राष्ट्रपति भण्डारी कुनै राजनीतिक कार्यक्रममा भाग लिन नेतृका रूपमा जनकपुर गएकी थिइनन्। उनको दलीय भूमिका नै विगत बनिसक्यो। अहिले उनी राष्ट्राध्यक्ष हुन् र एउटी नारी पनि। मिथिलाञ्चलको महत्वपूर्ण धार्मिक–सांस्कृतिक कार्यक्रम जनकपुत्री जानकीको विवाह महोत्सवको गरिमा र महत्वलाई सम्मान गर्न उनी राष्ट्राध्यक्षको रूपमा त्यहाँ पुगेकी थिइन्।
घृणाको अपसंस्कृति
मधेशकेन्द्रित दलहरूले प्रोत्साहित गरेको ध्वंस, घृणा र विखण्डनको राजनीतिले गर्दा जानकी भूमिमा राष्ट्राध्यक्षको मात्र होइन, एउटी नारीको समेत अपमान भयो। महिला र बालबालिका विरुद्ध प्रहार नगर्ने विश्वव्यापी प्रचलन विरुद्ध एउटी नारीमाथि समेत ढुंगामुढा गरेर मधेशकेन्द्रित दलका नेता–कार्यकर्ताले जनकपुरकै सांस्कृतिक परम्पराको उल्लंघन र अपमान गरेका छन्। विडम्बना! जनकपुरका बुद्धिजीवी, नागरिक समाज, संस्कृतिकर्मी र सचेत समुदायबाट यस्तो लज्जाजनक कार्यको आलोचना अहिलेसम्म भएको छैन। लाग्छ, मधेशमा क्षेत्रीय स्वार्थ र साम्प्रदायिकताले विवेकको आँखामा पट्टी बाँधिसक्यो।
मधेशी नेताहरूले तराईका कतिपय जनतालाई संविधानको विरुद्धमा नचाहिने कुरा गरेर भड्काए। अनेकौं अफवाह फैलाएर उनीहरुले मान्छेहरूलाई भ्रममा पारे, उत्तेजित बनाए। त्यस्ता भ्रम, अफवाह र उत्तेजना बुझदै गएकाहरू आन्दोलनबाट पन्छँदै गए, तर एउटा ठूलै पंक्तिले संविधानबारे अझै बुझन पाएको छैन। त्यस्तो पंक्ति अझ्ै अन्योलमै छ भने मधेशी नेता–कार्यकर्ताहरू इन्धन र अन्य अत्यावश्यकीय वस्तुहरूको तस्करी र कालोबजारीमा लागेर करोडौं कुम्ल्याइरहेका छन्। आफ्ना कर्तुतहरू छापिन थालेपछि मधेशकेन्द्रित दलका कार्यकर्ताहरूले पसल वा सडकबाटै अखबारका बिटा लुटेर लैजान थालेका छन्।
तराई–मधेशमा मधेशी नेताहरू संविधानबारे सार्वजनिक छलफल चलाउनै चाहँदैनन्। संविधानबारे बहस गर्न चाहनेहरूलाई आतंकित पार्ने र आक्रमण गर्ने उनीहरूका व्यवहारले जमीनदारी शैलीलाई देखाइरहेको छ। लोकतन्त्रमा विश्वास गर्ने तराई–मधेशका सचेत मानिसहरूले यस्तो सामन्ती शैली विरुद्ध आवाज उठाउनै पर्छ। मधेशी नेताहरूले चलाइरहेको आन्दोलन तराई–मधेशका ५–६ जिल्लामा सीमित छ भने देशको ठूलो जनमत आन्दोलनको विपक्षमा देखापरेको छ। देशको जुनसुकै भूभागका कुनै पनि जातिका मान्छेहरू तराई–मधेशका जनताले बराबरी हक पाउनुपर्छ भन्ने पक्षमा छन्, तर आफ्नै देशको सीमा नाकामा गएर भारतलाई नाकाबन्दी लगाउन सहयोग गर्ने आन्दोलनको विपक्षमा छन्। विदेशी बन्धनमा बाँधिएका कतिपय मधेशी नेताहरूले यो कुरा बुझन नचाहे पनि तराई–मधेशका जनताले यो कुरा बुझनैपर्छ।
तराई–मधेशमा सामन्तवाद नेपालका अन्य भूभागमा भन्दा बलियो छ। भौगोलिक रूपले सुगम भए पनि जमीनदार र शोषकहरूका कारण तराईका गरीब, पिछडिएका, दलित र महिला अधिकारविहीन छन्। उनीहरूको नाममा लूट मच्चाएर तिनलाई नै शोषण गर्ने मधेशकेन्द्रित दलकै नेताहरू हुन्। गरीबलाई दमन गर्ने र नारीलाई पछाडि पार्ने जमीनदार र सामन्तहरूको शैली मधेशकेन्द्रित दलका नेता–कार्यकर्ताले देखाएकै कारण सीताको जन्मभूमिमा राष्ट्रपतिमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको हो। यो घटना अपसंस्कृतिको एउटा उदाहरण हो।
नेतृत्वविहीन आन्दोलनकारी
तराई–मधेशको आन्दोलन अहिले कसको नियन्त्रणमा छ, कसैले भन्न सक्दैन। संयुक्त मधेशी मोर्चाले आन्दोलन आफ्नो नेतृत्वमा भएको दाबी गरे पनि अन्य विभिन्न मोर्चा र प्रवृत्तिहरू समेत देखापरेका छन्। हिजो उग्र र झूटा कुराहरू गरेकाले मोर्चाका नेताहरू आज अनेकौं अप्ठ्यारामा छन्। हुने नहुने माग अगाडि सारेर आन्दोलन गरेका उनीहरु आज संविधानमा भएका कुराहरु बाहिर आउन थालेपछि बोल्न नसक्ने अवस्थामा पुगेका छन्। आन्दोलनमा सामेल भएका कार्यकर्ताहरू पनि निराश हुन थालेका छन्।
मधेशी नेताहरू अब आन्दोलनलाई कसरी सम्मानजनक ढंगले टुंग्याउने भनेर सोचमग्न हुनुपर्छ। विदेशी धाप र तापमा शुरू गरेको आन्दोलनले देशसँगै मधेशी जनतालाई चरम कष्टमा पारेको तथ्य उनीहरूले मनन् गर्नैपर्छ। नयाँ नागरिकताधारीहरुले यो कुरा नबुझलान्, तर पुस्तौं पुस्ताबाट तराई–मधेशमा बस्दै आएका जनताले बुझनुपर्छ– अहिलेका मधेशी नेताहरूले असली जनताको भलो गर्न सक्दैनन्। पटक–पटक सत्तामा बसेका र जनताले चुनावमा हराएर त्यो मौका नदिएपछि आन्दोलनमा आएका अहिलेका नेताहरूबाट आफू पोसिने सिवाय अरू कुनै काम हुँदैन।
पहाडसँग अभिन्न रूपले गाँसिएको तराई–मधेशमा रैथाने थारू, पहाडी जाति, जनजाति, राजवंशी, धिमाल, सतार, झँगड आदि छन्। उल्लेख्य संख्यामा मुस्लिम पनि छन् र छन् अनेक भाषा–संस्कृति। नेपालको मधेश र पहाड भूगोलसँगै धार्मिक, सांस्कृतिक र भावनात्मक रूपले अभिन्न छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दियादेखि नवलपरासी, रूपन्देही र चितवनसम्मको भूमि पहाडसँग अटुट आर्थिक, सांस्कृतिक र भावनात्मक सम्बन्धमा छन्। पूर्वका झ्ापा, मोरङ र सुनसरी पनि इलाम, तेह्रथुम, धनकुटालगायत पहाडी जिल्लासँग त्यसरी नै गाँसिएको छ। कसैले भन्दैमा तराई र पहाडलाई अलग्याउन सकिंदैन।
वास्तवमा तराईमै सीमित रहेकाहरूले पहाड र हिमाल उक्लिनु र हिमाल पहाडमा बस्नेले बारम्बार तराईमा र्झ्नु आवश्यक छ। तराई हिंडेर मात्र नेपाल बुझ्िंदैन न त हिमाल–पहाड चहारेर मात्र नेपाल बुझिन्छ। नेपाल बुझन त हिमाल, पहाड र तराईलाई समग्रमा बुझनुपर्छ। यो काम अहिलेको मधेशी मोर्चाका नेताहरूले गर्न सक्दैनन् र चाहँदैनन्। सुविधा, भत्ता र इशारा अनुसार गोटी बन्न लालायित हुनेहरूले देशको चाहना बुझन पनि सक्दैनन्।
तराई–मधेशको भावनालाई पुस्तौंदेखि त्यही माटोमा आफ्नो पसिना भिजाएकाले मात्र बुझन र आत्मसात् गर्न सक्छन्। उनीहरू तराई मधेशको राजनीतिक नेतृत्वमा उदाएपछि मात्र सिंगै देशलाई बोक्न सक्ने 'मधेशी' नेता नेपालले पाउन सक्ला। तराई–मधेशको मात्र वा पहाड वा हिमालको कुरा गर्ने देशको नेता बन्न सक्दैन।
जनकपुरमा राष्ट्रपतिलाई ढुंगा हान्नेहरूले बुझनुपर्छ– घृणाले घृणा बढाउँछ, द्वेषले द्वेष। त्यसैले, राजनीति सिद्धान्त, विचार र नीतिमा आधारित हुनुपर्छ, घृणा र द्वेष बढाउने ढुंगामुढाको रणनीतिमा हैन।