५-११ पुस २०७२ | 20-26 December 2015

ह्यांगर बार

Share:
  

इन्टरनेट तस्वीर
लुगाफाटा मात्रैले दराज भरिने भएपछि सुकेधारा, काठमाडौंकी रेणुका दाहाल (३२) ले 'ह्यांगर स्ट्यान्ड' किनिन्। पाँच वटा अंकुश भएको र उँचाइ बढाउन–घटाउन मिल्ने प्लास्टिकको ह्यांगरमा लुगा झुन्ड्याउन थालेपछि दराज सुग्घर देखिएको उनको अनुभव छ। “केटाकेटीका लुगा, गम्छा, कपडाका झोला आदि ह्यांगरमा सिउरिने गरेकी छु”, उनी भन्छिन्, “ह्यांगर नहुँदा सबै लत्ताकपडा कि दराजमै खाँद्नुपर्थ्यो कि कोठाभरि असरल्ल हुन्थे।”

रेणुकाले झै दैनिक लगाउनुपर्ने लुगा–कपडा सहजै झ्िाक्न–राख्न क्लोथ–ह्यांगर (लुगा झुन्ड्याउने आल्नो) को प्रयोग गर्न सकिन्छ। सफा र मैला लुगा अलग्गै राख्न पनि ह्यांगर उपयोगी हुन्छन्। इस्त्री गरिएका लुगा ह्यांगरमा झ्ाुन्ड्याएर राख्दा खुम्चिएर आकार बिग्रिने समस्या पनि हुँदैन।

छनोटका आधार

ढुंगा–माटोले बनाइएका घरमा दुईतिर भित्तामा काँटी ठोकी डोरी गाँसी लुगा झ्ाुन्ड्याउन सक्छन्। गाउँघरमा यस्तो चलन छ। खाँबोमा किला ठोकेपछि त्यसले पनि ह्यांगरको काम गर्छ। सिमेन्टको घरमा भने 'वाल ह्यांगर' ठोकेर त्यसमा लुगाफाटा झुन्ड्याउने गरिन्छ। “धेरैले ढोका पछाडि वाल ह्यांगर राख्ने गरेका छन्”, भिभिड इन्टेरियर डेकोरकी रूपा महर्जन भन्छिन्, “मैला लुगालाई ढोका पछाडि राख्दा नै राम्रो।”

दराजले ओगट्ने भन्दा थोरै ठाउँमा ह्यांगरले थुप्रै सुविधा दिन सक्छ। अहिले बजारमा एउटा मात्रै अंकुश (हुक) भएको वाल ह्यांगरदेखि १२ वटा अंकुश भएको 'ओभर द डोर ह्यांगर', ह्यांगर स्ट्यान्ड, क्लोथ बार, ट्यांक टप ह्यांगर आदि उपलब्ध छन्। कतिपय ह्यांगरमा लुगा पट्याएर राख्न मिल्ने ठाउँ समेत हुन्छन्।

बेतको ह्यांगरमा माथिपट्टि लुगा राख्न मिल्छ भने तल्लो भागमा जुत्ता–चप्पल अट्छन्। इस्त्री गरेका लुगालाई जतनसाथ राख्न प्लास्टिक, स्टिल वा काठका त्रिकोण आकारका ह्यांगर प्रयोग गर्न सकिन्छ। यिनलाई दराजभित्र वा बाहिर कुनै रडमा अड्काएर लुगा झुन्ड्याउनुपर्छ। “शौचालय र भान्सामा हात–मुख पुछेपछि टाबेल बारमा रुमाल झुन्ड्याए रुमाल चाँडै मैलो हुन र गुम्सिन पाउँदैन”, पुतलीसडकस्थित ट्रान्स बालकुमारी इम्पेक्सका रामचन्द्र श्रेष्ठ बताउँछन्। ट्राइपोड रड वा ह्यांगर स्ट्यान्ड शयन कक्षमा पनि राख्न सकिन्छ। आवश्यकता अनुसार अंकुश थप्न, हटाउन र उँचाइ बढाउन–घटाउन पनि सकिन्छ।

ह्यांगरलाई कपडा थन्क्याउन मात्रै नभई कोठा सजाउन पनि प्रयोग गर्न सकिन्छ। बैठक कोठामै ह्यांगर बार राख्ने हो भने फरक फरक कपडाले पनि सुन्दरता थप्छ। प्रयोग गरिसकेपछि कपडाले छोप्ने हो भने ह्यांगरका लुगामा धूलो लाग्न पाउँदैन।

कतिपय लुगा ह्यांगरमा राख्दा तन्किने र आकार बिग्रने सम्भावना पनि हुन्छ। ह्यांगरबाट चिप्लिएर झार्ने कपडा पनि हुन्छन्। त्यसैले, लुगा अनुसारकै ह्यांगर किन्नुपर्छ। कोट, सर्ट, फ्रक, सारी, चोलो, स्वेटर, ज्याकेट आदिका लागि भिन्नाभिन्नै किसिमका ह्यांगर बनाइएका छन्। रबर कोटिङ गरिएका ह्यांगरमा कोट चिप्लिने र क्रिज बिग्रिने समस्या हुँदैन भने चिम्टासहितका ब्लाउज–ह्यांगरमा साडीचोलो राखे समस्या झेल्नुपर्दैन।

सजना बराल

comments powered by Disqus

रमझम