५-११ पुस २०७२ | 20-26 December 2015

गरिखानेलाई झनै सास्ती

Share:
  
- सइन्द्र राई, सर्लाहीमा
आन्दोलन जारी रहे पहाडमा मजदूरी गरिरहेका आफन्तको अवस्था के होला भन्ने चिन्ता व्याप्त छ, मधेशमा।

तस्वीरहरुः सइन्द्र राई
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी कार्यक्रममा हरिऔन–११ घुर्क्यौलीकी साखिला खातुन (बच्चा बोकेकी)।
२९ मंसीरमा प्रमुख सत्तारुढ नेकपा (एमाले) द्वारा सर्लाहीको हरिऔन नगरपालिकामा आयोजित सभामा काखे बालक च्यापेर भाषण सुनिरहेकी भेटिइन्, साखिला खातुन (४५)। तर, उनी एमाले कार्यकर्ता होइनन्। मधेशका आन्दोलनकारीले 'पहाडेसँग लड्न आन्दोलन गर्नुपर्छ' भन्न थालेपछि गुजाराका लागि खातुनका छोरा तौकीर अन्सारी (२२) तीन महीनाअघि काठमाडौं हिंडे। उनी त्यहाँ सिरक सिउने काम गर्छन्। “पहाडेले छोरालाई केही गर्लान्, नगर्लान् भन्ने बुझन यहाँ आएकी हुँ”, उनले भनिन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ठूला नेताहरूको भाषणबाट उनले मधेशी भएकैले छोरालाई केही नहुने आश्वासन सुनिन्। र, थोरै ढुक्क भइन्। संविधानमा असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई–मधेशमा जारी राखेको आमहड्ताल र नाकाबन्दीले खातुन जस्तै सर्लाहीका थुप्रै परिवारलाई चिन्तामा डुबाएको छ।

त्यसो त २०६४ को मधेश आन्दोलन हिंसात्मक बन्दा तीन जनाले ज्यान गुमाएको हरिऔन यतिवेला तुलनात्मक रूपमा शान्त छ। पहाडी र मधेशी मिश्रित हरिऔनवासीको साथ नपाएकै कारण ३० साउनदेखि आन्दोलनरत मोर्चाले नगरमा कुनै गतिविधि गर्न सकेको छैन। तर, आन्दोलनको असरबाट स्थानीयवासी आहत छन्।

आन्दोलनप्रतिको आक्रोश

१२ वैशाखको महाभूकम्पमा कान्छी छोरी गायत्री कर्ण (२२) गुमाएकी अनिता कर्ण (४५) लाई मधेश आन्दोलनले झ्नै चोट थपेको छ। राजमार्ग छेउमा चिया बेचेर जीविका चलाउने उनलाई आन्दोलनकै कारण छाक टार्नै संकट परिरहेको छ। उनको चिन्ताको अर्को कारण श्रीमान् सुरेन्द्रलाल कर्ण काठमाडौंमा मिस्त्री काम गर्नु पनि हो। “मधेश आन्दोलनमा गाली गरेको सुनेका पहाडेले रिसाएर श्रीमान्लाई काठमाडौंमा दुःख दिए के गर्ने होला?” उनको प्रश्न छ।

पुष्पाकुमारी कर्ण (३०) को व्यथा पनि उस्तै छ। उनका श्रीमान् पनि काठमाडौंमै छन्। आन्दोलन नसकिउञ्जेलसम्म घर फर्कन उनले गरेको आग्रह श्रीमान्ले मानेका छैनन्। श्रीमान् भने भूकम्प र नाकाबन्दीले कमाइ नै नभएकाले केही जोगाड गरेर मात्र फर्कने बताइरहेका छन्। “वेला–वेला फोनमा कुरा भए पनि पीर लागिरहन्छ”, पुष्पा भन्छिन्, “नेताहरू चाँडै मिलिदिए उहाँसँग भेट हुन्थ्यो।”

सर्लाही घर भएकी आरती लामा मधेश आन्दोलन पहाडविरुद्ध भन्ने बुझ्ाइले त्यस्तो परिवारमा चिन्ता बढाएको बताउँछिन्। अधिकांश समय काठमाडौं बस्ने उनी भन्छिन्, “आन्दोलन हिंसात्मक भए पहाडमा बस्ने आफन्तलाई अप्ठ्यारो पर्ने चिन्ता यता घर कुर्नेहरूलाई छ।” आफू हरिऔन आएको थाहा पाउनेवित्तिकै थुप्रै महिलाहरूले यसबारे जिज्ञासा राखेको उनको भनाइ छ।

चरम गरीबीबाट सताइएका मधेशका अधिकांश पुरुष जुत्ता पोलिस गर्ने, सिरक सिउने, कपाल काट्ने, ग्यारेज, घुम्ती पसललगायतमा काम गर्न राजधानीलगायतका शहरहरूमा पुग्छन्। र, परिवारका लागि केही रकम जम्मा गरी फर्कन्छन्।

हरिऔनस्थित राजमार्ग छेउमा चिया पकाउँदै पुष्पाकुमारी कर्ण।
हरिऔनका मोहम्मद रफी (५०) गरीबको समस्या नबुझनेहरू नै आन्दोलनमा लागेको बताउँछन्। “मिलेर बसेका ठाउँमा मुस्लिम, मधेशी, पहाडे भनेर आन्दोलन गरिरहेका छन्, हाम्रो समस्या कसैले बुझदैनन्”, रफी भन्छन्। अघिल्ला आन्दोलनमा धेरैको ज्यान गए पनि केही नभएको भन्दै उनी यो आन्दोलनले मधेशीलाई हानि मात्रै हुने तर्क गर्छन्। हरिऔन–११, का सुरेश साह (३६) लामो समयको आन्दोलनले खुद्रा व्यापारी, मजदूर, विद्यार्थी, र पहाडमा काम गर्न जानेका परिवारलाई मर्माहत बनाएको बताउँछन्। उनी भन्छन्, “आन्दोलनले गरिखाने परिवारमा ठूलो पीडा दिएको छ।”

नाकाबन्दीका कारण ५ असोजदेखि वीरगञ्ज नाका नखुल्दा त्यहाँका स्थानीय दलालहरूको मारमा साना व्यापारी परेको हरिऔन राजमार्ग छेउ खुद्रा पसल चलाइरहेका सुकेश्वर दास (४६) बताउँछन्। २२ वर्षदेखि व्यापार गर्दै आएका उनी भन्छन्, “नाकाबन्दी देखाएर मोर्चाकै नेताहरूबाट महँगोमा सामान लिएर व्यापार गर्नुपरेको छ।” ओखलढुंगाबाट २४ वर्षअघि सर्लाही झ्रेर चिनी मीलमा काम गर्दै आएका उद्धव परियार (६०) पनि आन्दोलनदेखि दिक्क छन्। इन्धन अभावले मील नचलेपछि उनी यतिवेला बेरोजगार छन्। उनी भन्छन्, “एकातिर खानेबस्ने समस्या छ, अर्कातिर मधेशी समुदायसँग दूरी बढ्ने डर।”

स्थानीयलाई अरू मुद्दाभन्दा पनि आन्दोलनका कारण आर्थिक अवस्था कमजोर बन्दै गएकोमा बढी चिन्ता छ। बारम्बारको आन्दोलनबाट हैरान उनीहरू सरकार र आन्दोलनरत मोर्चा दुवैसँग आक्रोशित छन्। आन्दोलनले राजमार्ग क्षेत्रमा कमै प्रभाव परे पनि सदरमुकाम मलंगवासँग दूरी बढ्दै गएकोमा चिन्तित रफी भन्छन्, “आन्दोलनका कारण हुनेखाने मधेशीलाई भन्दा पहाडमा काम गर्ने मजदूरको परिवारमा ठूलो चिन्ता छ।”

comments powered by Disqus

रमझम