५-११ पुस २०७२ | 20-26 December 2015

नैतिक जिम्दारी

Share:
  
- महेश थापा
कुन ग्रहबाट हो, पेरिसडाँडामा खसान् भएको नैतिकवानहरूको हुजूमले मनपरीलाई थपक्क सरीमा रूपान्तर गरे।

“नैतिक जिम्मेवारी लिन्छु!”

भानु भट्टराई
अभद्रताको कुहिरोले दिन धुम्मिएको वेला भद्र सुर अलापेर मन बिथोल्ने यो को होला? भन्ने तर्कनामा तरङ्गिदै पेरिसडाँडा पुग्दा सकल दर्जाका कमरेडहरूबीच गृहमन्त्री महोदय ठिंगे लागेका रहेछन्। कमरेडहरू ठुङ्न तम्सिएका, मन्त्री निहुरमुन्टी न शैलीमा। मन्त्रीज्यूलाई यो स्तरमा हायल–कायल पार्ने नैतिकवानहरूको हुजूम् रातारात कुन ग्रहबाट पेरिसडाँडामा खसान् भएछ हँ? भीडमा यसो नजर डुलाउँदा नौलो कोही देखिएनन्।

त्यत्ति नै वेला एक जना छिर्केमिर्के कमरेड 'भूकम्पपीडितको कोटामा आफन्तलाई चाइना दर्शन गराएर पार्टीको साख माटोमा मिलाएको' भन्दै धामी झैं काम्न थाले। त्यो सुनेर कमरेडहरू हडबडाउँदै भुईं छामछुम गर्न थाले, तर संगमरमरको चिल्लोमा न माटो न साख नै हात पर्‍यो। अध्यक्ष कमरेडले कुम हल्लाउँदै आफू विराजमान सिंहासन छेउछाउको सतह खोस्रन इशारा गर्नुभो। त्यहाँ पनि साख्वाख् केही भेटिएन।

त्यसो त, समानताका पुजारीहरूले गृहमन्त्रीलाई मात्र सौताको छोरो बनाएर हुर्मत लिन खोज्नु मालेमावादी दृष्टिले गम्भीर सैद्धान्तिक विचलन नै हो। 'मह काढ्नेले हात चाट्ने' प्राकृतिक मान्यता विपरीत नेताका चिचिन्डाहरू सयरमा निस्किए भन्दै हायतौबा मच्चाउँदैमा लछारिने केही हैन। चवन्नी कम्पनीको शेयरमा दुई पैसा फाल्नेले त नगदी लाभांश, बोनस, हकप्रद शेयर आदि प्रसादी पाउँछ भने क्रान्तिको बजारमा एकबारे जिन्दगी लगानी गरेका गौरवशाली नेताका सौभाग्यशाली कुटुम्बले हल्का लिंदैमा यो देशै रित्तिने पनि हैन। राजनीतिक खेतालाको ज्यालादारी असुल्न नसक्ने पनि कहीं कम्युनिष्ट हुन्छ? क्रान्तिको फूलबुट्टा भर्नेहरूले अतिरिक्त लाभ हसुर्न नसके तिनको जुझारुपन भाँडमै गए बराबर हुँदैन र?

गल्तीमा छुस्स मिस्टेक भएको हुन सक्छ, तर तल्लो तहका कार्यकर्तालाई मात्र भूकम्पपीडित मानिलिएर चीन पठाउने पार्टी मान्यताभन्दा गृहमन्त्री महोदय धेरै माथिल्लो तहमा पुगेको पनि देखियो, यसमा। पार्टीले तल्लो तहका भन्दैभन्दै उहाँले अध्यक्ष कमरेडकी नातिनीसम्मलाई समावेश गराउनुभयोे। पहिलो कुरा, तल वा माथि भन्ने कुराको निर्क्योल सापेक्षतामा गरिन्छ। दोस्रो सत्य, पार्टीको उच्चासनबाट तल हेर्दा सबै भ्रमणवालाहरू तल्लोस्तरकै कार्यकर्ता मालूम हुन्छन्!। फेरि, भ्रमण दलको समावेशीपनमा जस्तै अङ्खोटेले पनि खोट लगाउन सक्दैन। साला–साली, भाञ्जा–भाञ्जी, छोराछोरी, नातिनातिनी, श्रीमती आदि साइनोलाई सन्तुलित ढङ्गले मिलाएको छ्याङ्ग देखिन्छ। महाभूकम्पका भुक्तमानहरूलाई भन्दा त्यो विभीषिका बेहोर्न नपाएका अनुभवहीनहरूलाई अवलोकनमा भेज्दा न्याय फस्टाउने सत्य छ, त्यसमाथि।

मन्त्री महोदयले नातिनीहरू विदेशाटनमा निस्केको हजुरबालाई पत्तो नभएको स्थिति सिर्जना गरेर अध्यक्ष कमरेड घरायसी विषयमा पनि कम लापरवाह हुनुहुन्न भन्ने समेत देखाइदिनुभएको छ। यसरी हेर्दा बरु अध्यक्ष कमरेडको हुस्सुपनामा हदबन्दी लगाउनुपर्ने आवश्यकता टड्कारो देखिन्छ। यसमा अध्यक्ष कमरेडलाई फुक्काफाल छाडे भोलि पार्टीको सकल दर्जाका कमरेडहरूले श्रीमती कमरेड गएको सुइँकोसम्म नपाउने अवस्था आउन सक्छ। तर, भनेर के गर्नु, कचहरी त गृहमन्त्रीबाट गम्भीर कसूर भएको ठहरका साथ धर्मसभामा पो विकसित भयो।

यता मलाई लडाकूहरूको अर्बौं बुक्याउँदा वालै नभएको पार्टीका कर्मठ नेता भूकम्पपीडितको कोटामा आफन्तलाई घुमघाम गराएकै भरमा सजायको भागीदार हुनपरे न्यायको नाभी सुक्ने त्रासले आतेस पार्न लाग्यो। मान्यवरहरू 'न्याउरी मारी पछुतो' मा पर्लान् भन्ने डरले थर्कमान हँुदै गर्दा सर्वश्री कमरेडको मुखारविन्दबाट फ्याट्ट फैसला खस्यो, “गृहमन्त्री राजीनामा देऊ।” “प्रभु...!”, गृहमन्त्रीको नयन भरिलो देखियो।

“मने यो एउटा कुरो हो, नत्र आत्मालोचना गर्दे'नि निप्टिन्छ!” पूरक फैसला आयो।

निसाफमा निहित अप्सनले हिरिक्क हुँला–हुँला जस्तो भएर छेवैका नैतिकवान् कमरेडलाई कर्‍याप्प अठ्याउँदै खसखस पोखें, “यो फैसला अलिक अनैतिक लागेन?”

“आत्मालोचना नै आउने भे'छि दूधको दूध भइसक्यो।”

“गर्ने मनपरी, भन्ने सरी! यो ट्याउटिस बासी चना भएन?” मैले भने, “यही हो तपाईंहरूको नैतिक जिम्मेवारी?”

“कुन बारी रे?” कमरेड उदेकिए, “हाम्रो वादविवाद प्रतियोगिताको शीर्षक थियो– नैतिक जिम्दारी!”

“विजेता को बन्यो?”

“पहिलो कुरा, क्रान्तिकारी कहिल्यै हार्दैन”, कमरेडले दृढतापूर्वक भने, “दोस्रो, कम्युनिष्टहरूको जित सामूहिक हुन्छ!”

नैतिकताको धुनी जगाउँदै मदमस्त भई राजनीतिक जिम्दारी चलाउने चलन हामीकहाँ सनातनदेखि जारी छ। केही झ्रल हुने आशमा झूर फिल्मको क्लाइमेक्स रुँघेको दर्शक माफिक म फर्किएँ।

comments powered by Disqus

रमझम