भानुभक्तको रामायण

Share:
  
- क.दी.
कुनै साइनो सम्बन्ध नभएका पूर्व ४ नम्बरका एक जना पोखरेल र राजधानीको भोसिको टोलमा जन्मेका अर्का भट्ट बाजे एकैजसो समयमा 'सातकाण्डी' को खोजीमा किन भौंतारिए?

पुरा कवीनां गणनाप्रसङ्गे कनीष्ठिकाधिष्टितकालिदासः।

अद्यापि तत्तुल्य कवेरभावात् अनामिका सार्थवती बभूव।।

(भावार्थः उहिले एक पटक कविहरूको मूल्यांकन (गणना) गर्न लाग्दा सर्वश्रेष्ठ भनी एक नम्बरमा कवि कालिदास भन्दै कान्छी औंला भाँचेछन्। त्यसपछि औंलो भाँच्न दोस्रो नम्बरका कवि खोज्दा फेलै परेन रे! त्यसैले त्यो हाम्रो साहिंली औंलालाई ऐलेसम्म पनि संस्कृतमा 'अनामिका' अर्थात् 'नामै नभएको' भनिन्छ, इत्यादि।)

हाम्रो नेपाली पुस्तकहरूको चर्चा गर्ने भनी शुरू गरिएको स्तम्भ, यो 'पुस्तक सम्पदा' मा संस्कृतका कवि कालिदासको प्रसङ्ग जोडिन आइपुग्नुको कारण हो– संस्कृतको त्यो श्लोक नेपाली किताबका सन्दर्भमा पनि एउटा भानुभक्तको रामायणमा कताकता लागू हुन्छ कि जस्तो लाग्न थाल्यो मलाई। भनूँ न भानुभक्तको सातकाण्डी रामायण समग्र पहिलो पटक १९४२ सालमा छापिएर प्रकाशित हुनुभन्दा निकै वर्ष पहिलेदेखि नै त्यस पुस्तकले नेपाली जनमानसलाई एक प्रकारले गाँजिसकेको रहेछ। त्यसो नहुँदो हो त कुनै साइनो सम्बन्ध नभएका पूर्व ४ नम्बर भोजपुरका एक जना पोखरेल बाजे र शहर राजधानीको भोसिको टोलमा जन्मेका अर्का भट्ट बाजे एकैजसो समयमा त्यो 'सातकाण्डी' को खोजी गर्दै किन भौंतारिन्थे?

पहिले मोतीरामलाई आंशिक सफलता मिल्यो, उनले रामायणको बालकाण्ड मात्र भेट्टाए र झ्ट्टपट्ट त्यो छापी प्रकाशित गराइहाले १९४१ असोजमा ('कालो अक्षर' पृ.२१)। मोतीरामका मामा नरदेव पाण्डे (१९५०–१९९३) ले 'मोतीराम भट्टको जीवनी' मा भनेका छन्– 'बालकाण्ड' छापिनासाथ मोतीरामले त्यल्लाई 'नेपाली भाषामा सर्वप्रथम छापिएको पुस्तक' भनेर बेलाइतको लाइब्रेरीमा पठाए। यहाँ हामीले 'मोतीरामले छपाएको' भने तापनि त्यस किताबमा उनको नाम कतै छैन, अरूकै छन्। भए पनि 'कालो अक्षर' भन्छ– त्यो किताब खोज्ने, दौडधूप गर्ने सबै काम मोतीरामले नै गरेका थिए। तर खर्चका हकमा चाहिं सके तेजबहादुर राना पनि सहभागी थिए कि क्या (पृ.२४)। यता समग्र रामायण (सातै काण्ड) पहिलो पटक छाप्ने जश भने मोतीरामले पाउन सकेनन्, त्यो डमरूवल्लभ पोखरेलको हात लाग्यो। भट्टलाई पोखरेलले उछिने दुई वर्षले। यस कार्यमा उनलाई सहयोग गर्ने अरू तीन जना थिए। यो कुरा त्यही रामायणको कभर–पृष्ठबाट बुझिन्छ।

१९४१ सालबाट प्रकाशन शुरू भएको भानुभक्त आचार्यको रामायण ऐलेसम्म कति छापिए होलान्, ठीक उत्तर दिन सकिन्न। तर ढुक्क भएर भन्न सकिन्छ अरू कुनै पनि नेपाली किताब त्यति धेरै छापिएका छैनन्। हो, महाकविको 'मुनामदन' र कविप्रसादको 'भागवतकुञ्ज' रामायणको हाराहारी पुग्न खोज्छन्, तर तिनले पनि भानुभक्तलाई जित्न सक्दैनन्, पक्का छ।

मदन पुरस्कार पुस्तकालयमा दर्ता भएका मात्र गन्दा पनि भानुभक्तका रामायणका विभिन्न प्रकाशकका नाम नै स्वदेश र विदेशका गरी १४–१५ ओटा पुग्छन्। तिनले १३० वर्षमा रामायणका कति संस्करण गरे, हिसाब छैन। अझ् एकै संस्करणमा पनि कति–कति छापिए होलान् रामायण, त्यसको लेखाजोखा गर्न झ्नै सकिंदैन। जल्ले जे अन्दाज गरे पनि, जे अनुमान लगाए पनि हुन्छ।

भानुभक्तीय रामायणले नेपाली मनलाई कसरी बाँधेको थियो भने सुनेकै भरमा पहाडका अपठित महिला समेत आफ्ना दुःख–दर्द पोख्न भानुभक्तका पंक्ति गाउँछन् 'गयो खान्या बेला मकन त मिल्यो राज्य वनको' भनेर। नेपाली जाति– स्वदेशमा होस् कि विदेशमा, पण्डित हुन् कि मजदूर–किसान, भानुभक्त भट्याउँछन् :

सुन्यौ भाइ संसार्मा शरिर अति कच्चा जनको।

शरिर्कच्चा जानी नगर तिमि रिस् कत्ति मनको।

सय डेढसय वर्षदेखि भानुभक्त यसरी नै नेपाली रैतीका व्यथा बोल्दै आएका छन्, उखान टुक्का सरह। दुःख–व्यथा मात्र होइन, हाम्रा सुख र खुशी बाँड्न पनि भानुभक्त नै अघि सर्छन् : 'घर पनि सुनकै छन् गल्लि जो छन् सुनैका' अथवा 'भ्रमरहरू लताका फूलमा हल्लीहल्ली गुनुनु गुनुनु गर्दै हिंड्दछन् बल्लिबल्ली।'

भानुभक्तको रामायण मान्छेलाई मन परेको प्रमाण खोज्न टाढा जानु पर्दैन। वीरगन्जका मुकुन्द आचार्यले त्यसलाई पूरै भोजपुरी भाषामा श्लोकबद्ध अनुवाद गरेर छपाएका छन्। त्यस्तै, काभ्रेका चन्द्रबहादुर लामाले सुन्दरकाण्डलाई तामाङ भाषामा समश्लोकी अनुवाद गरी छापेको फेला पर्छ। अनि, नेपालको पहाड पाखादेखि दार्जीलिङ, असम, भोटाङ र बर्मासम्मका नेपाली बिहे बटुलोमा सिलोक हाल्न केही अघिसम्म पनि भानुभक्तको रामायण र होमनाथ केदारनाथका महाभारत नै अघि सार्थे।

अब अर्को एउटा मात्र कुरा गरेर यो प्रसङ्ग तुरौं। धेरै वर्ष भएको छैन भानुभक्तीय रामायणको संगीतमयता बुझेरै होला 'म्युजिक नेपाल' ले त्यसलाई अझ् व्यापक तुल्याउन चार वर्ण छत्तीस जातका सबै उमेर समूहका १३२ जना नेपाली पुरुष र महिलालाई जम्मा गरी रामायणका १३१९ ओटै श्लोक पाठ गराएर क्यासेट तथा सीडी बनाएको छ। अब 'नेपाली मन र मस्तिष्कलाई प्रभाव पार्ने एक नम्बरको पुस्तक कुन?' भनेर गणना गर्नु परे माथिको श्लोकमा 'कालिदास' भने जस्तै हामीले 'भानुभक्तीय रामायण' नभनी भो?

comments powered by Disqus

रमझम