२७ मंसीर - ४ पुस २०७२ | 13- 19 December 2072

एउटा गम्भीर झङ्कार

Share:
  
अम्बर गुरुङ दीक्षित झुमा लिम्बू (३२) को पछिल्लो कर्म नेपाली संगीत क्षेत्रकै लागि गर्वलायक छ।

२०५९ सालमा काठमाडौं उत्रनुअघि नै झुमा लिम्बूको नाममा एउटा अल्बम थियो। त्यो अल्बम उनले २०५७ सालमा ताप्लेजुङबाट एसएलसी दिएर धरान झर्दा नै निकालेकी थिइन्। तर, संगीतमा थप ज्ञान हासिल गर्ने उनको तिर्खालाई धरानले मेटाउन सकेन। उनले काठमाडौंतिर हेरिन्।

काठमाडौं आएपछि उनी सोझै रेडियो नेपाल गइन् र स्वर परीक्षा पास गरिन्। उनलाई लाग्यो, अब चाहिं म पारङ्गत भएँ। त्यही जोशमा २०६० सालमा अर्को अल्बम निकालिन्– ए साइँला।

झुमाको अल्बम विमोचनमा संगीतज्ञ अम्बर गुरुङ निम्त्याइएका थिए। कार्यक्रममा गुरुङले 'यो स्वरले मिहिनेत गर्‍यो भने धेरै राम्रो हुन्छ' भनिदिएपछि उनी झनै फुर्किइन्। गुरुङले भनेको मिहिनेतको मर्म पछ्याउँदै झुमाले चन्दन श्रेष्ठसँग लामो समय संगीत सिकिन्। तर, उनको मन भरिएन। “पहिलेको कुरा सम्झाउँदै म त तपाईंसँगै सिक्न आएँ भनेपछि सरले नाइँ भन्नुभएन”, उनी भन्छिन्।

गुरुङको चेली भएपछि पो झुमालाई आफ्नो अज्ञानता बोध भयो। “गीत भनेको लोकप्रिय हुनका लागि मात्रै गाउने होइन रहेछ”, उनको बदलिएको बुझाइ छ, “आफ्नो गायकीको पूर्णता भन्ने कुरा महत्वपूर्ण हुँदोरहेछ।”

यही सत्यको महसूसपछि झुमाले २०७० मा 'अम्बर संगीत' र २०७१ मा 'खासाम' अल्बम सार्वजनिक गरिन्। लिम्बू जातिको संगीत इतिहास बारेको 'खासाम' बनाउने क्रममा उनी यतिसम्म चुर्लुम्म भइन् कि एक वर्ष त बाहुन/क्षेत्री साथीभाइसँग कुराकानी नै गरिनन्। नेपाली गाउँदा पनि लिम्बू लयले हैरानी गरेपछि उनले स्वरविज्ञान नै सिक्नुपर्‍यो।

यताका समय झुमा संगीतमा केही नयाँ गर्नेतर्फ उन्मुख छिन्। “कसैले खोट लगाउन नसकुन् भनेर विस्तारै काम गर्छु”, उनी भन्छिन्। झुमाको नाममा नेपाली संगीतले प्रतिभावान सुपुत्री पाएको भनिरहन अब हिच्किचाउनु पर्दैन।

सजना बराल

comments powered by Disqus

रमझम