५-११ पुस २०७२ | 20-26 December 2015

फरक क्षमताको खुबी

Share:
  

बौद्धिक अपांगता भएकी सरिता लामा।

काठमाडौं, जोरपाटीस्थित एसओएस बालग्राममा बस्दै आएकी कृष्णा कोइराला (४२) लाई मस्तिष्क सम्बन्धी सेरेब्रल पाल्सीको समस्या छ। सामान्य व्यक्ति झै बोल्न, हिंड्न, लेख–पढ र कामकाज गर्न नसक्ने उनी अचेल प्रत्येक शुक्रबार तीन घण्टा 'आर्ट थेरापी' कक्षा लिइरहेकी छिन्। फूल, रुख आदिको चित्र बनाउन सक्ने भएकी छन्।

कृष्णासँगै विभिन्न प्रकारका मानसिक एवं शारीरिक दुर्बलता भएका सात महिला र बालबालिकालाई दुई वर्षदेखि सपना शाहले आर्ट थेरापी दिइरहेकी छन्। “शुरुमा त धेरैलाई चित्रकारितामा रुचि नै थिएन”, सपना भन्छिन्, “तर, अचेल कहिले शुक्रबार आउला भनेर कुर्न थालेका छन्।” चित्रसँगै फालिएका सामग्रीलाई कलात्मक प्रयोग गर्न पनि उनी सिकाउँछिन्। जस्तोः अण्डाको क्यारेटबाट मैनबत्ती स्ट्यान्ड, चकलेटको खोलबाट बुट्टेदार फ्रेम बनाउन लगाएकी छन्। यसो गर्दा उनीहरूको बौद्धिक विकासमा सहयोग पुग्ने सपनाको विश्वास छ।

विद्यार्थीले दुई वर्ष अवधिमा तयार पारेका चित्र र अन्य कला बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ। 'ओपन आर्ट एक्जिबिसन कम्पिटिसन' को प्रदर्शनीमा आफ्ना कृति सार्वजनिक हुने थाहा पाएपछि विद्यार्थीहरू हर्षित भएको सपना बताउँछिन्। उनीहरूका १२ वटा चित्र र उति नै संख्याका मिश्रित कलालाई ग्यालरीमा राखिएको छ।

कम्मरमुनि पक्षघात भएकी अजिता अधिकारी, बौद्धिक अपांगता भएका सरिता लामा, दीपा गुरुङ, ज्योति कार्की, बिना श्रेष्ठ र समृद्धि नेपालका साथ प्रशिक्षक सपना शाह।
३–७ पुससम्म चल्ने प्रदर्शनीमा उपत्यकाका ६० विद्यालय तथा क्याम्पसका विद्यार्थीले बनाएका ३०० वटा चित्र समावेश छन्। प्रदर्शनीका उत्कृष्ट चित्र पुरस्कृत गरिने आयोजक अलफ्रेस्को मिडियाका प्रमुख कार्यकारी निर्देशक श्यामकृष्ण श्रेष्ठ बताउँछन्। विद्यार्थीका अलावा शशिकला तिवारी, गेहेन्द्रमान अमात्य, शारदा चित्रकार, सपना शाह लगायतका कलाकारका चित्र पनि प्रदर्शनीमा छन्।

विशेष चित्र

कम्मरमुनि पक्षघात भएकी अजिता अधिकारी (३४), बौद्धिक अपांगता भएका सरिता लामा (४५), दीपा गुरुङ (३२), ज्योति कार्की (२८), बिना श्रेष्ठ (४४) र समृद्धि नेपाल (१०) सपनाका विद्यार्थी हुन्। सिकाइको शुरुआती समस्या भनेकै संवाद हो। सपना भन्छिन्, “आपसमा कुरा बुझ्न नै समस्या हुन्छ। यसका लागि बाँकी ६ दिन मैले कडा गृहकार्य गर्नुपर्छ।”

आफ्ना विद्यार्थीको दुर्बलता अलग–अलग भए पनि चित्र कोर्दाको बानी भने उस्तै भएको सपनाको अनुभव छ। “फूल बनाऊ भन्यो भने सबैले एकैखाले फूल बनाउँछन्”, उनी सुनाउँछिन्, “जे सिकायो, त्योभन्दा बाहिर जान सक्दैनन्।” यस्तो बानी दोहोरिएपछि सपनाले पछिल्लो दिनमा भने प्लास्टिकका वेग्लावेग्लै फल र फूल दिई चित्र उतार्न लगाइरहेकी छन्।

सजना बराल

comments powered by Disqus

रमझम