तीसपुतलीस्थित 'जीवनी फ्लोरिङ एण्ड फर्निसिङ' का सञ्चालक सुरेश अग्रवाल पछिल्लो समय डोर म्याटको प्रयोग बढिरहेको बताउँछन्। “पहिले–पहिले अलि हुने–खानेले मात्रै डोर म्याट किन्थे, अचेल सबैको भएको छ”, दश वर्षदेखि पर्दा, गलैंचा, वाल पेपर, डोर म्याट (ढोकामा ओछ्याइने चटाइ) व्यवसायमा रहेका उनी भन्छन्।

म्याट छनोट

बजारमा घरभित्र र बाहिरका लागि थरी थरीका म्याट पाइन्छन्। डिल्लीबजारस्थित 'प्रेजेश फर्निचर एन्ड फ्लोरिङ' का सञ्चालक शरद श्रेष्ठका अनुसार, मूलद्वारमा रबर हलो म्याट वा जूट म्याट प्रयोग गर्दा राम्रो हुन्छ भने बैठक वा सुत्ने कोठामा फेन्सी डोर म्याट सुहाउँछ। “फेन्सीमा सिल्क वा ऊनका स्यागी म्याट प्रयोग गर्न सकिन्छ”, उनी भन्छन्, “भान्सा वा शौचालयका लागि भने प्लास्टिकका ग्रास म्याट राखे पानी पोखिए पनि चिन्ता हुँदैन।”

नेपालमा अधिकांश म्याट भारत, चीन र दक्षिणकोरियाबाट ल्याउने गरिन्छ। व्यवसायीका अनुसार, बजारमा प्रेस्टिज कम्पनीका अल्टिमेट म्याट बढी बिक्री भइरहेका छन्। यस्ता म्याट तयारी अवस्था वा आवश्यकता अनुसारको लम्बाइमा किन्न सकिन्छ। १८-३० इन्चको तयारी अल्टिमेट म्याटको मूल्य रु.३०० देखि रु.१५०० सम्म पर्छ। घर बाहिरका लागि जूट, नरिवलको जटा, काठ जस्ता हावापानीले नबिग्रिने सामग्रीबाट बनेका म्याट किन्नुपर्छ। मोटो र टक्टक्याउन मिल्ने हुनुपर्छ। चिसोका कारण टुक्रने सम्भावना भएकाले जाडोयाममा प्लास्टिकका म्याट राम्रो मानिंदैन। यो वेला रेशमको 'इन्डोर म्याट' ओछ्याउन सकिन्छ। घरभित्र ओछ्याइने म्याट केही पातलो भए पनि फरक पर्दैन।

शौचालय वा भान्सामा म्याट ओछ्याउँदा चिप्लिने सम्भावना कमै हुन्छ। प्रवेशद्वार वा प्यासेजमा डोर वा करिडोर म्याट ओछ्याउँदा हिंड्न सजिलो हुन्छ। अझ, जाडोमा म्याटको प्रयोगले चिसो लाग्ने समस्या पनि कम हुन्छ।

त्यसो त ढोकाका लागि बजारिया म्याट नै किन्नुपर्छ भन्ने छैन। पुराना तन्ना, गम्छा वा लुगाफाटालाई नै म्याट बनाउन सकिन्छ। कतिपय घरमा बोराले नै म्याटको काम गरेको देखेका पनि छौं। पुराना फ्लोर म्याटलाई तीन/चार फीट वा ढोकाको लम्बाइ अनुसार टुक्र्याएर पनि ओछ्याउन सकिन्छ। गाउँघरमा मकैको खोस्टाबाट पनि चकटी वा म्याट बनाउने गरिन्छ।

फाइदा

सफाइमा सहयोग पुग्छ।

चिसोबाट जोगाउँछ।

चिप्लिनबाट रोक्छ।

भुईंको सुरक्षा गर्छ।

कोठाको सौन्दर्य बढाउँछ ।

सजना बराल

comments powered by Disqus

रमझम