२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

प्रवासी महिलाको कथा

Share:
  

गोपेन राई
दोलखाका माया र रीता तामाङ रु.३–३ लाख खर्च गरेर साइप्रस जाने सुरमा थिए। गाउँकै एक छिमेकी (एजेन्ट) ले प्रति व्यक्ति रु.७० हजारमा दुबई पठाइदिने बताएपछि उनीहरूले साइप्रसको सपना त्यागे। एजेन्टले भारत, श्रीलंकाहुँदै दुबई पुग्नुपर्ने बताए। तर, उनीहरू तीन दिनसम्म नयाँदिल्लीको विमानस्थलमै रोकिए। तामाङद्वयलाई एजेन्टले ठगे। अन्ततः प्रहरीको सहयोगमा मंसीरको पहिलो साता माइती नेपालले उनीहरूको उद्धार गर्‍यो।

“वैदेशिक रोजगारमा जाने महिलाको संख्या बढेसँगै मानव बेचबिखनको स्वरुप फेरिएको छ”, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला भन्छिन्, “अहिले भारतहुँदै श्रीलंका ट्रान्जिट बनाएर अन्यत्र मुलुकमा नेपाली महिलाको बेचबिखन हुन थालेको छ।” सन् १९९३ मा आफूहरूले काम थाल्दा सिन्धुपाल्चोक, नुवाकोट जस्ता सीमित जिल्लाका महिला भारतको बम्बईमा बेचिने गरेको तर अहिले देशैभरिका महिला बेचबिखनमा पर्न थालेको उनको अनुभव छ। उनी बेचबिखनको उद्गमस्थल, बाटो र गतव्य सबै फराकिलो भएको बताउँछिन्।

नेपाली बालिकाको उमेर बढाएर नागरिकता बनाई भारतको मुम्बईदेखि नागपुर, पुणे, आसाम, अलाहवाद, लाल्टिनबजारलगायत शहरमा बेचबिखन हुने गरेको छ। त्यसो त भारत मात्रै नभएर तान्जानिया, कीर्गिस्तान, इराक, सिरियासम्म पनि नेपाली महिला पुर्‍याइएका छन्। संस्थाले २१ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा माया र रीता जस्तै बेचबिखन, घरेलु हिंसा र जबर्जस्ती करणीमा परी उद्धार गरिएका १२ जना महिलासँग साक्षात्कार गराएको थियो।

भारतमै अनौपचारिक क्षेत्रमा काम गरिरहेका ३० जना नेपाली महिलाका कथा तस्वीर तथा अडियोमार्फत बबरमहलस्थित नेपाल कला परिषद्मा २२–२४ मंसीरसम्म प्रदर्शन गरियो। प्रदर्शनीमा 'बसाइँसराइ, जनजीवन र जीविकोपार्जन', 'महिला र काम', 'आमसञ्चार र प्रवासीहरू' विषयमा अन्तरक्रिया समेत गराइएको थियो। 'घरबाट टाढाः प्रवासी नेपालीका कथा' नाम दिइएको कार्यक्रम एचआरआई इन्ष्टिच्युट फर साउथ एशियन रिसर्च एण्ड एक्सचेञ्ज, डेन चर्च एड (डीसीए), मदन पुरस्कार पुस्तकालय, महिला पुनर्स्थापना केन्द्र (ओरेक), पौरखी र स्टिचिङ रोटरड्याम संस्थाले संयुक्त रूपमा आयोजना गरेका थिए।

प्रदर्शनीमा करीब १८ महीना लगाएर भारतका मुम्बई, बैङ्गलोर, हरियाणालगायत शहरमा कार्यरत नेपाली महिलासँग लिइएको अन्तर्वार्ता हेर्दै सुन्दै धेरैले लाभ लिएको डीसीएका क्षेत्रीय प्रतिनिधि डेभिड स्मिथले बताए। “प्रवासी कामदारको अधिकार सुनिश्चित गर्न सरकार र अन्य सरोकारवाला संस्थालाई दबाब पुगोस् भनी हामीले यो अध्ययन र प्रदर्शनी गरेका हौं”, ओरेककी अध्यक्ष डा. रेणु अधिकारीले भनिन्। माइती नेपालका अनुसार डेढदेखि दुई लाख नेपाली महिला भारतमा कार्यरत छन् र यो संख्या वर्षेनि बढ्दो छ।

सजना

comments powered by Disqus

रमझम