५-११ पुस २०७२ | 20-26 December 2015

राजनीतिक संरक्षणको बल

Share:
  
- लोकमणि राई
मधेशी मोर्चाको बन्द र भारतीय नाकाबन्दीबाट देश संकटमा परेको वेला समेत पेट्रोलियम ठगी गर्ने आँट राजनीतिक संरक्षणकै कारण आएको हो।

तस्वीरः नेपाल प्रहरी, महानगरीय अपराध महाशाखा।
रातो घेरा भित्रको कालो टेपले बेरेको रिमोटबाट चल्ने उपकरणले डिजिटल पम्पवालाले पेट्रोलियम पदार्थको मात्रामा गडबड गरी उपभोक्ता ठग्छन्।
ललितपुर, बालकुमारीको युनिक फ्यूल सेन्टरका सञ्चालक गोपाल महर्जन नेकपा एमालेका पूर्व सभासद् कृष्णलाल महर्जनका भाइ हुन्। त्यस्तै, एकान्तकुनास्थित गायत्रीदेवी आयल स्टोर्सका सञ्चालक शैलेन्द्रनाथ वादे नेपाली कांग्रेसका सभासद् कञ्चनचन्द्र वादेका भतिजा पर्छन्। उनीहरू दुवै बनेपाका हुन्। आदर्श बसस्टपस्थित भक्तपुर फ्यूल सेन्टरका सञ्चालक पुण्यराम बखाडेया नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सक्रिय कार्यकर्ता हुन्। व्यावसायिक सूत्रहरूका अनुसार, पार्टीका सबै नेतासँग बखाडेयाको उठबस छ।

धादिङका 'दादा' हरूको उपयोगबाट पेट्रोलियम व्यवसायमा प्रभाव जमाएका मानिने न्यू बगलामुखी आयल स्टोर्स (स्वयम्भू, सानोभर्‍याङ) का सञ्चालक सीताराम घिमिरे 'एमालेको मान्छे' भएको उनलाई नजिकबाट चिन्ने एक उपभोक्ता अधिकारकर्मी बताउँछन्। त्यस्तै, ललितपुरको सानेपास्थित त्रिशक्ति फ्यूल सेन्टर (सानेपा) का युनुस प्रधान पेट्रोलियम व्यवसायबीच आफ्ना बुबा तीर्थलालका कारण चर्चित छन्। साईभक्त तीर्थलाल प्रधानको उठबस प्रभावशाली नेताहरूसँग रहेको एक पेट्रोलियम व्यवसायीले बताए।

बालाजुको क्रिस्टल फ्यूल सप्लायर्सका सञ्चालक कल्याण खड्काका दाजु कमल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको वागमती अञ्चल सचिव पनि हुन्। एमाओवादीका नेताहरूमा पकड बनाएका कमल खड्का पेट्रोल व्यवसायमा राजनीतिक पहुँचकै कारण प्रभावशाली मानिन्छन्। उनी पेट्रोल पम्पमा तेल हाल्ने मजदूरबाट यो स्तरमा उठेका हुन्। त्यस्तै, चापागाउँको महालक्ष्मी विश्वकर्मा टे्रडर्सका सञ्चालक शिव तिमल्सिना एमालेका सामान्य कार्यकर्ता हुन्। स्थायी घर काभ्रे भएका उनको बलियो राजनीतिक पहुँच छैन।

पेट्रोलपम्प सञ्चालकहरू महर्जन, वादे, प्रधान, खड्का, बखाडेया, घिमिरे र तिमल्सिनालाई महानगरीय अपराध महाशाखाले अनियमितताको आरोपमा ६ मंसीरमा पेट्रोलियम ठगीको आरोपमा पक्राउ गर्‍यो। त्यही दिन पक्राउ परेका हेमविक्रम मल्लमाथि पेट्रोलियम व्यवस्थापनमा अवैध तरीका अपनाएको आरोप छ। उनी नेपाल आयल निगमको थानकोट डिपोसँग सहकार्य गर्न नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले खटाएका प्रतिनिधि हुन्। पेट्रोलियम पदार्थ ठगी गरेको प्रमाण फेला परेका राजधानी आयल स्टोर (गोपीकृष्ण) का सञ्चालकद्वय बुद्धरत्न महर्जन र दीपक थपलिया फरार छन्। त्यसैगरी, न्यू पुष्पाञ्जली आयल टे्रडर्स (जयवागेश्वरी) का सञ्चालक अमिर लामा, पूजाकोठी आयल स्टोर्स (नयाँ बसपार्क) का राजीव शर्मा, दिव्या सप्लायर्स (सामाखुशी) का तिलक श्रेष्ठ, प्रविन आयल स्टोर्स (गट्ठाघर) का प्रविन श्रेष्ठ र कामाख्या आयल स्टोर (जडीबुटी) का सञ्चालक वासुदेव दाहाल पनि फरार छन्।

ठगीका सूत्रधार विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साह (बायाँ) र थानकोट डिपो प्रमुख रविन शर्मा।
पक्राउ परेका पम्प सञ्चालकहरूलाई छुटाउन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको नेतृत्व राजनीतिक पहुँच परिचालनमा लागिपरेको प्रहरी स्रोत बताउँछ। स्रोतका अनुसार, थानकोट डिपो प्रमुख रविन शर्मा र गुणस्तर तथा नापतौल नियन्त्रण विभागका पूर्व प्रमुख (हाल विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव) रामआधार साह पक्राउ परेपछि एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान र महासचिव विश्व अर्यालले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालसँग दुई घण्टा कुरा गरेका थिए। एसोसिएसनका अध्यक्ष प्रधान कांग्रेसको काठमाडौं क्षेत्र नम्बर १ का उपसभापति र धादिङका अर्याल महाधिवेशन प्रतिनिधि हुन्। कांग्रेसका प्रभावशाली नेताहरूसँग दुवैको राम्रो सम्बन्ध छ। तर, प्रहरीले पक्राउ गरेको तीन दिनभित्रै शर्मा र साहको मुद्दा अदालतमा पेश गरेको थियो। “शर्मा र साह पक्राउ परेको भोलिपल्ट महाशाखा प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छलफल गर्न बोलाएको थियो”, प्रहरी स्रोत भन्छ।

फरारमध्ये थपलिया पेट्रोल पम्पमा तेल हाल्ने काम गरेर व्यवसायी बनेका हुन् भने महर्जनको सुन्धारामा प्रिन्टिङ प्रेस पनि छ। राजनीतिक पहुँच भएका लामाले ३० पुस २०७० मा पम्प अनुगमन गर्न आएको गुणस्तर तथा नापतौल विभागको टोलीलाई फर्काइदिएका थिए। पेट्रोलियम व्यवसायीहरूका अनुसार, उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार लामाका शक्ति हुन्। त्यस्तै, शर्मा कांग्रेस नेता निकट व्यवसायी हुन् भने तिलक श्रेष्ठ चल्तापुर्जा पेट्रोलियम व्यवसायी दाहालका साझेदार हुन्। दाहाल ट्यांकर चालकबाट पम्प सञ्चालक बनेका हुन्। व्यवसायीहरूले फरारमध्येका प्रविन श्रेष्ठका दाजु नवीनचन्द्र पूर्व उद्योगमन्त्री महेश बस्नेतका 'खास मान्छे' भनेर चिन्ने गरेका छन्। नवीनचन्द्र श्रेष्ठ पेट्रोलियम डिलर्स एसोसिएसनको पछिल्लो अधिवेशनमा अध्यक्षका प्रत्यासी थिए। महानगरीय प्रहरी अपराध महाशाखाले समातिएका सबै पम्प सञ्चालक र पाँच जना मिस्त्रीको मुद्दा अदालत पुर्‍याएको छ।

पक्राउ परेका र फरार सबै पम्प सञ्चालक राजनीतिक पहुँच भएका चल्तापुर्जा व्यवसायी भएको निगमका अधिकारीहरू बताउँछन्। त्यही राजनीतिक पहुँच र संरक्षणमा उनीहरूले अहिलेसम्म कारोबार गर्दै आएका थिए। भारतीय नाकाबन्दी पछिको ठगी र कालोबजारीले प्रहरीलाई उनीहरूमाथि हात हाल्ने मौका दिएको थियो।

ठग्नलाई व्यवसाय

भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव चर्किएको यो पटक उपभोक्ता ठगी कति बढेको छ भने १० मंसीरमा रूपन्देहीस्थित नेपाल आयल निगमकै पम्पले दुई वटा गियर राखेको फेला पर्‍यो। अहिलेसम्म १४ वटा पेट्रोल पम्पले उपकरण राखेर ठगेको फेला परेको छ। कुल आवश्यकताको १५ प्रतिशत मात्र पेट्रोलियम आइरहेको र त्यसमध्ये पनि ९९ प्रतिशत सरकारी पम्पलाई दिइएकोले आफूहरूले नठगी नहुने व्यवसायीहरू हाकाहाकी बताउँछन्। पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रधान भन्छन्, “पेट्रोलियम बेचेर पम्पहरू धानिने अवस्था छँदै छैन।”

एकातर्फ पम्प खोल्न अनुमति माग्ने, अर्कातर्फ ठग्न बाध्य बनाइयो पनि भन्ने कुरा युक्तिसंगत भएन।

मुकुन्दप्रसाद घिमिरे

प्रवक्ता, नेपाल आयल निगम

आयल निगमले आवश्यकताभन्दा धेरै पम्प खोल्न दिएको तर, 'बिजिनेस' दिन नसकेको व्यवसायीहरू बताउँछन्। उनीहरू यो अवस्थामा पम्पहरू उपभोक्ता ठगेरै धानिएको आयल निगम र आपूर्ति मन्त्रालयदेखि उपभोक्ता अधिकारकर्मीसम्मलार्ई थाहा भएको बताउँछन्। पेट्रोलियम व्यवसायलाई व्यवस्थित बनाउन भीम आचार्यको संयोजकत्वमा २०६८ मा गठित उच्चस्तरीय समितिलाई १० लीटर पेट्रोलियम बेच्दा आधा लीटर ठग्ने गरेको खुलेरै बताएका थिए। “पम्पले बिक्री गरेको तेलको परिमाण हेर्दा ठगीको मात्रा स्वतः थाहा हुन्छ”, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, “नियामकलाई नै कारबाही गरे मात्र समस्या हट्ने देखिन्छ।”

भाडामा लिएर ठगी

२०६५ कात्तिकमा आयल निगमले डिजल र मट्टीतेलको मूल्य एउटै बनाइदिएपछि सस्तो मट्टीतेल महँगो डिजलमा मिसाउने समस्या हट्यो। त्यसयताको अवधिमा मट्टीतेल खपत १९ करोड २५ लाख ७६ हजार लीटरबाट १ करोड ९६ लाख ५३ हजार लीटरमा झ्र्‍यो। तर, समान मूल्यको असर मात्रा र भाडामा देखिएको छ। पम्प संचालकहरूले कि तेलको मात्रा कम गरेर उपभोक्ता ठग्ने या पम्प नै भाडामा दिने गरेका छन्। काठमाडौंको नारायणटारस्थित न्यू लामा इन्टरप्राइजेज मासिक रु.३ लाख भाडामा दिएका राजकुमार लामा भाडामा लिनेले कसरी नाफा कमाएर भाडा तिर्छ भन्ने आफ्नो सरोकारको विषय नभएको बताउँछन्। काठमाडौंमा ९७ मध्ये १८ वटाभन्दा बढी र बाहिर १९५ भन्दा बढी पम्प भाडामा छन्।

संघका पदाधिकारीहरू पछिल्लो समय घाटामा रहेका पम्प भाडामा सञ्चालन गर्ने विकृति बढेको बताउँछन्। मञ्चका अध्यक्ष महर्जन ६/७ वर्षअघि पम्पमा उपकरण प्रयोग गरी उपभोक्तालाई ठग्ने र पम्प भाडामा लगाउने चलन आएपछि आफूहरूले आवाज उठाए पनि प्रशासनले वास्तै नगरेको बताउँछन्।

आयल निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरे २०६९ वैशाखबाटै शहरी क्षेत्रमा पम्प खोल्ने अनुमतिपत्र दिन बन्द भए पनि दिनहुँ जसो आवेदन परिरहेको बताउँछन्। एकातर्फ पम्प खोल्न अनुमति चाहियो भन्ने, अर्कोतर्फ ठग्न बाध्य बनाइयो पनि भन्ने कुरा युक्तिसंगत नभएको उनको भनाइ छ। उनी भन्छन्, “प्रणालीगत त्रुटिका कारण समस्या देखिएको हो।”

गियर र मिटरको खेल

गियरबाट चल्ने पुरानो प्रविधि म्यानुअलको मिटरमा गियर थपेर अनि आधुनिक डिजिटल मिटरमा रिमोट कन्ट्रोलबाट ठग्ने गरिन्छ। भारतीय नाकाबन्दीयता १४ वटा डिजिटल र एउटा म्यानुअल मिटरमा कैफियत गरिएको प्रहरीले फेला पारेको छ। प्रवाह हुने गतिले निकाल्ने 'पल्स' का आधारमा पेट्रोलियम पदार्थको मात्रा मापन गर्ने डिजिटल मिटरमा ठग्नेले रिमोटले चल्ने उपकरण जडान गर्छ। रिमोटले पल्सर भनिने उपकरणको सहयोगले पेट्रोलियमभन्दा त्यसको प्रवाहको गतिले पैदा गर्ने पल्स कृत्रिम रूपमा बढाइदिएर डिजिटल मिटरमा बढी मापन गराउँछ।

नापतौल तथा गुणस्तर नियन्त्रण विभागका प्राविधिक राकेश झाका अनुसार, म्यानुअल पम्पको मिटरमा जडान गरिएको अतिरिक्त गियरले मोटरसाइकलको गियरले जस्तै काम गर्छ। मोटरसाइकलको गियर परिवर्तन गर्दा चक्काको घुम्ने गति बढे जस्तै पम्पको अतिरिक्त गियरले तेल गएको भन्दा मिटर धेरै घुमाइदिन्छ। प्रहरीको अनुगमनले भने म्यानुअलभन्दा डिजिटल मिटरबाट बढी ठगी भइरहेको देखाउँछ।

comments powered by Disqus

रमझम