५-११ पुस २०७२ | 20-26 December 2015

क्यान्सर पनि हुनसक्छ

Share:
  
- डा. सुमनराज ताम्राकार
पाठेघरको दुवैतिर डिम्ब (अण्डा) उत्पादन गर्ने अङ्ग डिम्बाशयमा पानी भरिएर बन्ने डल्लो (ट्युमर) ले क्यान्सरको रूप पनि लिन सक्छ।

महिलाको डिम्बाशयमा फोलिकुलर सिष्ट, कर्पस ल्युटियल सिष्ट, ल्युटिन सिष्ट, इन्डोमेटि्रयल सिष्ट, पोलिसिष्टिक ओभारियन सिण्ड्रोम र साधारण (नन–नियोप्लास्टिक) सिष्ट हुन सक्छ। नन–नियोप्लास्टिक ट्युमरहरू बाहेक स्त्री रोग विभागमा भर्ना हुनेमध्ये करीब ३ प्रतिशत महिलामा बिनाइन खालको डिम्बाशयको सिष्ट (ट्युमर) हुने गरेको छ। डिम्बाशयको विभिन्न कोषबाट उत्पन्न हुने बिनाइन ट्युमरमध्ये ७५ प्रतिशत आफैंमा खतरनाक होइन। तर पनि महिलाहरूले नियमित परीक्षण र कुनै प्रकारको ट्युमर भएकाहरूले 'फलोअप' मा रहनु बुद्धिमानी हुन्छ।

डिम्बाशयको जर्म कोषबाट शुरू हुने डर्मोइड बढी जसोमा देखिने ट्युमर हो। डिम्बाशयको ट्युमरमध्ये १५ देखि २० प्रतिशतमा यस्तो समस्या हुन्छ। पाठेघरको दुवैतिर यस्तो समस्या भएकामध्ये करीब २ प्रतिशत महिलाको ट्युमर पछि गएर क्यान्सरमा परिणत हुन सक्छ। यस्ता खाले ट्युमरभित्र जर्म कोषबाट बन्ने सबै प्रकारका तन्तुहरू दाँत, कपाल, पसिना र सिबासियस ग्रन्थीसहित छाला तथा केन्द्रीय स्नायु प्रणालीका तन्तुका साथै यस भित्र रक्तश्राव पनि हुन सक्छ।

डिम्बाशयमा उर्वर उमेरको अन्त्यतिर ट्युमर हुने भए पनि डर्मोइड र म्युसिनस सिष्ट बच्चा पाउने उमेर समूहका महिलामा बढ्ता हुन्छ। त्यसैले यस उमेर समूहमा हुने डिम्बाशयको ट्युमरमध्ये २० देखि ४० प्रतिशतमा डर्मोइड सिष्ट हुन्छ। डिम्बाशयमा ट्युमर हुने प्रायः महिलालाई शुरूमा माथिल्लो पेट दुख्ने, वाक्वाकी लाग्ने, बान्ता आउने, खान मन नलाग्ने आदि हुनसक्छ र परीक्षणको क्रममा तल्लो पेटमा डल्लो भेटिन सक्छ। हर्मोन उत्पादन हुने खालको डिम्बाशयको ट्युमरमा महीनावारी गडबडी हुने हुन्छ। शरीरबाट प्रोटिन नष्ट हुनाले दुब्लाउने तथा गोडा सुन्निने हुन सक्छ।

विना कुनै लक्षण तल्लो पेटमा डल्लो आउनुको कारण खुट्याउने क्रममा अल्ट्रासाउण्ड गर्दा वा ल्याप्रोस्कोपी अपरेशनको समयमा यस्तो समस्या पत्ता लाग्छ। अल्ट्रासाउण्डबाट क्यान्सर हुने खालको वा सामान्य ट्युमर छुट्याउन सकिन्छ। पहिचान र उपचारको लागि ल्याप्रोस्कोपी प्रविधि बढ्ता उपयोगी हुन्छ।

डिम्बाशयको ट्युमरको जरा बटारिने, यसभित्र रक्तश्राव हुने, संक्रमण हुने, फुट्ने, क्यान्सरमा परिणत हुने जस्ता जटिलता उत्पन्न हुनसक्छ। डिम्बाशयका ट्युमरमध्ये डर्मोइड सिष्ट एवं सिरस सिष्ट एडेनोमामा बढ्ता जटिलता उत्पन्न हुनसक्छ। क्यान्सरमा परिणत हुने जटिलता गम्भीर प्रकारको हो। सिरस सिष्ट ४० प्रतिशतसम्म, म्युसिनस सिष्ट ५ देखि १० प्रतिशत र डर्मोइड १ देखि २ प्रतिशत क्यान्सरमा परिणत हुनसक्छ।

जुनसुकै किसिमको भए पनि डिम्बाशयको ट्युमर पत्ता लाग्नासाथ जति सक्दो चाँडो शल्यक्रिया गराउनुपर्छ। ८ सेमी भन्दा ठूलो वा कडा खालको (ठोस पदार्थ भएको) डिम्बाशयको सिष्टलाई पनि शल्यक्रिया चाहिन्छ। चकलेट सिष्ट फुट्यो भने आन्तरिक रक्तश्रावका कारण एक्कासी तल्लो पेट दुख्ने हुन्छ। यस्तो अवस्थामा आकस्मिक शल्यक्रियाको जरुरत पर्छ।

डिम्बाशयको प्रकृति, जटिलता, बिरामीको उमेर र बच्चा पाउने चाहनालाई विचार गरिकन सिष्ट मात्र निकाल्ने, एकातिरको डिम्बाशय नै निकाल्ने वा ४० वर्ष नाघेको भए पाठेघरसहित दुवैतर्फको डिम्बाशय निकाल्ने निर्णय गरिन्छ। साधारण र क्यान्सर खालको डिम्बाशयको ट्युमर बीच हुनसक्ने बोर्डरलाइन खालको डिम्बाशयको ट्युमरबाट प्रभावित कोषभित्र क्यान्सरमा जस्तै परिवर्तन देखा परे पनि प्रायः एकातिरको डिम्बाशयलाई मात्र असर गर्ने हुनाले कम डरलाग्दो हुन्छ। ट्युमरको प्रकृति थाहा पाउन अर्थात् पक्का क्यान्सर हो, होइन खुट्याउन शल्यक्रियापछि मासु जाँच गर्नुपर्छ।

डिम्बाशयमा खतरनाक खालको ट्युमर पलाउँदा सामान्य प्रकारका ट्युमरमा देखिने लक्षण चिन्हहरू नै विस्तृत रूपमा देखिन्छ। माथि उल्लिखित समस्या पटक–पटक देखा पर्दा विशेषज्ञ डाक्टरको सल्लाह मुताबिक रगतमा ट्युमर मार्कर (क्यान्सरको प्रकार अनुसार रगतमा देखिने विभिन्न खाले रासायनिक पदार्थ) हरूको परीक्षण एवं अल्ट्रासाउण्डको माध्यमबाट क्यान्सर पूर्वको अवस्था थाहा पाउन सकिन्छ। समयमै रोग पहिचान भए शल्यक्रिया वा केमोथेरापी गराउन मिल्ने हुन्छ।

comments powered by Disqus

रमझम