२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

सुरक्षित खुम्बू

Share:
  
खुम्बू क्षेत्रलाई पुनः गुल्जार बनाउन सरकारले तत्काल पर्यटक लक्षित विशेष कार्यक्रम शुरु गर्नुपर्छ।

हिमाल फेदीमा सजिएको सोलुखुम्बूका लुक्लावासी यतिवेला निराश छन्। नहुन पनि किन, अघिल्ला वर्षहरूमा यही वेला पर्यटकको चहलपहलले गाउँ नै वेग्लै हुन्थ्यो।

१२ वैशाखको महाभूकम्प र भारतीय नाकाबन्दीका कारण लुक्ला बजार सुनसान छ। दैनिक ५० भन्दा बढी उडान हुने लुक्लामा अहिले मुश्किलले २० वटा मात्र उडान हुने गरेका छन्। “सबै सिजनमा व्यस्त हुने खुम्बू क्षेत्रलाई भूकम्पले खाली बनाएको छ”, लुक्ला विमानस्थलमा भेटिएका वर्ल्ड एक्सपिडिसनका पथप्रदर्शक दावा जाङ्वु शेर्पा भन्छन्।

वर्षमा १७ समूहभन्दा बढी कोरियाली पर्यटकलाई नेपाल घुमाउने डिस्कभर एडभेञ्चरका प्रबन्ध निर्देशक ङिमा छिरिङ शेर्पाले पनि यो वर्ष मुश्किलले पाँच समूह भेटे। “विदेशी सञ्चारमाध्यमहरूले पूरै नेपाल भूकम्पले ध्वस्त भएको भन्ने गलत समाचार प्रसारण गरेका कारण पर्यटक डराएका छन्”, पथप्रदर्शक रामचन्द्र सुनार भन्छन्। “सरकारले नेपाल सुरक्षित भएको समाचार छर्नुपर्छ”, लुक्लास्थित हिमालयन क्लबका अध्यक्ष आङ फुर्वा शेर्पा भन्छन्, “यसका लागि पर्यटक आकर्षित गर्ने विशेष प्याकेज बनाउनुपर्छ।”

भूकम्पपछि नै काठमाडौं र अहिले खुम्बू भ्रमणमा आएका रुसी नागरिक ओल्गर कोमरकर भूकम्पभन्दा पनि अहिलेको नाकाबन्दीले समस्या पारेको बताउँछन्। नाकाबन्दीका कारण महँगी र इन्धन अभावले हवाई यातायातमा पर्न सक्ने प्रभावप्रति उनी सशंकित छन्। “तर, पर्यटकले बाहिरबाट सोचेभन्दा खुम्बू धेरै सुरक्षित छ”, कोमरकर भन्छन्।

सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा चौबीसै घण्टा बिजुली हुने लुक्लामा पर्यटकले कुनै सास्ती भोग्नु नपर्ने दाबी गर्छन्।

सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार, सन् २०१४ अक्टोबरमा मात्र ९ हजार ४६३ पर्यटक भित्रिएको खुम्बू क्षेत्रमा गत अक्टोबरमा करीब पाँच हजार जति मात्र पर्यटक आइपुगे। तर, पर्यटन विभागका नायव सुब्बा तिलक नेपाली पर्वतीय पर्यटक आगमनमा भने निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्।

नयाँ गन्तव्य

तस्वीरहरुः जाङ्वु शेर्पा
पर्यटक कमिले फुर्सद खुम्बू क्षेत्रवासी नयाँ पर्यटकीय स्थल निर्माणमा जुटेका छन्। विश्वकै जोखिमपूर्ण तेन्जिङ–हिलारी विमानस्थल मात्र नियाल्नलाई ओइरिने पर्यटकको निम्ति लुक्लाभन्दा दश मिनेटको पैदल यात्रापश्चात् तेन्जिङ–हिलारी पार्कको अवलोकन गर्न सकिन्छ। नाम्चेमा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र खुम्जुङमा एडमण्ड हिलारीको सालिक समेत बनेका छन्।

स्थानीय हिमालयन क्लबका अध्यक्ष शेर्पाका अनुसार, लुक्लादेखि जोरसल्लेसम्म माउन्टेन बाइक मार्ग शुरु गर्ने तयारी भइरहेको छ। पर्यटक लक्षित स्थानीय रक क्लाइम्बिङ पनि थालिएको छ। फाक्दिङ, नाम्चे, तेङवोचे, खुम्जुङ र गोक्योलगायतका पर्यटकीय केन्द्रहरूमा भइरहेको पुनःनिर्माण अन्तिम चरणमा छ।

खुम्बूको आकर्षण नाम्चेस्थित शेर्पा जातिको संग्रहालय पनि हो। संग्रहालयमा शेर्पाले परम्परागत रुपमा प्रयोग गर्ने सामग्री, हालसम्म सगरमाथा आरोहण गर्ने आठ सय भन्दा बढीको तस्वीरसहितको अभिलेख राखिएको छ।

यसका साथै पटक–पटकको आगलागीबाट सताइएको लुक्लामा ६ स्थानमा आगो नियन्त्रण प्रविधि जडान गरिएको छ। अग्नि नियन्त्रण केन्द्रका संयोजक सोनाम शेर्पा अब विमानस्थलदेखि लुक्ला बजारसम्म हुने आगलागी सहजै नियन्त्रण हुनेमा ढुक्क छन्।

जाङ्वु शेर्पा, तेङवोचे

comments powered by Disqus

रमझम