सुनसरीमा सघन धानखेती प्रणाली (सिस्टम अफ राइस इन्टेन्सिफिकेशन– एसआरआई) भित्र्याएको विराटनगरस्थित नेपाल कृषि कम्पनी पनि यन्त्र प्रयोगबाट ठाउँ अनुसार ४० देखि ५६ प्रतिशतसम्म उत्पादन बढेपछि अब खेतीलाई 'डिजिटल म्यानेजमेन्ट सिस्टम' मा व्यवस्थित गर्न जुटेको छ।
तनमुना–५ को सम्झ्ना कृषि सहकारीका अध्यक्ष नागेश्वर माझी मेशीन प्रयोग गर्न हिच्किचाएका किसान अहिले धानको उब्जनी देखेर उत्साहित भएको बताउँछन्। अब एक हजार बिघामा मेशीन प्रयोग गर्ने तयारी भएको उनले बताए। नेपाल कृषि कम्पनीका प्रबन्धक डा. विवेकानन्द झा एक बिघामा यान्त्रिक प्रणालीबाट मन्सुली धान रोप्दा राधाबारा र सुवर्णा १४० मनसम्म फलेको बताउँछन्। उनका अनुसार, परम्परागत तरीकाबाट रोप्दा एक बिघामा सरदर ७५ मनसम्म राधाबारा र सुवर्णा फल्छ।
कम्पनीले सहुलियत ऋणसँगै उपलब्ध गराएको धान रोप्ने, गोड्ने र काट्ने मेशीनले सुनसरीका तनमुना, छिटाहा, सतर झोडा, भलुवा, पचिरा गरी पाँच गाविसका ४०० परिवारका किसानमा उत्साह ल्याएको छ। कम्पनीले एक गाविसका पाँच महिलालाई धानको बीउ उत्पादनदेखि कटाइसम्मको तालीम पनि दिएको छ।
कृषिमा फड्को
२०६४ सालमा मोरङको गोकुवाबाट कृषिमा आधुनिकीकरण अभियान थालेको नेपाल कृषि कम्पनी सुनसरीमा पनि परीक्षण सफल भएपछि अब खेती प्रणालीलाई 'डिजिटल म्यानेजमेन्ट सिस्टम' मा लैजाने योजनामा पुगेको छ। कम्पनीले सुनसरीमा पहिलो चरणमा तनमुना, छिटाहा, सतर झोडा गरी तीन गाविसमा यो नमूना कार्यक्रम गर्दैछ। यसअघि तनमुनाको सम्झ्ना कृषि सहकारी र औरावनीको सामूहिक कृषि सहकारीमा आबद्ध किसानको ६५० बिघा खेतको यान्त्रिक व्यवस्थापनसँगै ५० बिघामा आफैं परीक्षण खेती गरेको थियो।
बुद्ध एअरको 'कर्पोरेट सोसल रेस्पोन्सिविलिटी' अन्तर्गतको लगानीबाट स्थापित यो कम्पनी एक हजार बिघाको सम्पूर्ण प्रक्रियाको कम्प्युटर डाटावेश तयार गर्न लागेको छ। बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत फागुन–चैतसम्ममा सिस्टम तयार पारेर देशभरलाई हुने मोडल प्रस्तुत गर्ने बताउँछन्। “प्रति हेक्टर चार टन धान फल्ने ठाउँमा हामी सात टन फलाउन सफल भयौं”, सुनसरीमा ६५० बिघा जमीनको यान्त्रीकृत खेती व्यवस्थापन सफल भएपछि उत्साहित बनेका बस्नेत भन्छन्, “अब खेतीको यही मोडललाई 'डिजिटल म्यानेजमेन्ट सिस्टम' मा ढाल्ने हो।”
आगामी चैतबाट शुरू हुने एक हजार बिघा सामूहिक खेतीको नतीजा आएपछि २०७३ भदौबाट यो मोडललाई अन्य क्षेत्रमा लगिने बस्नेतले बताए। (हे. बक्स) एक हजार बिघामा खेती गर्दा सहकारी व्यवस्थापन, कृषि यन्त्र र रोपाइँदेखि बाली उठाउँदासम्म करीब रु.६ करोड कारोबार हुन्छ, जसमा रु.३ करोड नाफा हुन्छ। किसान आफैं सहकारीमा आबद्ध हुने भएकाले रु.३ करोड नाफा उनीहरूकै हुन्छ। सुनसरीको तनमुना, छिटाहा, सतर झोडामा सामूहिक खेतीका लागि तयार एक हजार बिघा जमीन ३०० किसानको हो।
बुद्ध एअरका प्रबन्ध निर्देशक बस्नेतका अनुसार, रु.६ करोडको कारोबारमा रु.३ करोडसम्म नाफा हुँदा सहकारी दुई वर्षमै आत्मनिर्भर बन्छ। 'डिजिटल म्यानेजमेन्ट सिस्टम' तयार भएपछि सरकार र विदेशी लगानीकर्ता समक्ष जाने कम्पनीको योजना छ। त्यसरी यो मोडललाई मेची–महाकालीका तराईमा एक साथ लागू गरे नेपाली कृषिमा कायापलट हुने बस्नेत बताउँछन्। “झापा, मोरङ र सुनसरीमा मात्र करीब सात लाख बिघा खेत छ”, बस्नेत भन्छन्, “यो मोडलमा जाँदा यी तीन जिल्लामै १८ लाख टन धान फल्छ।”
धानको अर्थशास्त्र
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३४ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा धानको हिस्सा २१ प्रतिशत छ भने कुल उपभोगमा ५० प्रतिशतभन्दा बढी। मुलुकमा वार्षिक रु.१ खर्बको धान उत्पादन हुने गरे पनि आधुनिक कृषि हुनसकेको छैन। कृषि र सिंचाइमा भइरहेको वार्षिक रु.३५ अर्ब खर्चको प्रतिफल सोचे जस्तो छैन। वर्षमा करीब रु.२५ अर्बको चामल आयात गर्नुपरेको छ गत आर्थिक वर्षमा ९ लाख टन चामल अपुग भएकोमा चालु आवमा करीब ७ लाख टन अपुग हुने अनुमान छ।
खाद्यान्नमा आत्मनिर्भर हुन कृषिमा यान्त्रीकरण आवश्यक छ। राष्ट्रिय धान दिवस मनाउने क्रममा सरकारले पनि गत वर्षबाट 'धानखेतीमा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनीकरण' भन्ने नारा अघि सारेको छ। देशमा खाद्य सुरक्षाका लागि पनि धान खेतीमा यान्त्रिकीकरण आवश्यक भएको छ। (हे. धानमा ध्यान) यसमा नेपाल कृषि कम्पनी जस्ता निजी संस्थाले थालेको परिणाममुखी कामलाई सरकारले प्रोत्साहन गर्न जरूरी छ।
**किसानलाई धनी बनाउँछौं **
वीरेन्द्रबहादुर बस्नेत
प्रबन्ध निर्देशक, बुद्ध एअर
सहकारीमार्फत यान्त्रिक खेती थालेपछि किसानले अरु पनि व्यवसाय गरेर आय बढाउने समय पाउने छन्। एक बिघा जग्गामा परम्परागत खेती गर्दा हुने आम्दानीमा सबै खर्च कटाउँदा रु.२ हजारदेखि रु.५ हजारसम्म बचत हुने गरेकोमा यान्त्रीकरणबाट रु.४० हजारसम्म बचत हुँदोरहेछ। हामीसँग काम गरेका किसानले प्रतिहेक्टर चार टन धान फल्ने खेतमा सात टन फलाउन सकेका छन्।
आउँदो चैतसम्ममा खेती, मल, बीउ, चालू पूँजी, मेशीन, खर्च, उत्पादन, आम्दानी आदि सबै तथ्य समेटेर कृषि प्रणालीको डाटाबेस तयार गर्दैछौं। त्यो मोडल तयार भएपछि जुनसुकै भागमा सहकारीमार्फत एउटै प्रणालीमा खेती गर्न सकिन्छ। नेपालभरका सबै खेती यसरी संगठित रुपमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। देशको कृषि क्षेत्रमा केही योगदान पुगोस् भनेर यो काम गर्न खोजेका हौं। मोडल तयार भएपछि हामी सरकार र दाताहरूलाई यो मोडलमा जान अनुरोध गर्नेछौं।
हामी चाहन्छौं, आउँदो तीन वर्षभित्रै देशभर यो मोडलको लहर चलोस्। मेचीदेखि महाकालीम्मका जमीनमा यो मोडलमा खेती होस् र सबै किसान धनी बनुन्। किसान धनी भए देश आफैं धनी बन्छ। यो मोडलपछि हामी किसानलाई गोबरग्याँस प्रयोग, तरकारी खेती, कुखुरा र पशुपालनलगायतका अन्य व्यवसायमा अघि बढाउने योजनामा छौं।