५-११ पुस २०७२ | 20-26 December 2015

नयाँ शक्ति अर्थात् खोटा सिक्का

Share:
  
- शेखर खरेल
बाबुराम भट्टराईको नयाँ शक्ति उद्योगको बजार रणनीति जस्तै हो, जहाँ ग्राहकलाई भ्रम छर्न पुरानै उत्पादन नयाँ जलपमा बजार पठाइन्छ।

भानु भट्टराई
हिन्दीमा एउटा उखान प्रचलित छ, 'मुठ्ठी बन्द तो लाख, मुठ्ठी खुली तो राख', अर्थात् मुठ्ठी बन्द रहुन्जेल लाख, खुलेपछि खरानी। यो उक्ति बाबुराम भट्टराईको 'नयाँ शक्ति' को हकमा दुरुस्त लाग्छ। भट्टराईको पार्टी छोड्ने बारम्बारको घुर्की र धम्कीको श्रृंखला अन्ततः एमाओवादी पार्टीको बहिर्गमनसँगै टुङ्गियो। तर, उनको नयाँ शक्तिले राजनीतिक वृत्तमा कुनै उभार ल्याउन सकेको छैन।

भट्टराईको नयाँ शक्तिले समर्थन जुटाउन नसक्नुमा मुख्यतः दुई कारण छन्। पहिलो, उग्रपन्थी साम्यवादी पृष्ठभूमिका उनी लोकतन्त्रवादी होइनन्। १७ हजार नेपालीको हत्या गरेको 'माओवादी जनयुद्ध' का मुख्य परिकल्पनाकारमध्ये उनी एक हुन्। औपचारिक शिक्षाले आर्किटेक्ट उनी यथार्थमा नेपाल एकीकरणयताको सबैभन्दा भयानक नरसंहारका प्रमुख आर्किटेक्ट हुन्। संविधानसभालाई सशस्त्र द्वन्द्वताका सहमतिको बटमलाइन बनाउने भट्टराई आफैंले हस्ताक्षर गरेको संविधानको अपनत्व अस्वीकार मात्र गरेनन्, संविधान जलाएर हात सेक्ने समूहसँग कुम मिलाउन पुगे।

दोस्रो कारण चाहिं, भट्टराई राष्ट्रवादीका नेता पनि होइनन्। बरु, भट्टराई पहिल्यै माउ पार्टीबाट अलग्गिएका मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द आदिको राष्ट्रवादी धार निष्कलंक देखिन्छ। माओवादी सशस्त्र द्वन्द्वको समयमा समेत यो समूहले राष्ट्रियताको सवालमा सम्झ्ौता गरेको देखिएन। भारतले मोहन वैद्य, सीपी गजुरेल आदिलाई मात्र छानीछानी गिरफ्तार गर्नु संयोग मात्र थिएन। त्यसैले पनि नयाँ शक्तिले भन्दा यी नेताकै समूहले प्रखर राष्ट्रवादीधारको प्रतिनिधित्व गर्न सक्छ।

लोकतन्त्र र राष्ट्रवादी धारमा अटाउन नसकेको भट्टराईको नयाँ शक्तिलाई एउटा समूहले भने रातो कार्पेट ओछ्याएको छ। पहिचानको नाममा राजनीति गर्ने समूहसँग नयाँ शक्तिको बृहत् मोर्चाबन्दी हुने सम्भावना देखिन्छ। सशस्त्र द्वन्द्वको ज्वार उकास्न भट्टराईले नै जातीय राज्यको नाममा मधेशी र जनजातिलाई पाइन हालेका थिए। उनले रोपेको पहिचानवादी जातीय राज्यको आगोले अहिले मुलुकलाई नराम्ररी लपेटेको छ। हिजो पहिचानको आधारमा राज्य माग्नेहरू आज हाकाहाकी राष्ट्र विखण्डनको धम्की दिइरहेका छन्। तर, भट्टराई यी समूहसँगै मोर्चाबन्दी गर्न उन्मुख छ।

लोकरिझयाइँ भट्टराईको मूल चरित्र हो। त्यसैले पनि उनको नयाँ शक्तिमा 'फेस भ्यालु' रहेका नागरिक अगुवाको साथ देखिएको छैन। उनको शक्तिमा साथ दिने तथाकथित अगुवाहरू भारतको नाकाबन्दीलाई नाकाबन्दी मान्नै तयार छैनन्, मधेशी संकटको मध्यस्थतामा भारत गुहारिरहेका छन्। वास्तविकता के छ भने उनलाई उनकै गूटका भनिएका एमाओवादीका नेता, कार्यकर्ताले पनि पत्याएनन्। उनको बहिर्गमनले एमाओवादीको हैसियतमा कुनै असर पुगेको देखिंदैन।

बाबुराम भट्टराईले प्रचलनमा ल्याएका सिक्काहरू अहिले खोटा परिसकेका छन्। उनको विद्वत्तासँग जोडिएको मिथ विनिर्माण भइसकेको छ। सुशासन र सदाचार पनि परीक्षित भइसकेको छ। कुनै नयाँ तत्व विनाको नयाँ शक्ति केवल शब्दहरूको जलप हो, जसरी खोटा सिक्का चलाउन तत्क्षणका लागि चम्काउने उपक्रम गरिन्छ। उनको नयाँ शक्ति बहुराष्ट्रिय कम्पनीको बजार रणनीति जस्तो देखिन्छ। जसले उही तत्वमा एउटै उत्पादनलाई विभिन्न नाम र रूपको लेप दिइरहन्छन्। र, 'न्यू', 'एडभान्स्' र 'इम्प्रुभ्ड' लेवल टाँस्छन्।

comments powered by Disqus

रमझम