१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

'प्रमाण बलियो भए पुग्दोरहेछ'

Share:
  

पेट्रोलियम पदार्थको कालोबजारी र ठगी अभियोगमा अदालतले ९ पुसमा थुनामै राख्न आदेश दिएका कर्मचारी, पेट्रोलपम्प सञ्चालक र मिस्त्रीसहित १३ जना पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल भन्छन्, “बलियो प्रमाणकै कारण मुद्दा बलियो भयो।”

इन्धन कालोबजारी र ठगी अभियोगमा प्रहरीले अदालतमा प्रस्तुत गरेको प्रमाण बलियो हुनुको कारण के हो?

इन्धनमा ठगी भएको विषयमा 'फिल्ड' बाटै बरामद प्रमाण पेश गरेका थियौं। प्रत्यक्षदर्शी, ठगीमा प्रयोग गरिएको यन्त्र, जडान गर्ने मिस्त्री, निर्देशन दिने हाकीमदेखि सरकारी कर्मचारीलाई महीनावारी बुझाएको रकम सम्बन्धी प्रमाणसमेत बुझायौं। ठगीका कारण राजस्वमा भएको नोक्सानी पनि हिसाब गरेर देखायौं।

प्रहरीका मुद्दामा अदालतले सफाइ दिएका थुप्रै घटना छन्। किन यस्तो हुन्छ?

प्रमाण नपुगेमा वा गहिरो अनुसन्धान नभएमा अदालतमा मुद्दा बलियो हुँदैन। कहिलेकाहीं प्रमाण नष्ट हुने अवस्थाले पनि प्रभाव पारेको हुन सक्दछ।

त्यसो भए प्रमाण नपुग्दै प्रहरीले पक्राउ गर्नुको कारण के हो?

प्रहरी अनुसन्धान बलियो हुनुपर्दछ। तथ्य र प्रमाण बलियो जुटाउन सक्ने हो भने दोषीले उम्कने मौका पाउँदैन।

प्रहरी अनुसन्धान प्रभावकारी बनाउन के गर्नुपर्ला?

सुधार गर्नुपर्ने ठाउँ धेरै छन्। तत्काल भने आधुनिक उपकरणको खाँचो छ।

कालोबजारीमा प्रहरीकै संलग्नता रहेको आरोपप्रति के भन्नुहुन्छ?

यो साँचो होइन। कसैले व्यक्तिगत रुपमा गरेको रहेछ भने त्यसलाई संगठनसँग जोडेर हेर्न मिल्दैन। तर, गल्ती गर्नेले विभागीय कारबाही भोग्नै पर्दछ। मातहतका सबैलाई मैले गलत काम नगर्न निर्देशन दिइसकेको छु।

comments powered by Disqus

रमझम