चेपाङ गाउँमा स्याउ सपना

Share:
  
- मिलन बगाले
पूर्वोत्तर चितवनको कान्दा गाउँका च्याउ पीडित चेपाङ समुदायले अब स्याउसँग सम्बन्ध गाँस्दैछन्।

तस्बीर: एकल सिलवाल
२०६७ जेठमा विषालु च्याउले चितवनको लोथर गाविसको कान्दामा एकै घरका आठ जना चेपाङको ज्यान लिएको थियो। कान्देश्वरी प्राविका प्रधानाध्यापक बालकृष्ण थपलियाले च्याउबाट सिकिस्त भएकाहरूलाई डोकामा हालेर उपचार गराउन भरतपुर ओरालेपछि यो खबर छापामा छाएको थियो।

पाखा–खोरिया खोस्रेर थोरै झुत्ता मकै र केही पाथी कोदो फलाउने कान्दाका चेपाङहरू एकाध महीनामा त्यो अन्न सकिएपछि च्याउ खोज्न वन धाउँछन्। कतिपय बेला वनेलु च्याउ नै चेपाङलाई कुरिरहेको दुर्भाग्यपूर्ण परिस्थिति आइलाग्छ र निरीह बस्तीमा यो अत्यासलाग्दो उपक्रम दोहोरिइरहन्छ। २०६७ जेठको घटनामा एकै परिवारका आठ जना परेर मात्र समाचार बनेको थियो। यो यथार्थ बुझेर आत्तिएका केही तन्नेरीहरू अहिले च्याउले पिटेको कान्दामा स्याउ फलाउने संस्थागत अभियानमा छन्– मितेरी फाउण्डेसनमार्फत।

एकल सिलवालले नेतृत्व गरेको फाउण्डेसनले कान्दामा न्यानो कपडा, उन्नत बीउबिजन, बाख्रापाठा वितरणदेखि स्याउको सपना रोप्नेसम्मको काम गरिरहेको छ। पछिल्लो स्याउ अभियानमा काठमाडौंका समाजसेवीदेखि जुम्लाका प्राविधिकसम्म जोडिन पुगेका छन्। चेपाङको दशा घटाउने फाउण्डेसनको प्रयासमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्यापसका डा. होमबहादुर बस्नेत शुरूदेखि नै बलियो आडभरोसा बनिरहेका छन्।

मितेरी फाउण्डेसनका अध्यक्ष सिलवाल र काठमाडौंको लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतमबीच चेपाङहरूको दुर्दशा र कान्दामा स्याउ फलाउने कुरा भएको केही महीनामै बिरुवा रोपिएको छ। चेपाङहरूलाई च्याउ हैन, स्याउ किसान बनाउने योजनालाई मूर्तरुप दिन जुम्लाका बागवानी प्राविधिक श्रीबहादुर भण्डारी गत पुसमा कान्दा पुगेर त्यहाँको हावापानी र माटोको मिहिन अध्ययन गरे। त्यहाँ जुम्लाकै जस्तो कालोमाटो देखेर दंग परेका उनलाई कान्दाको उचाइले पनि आशावादी बनायो। कान्दा समुन्द्र सतहबाट १६०० देखि १९०० मिटर क्षेत्रभित्र पर्छ भने स्याउ १६०० मिटरमाथिको उचाइमै फल्छ। एकसाता कान्दा बसेर काठमाडौं आएका भण्डारी त्यहाँ जुम्लामा भन्दा पनि बढी गरीबी देखेर भने निकै आत्तिएका थिए।

उनले कान्दामा स्याउ फल्ने सम्भावना रहेको ठोकुवा गरेपछि बिरुवा र मल किन्नलाई लक्ष्मी प्रतिष्ठानका अध्यक्ष गौतमले हातहातै रकम उपलब्ध गराए। त्यसपछि हान्निएर जुम्ला पुगेका भण्डारीले लामो बाटोमा पानी र लेउ खुवाउँदै स्याउका ५१५ वटा बिरुवा एक सातामा सकुशल कान्दा ल्याइपुर्‍याए। यतिबेला कान्दाका ६४ परिवार चेपाङका बारी–कान्लामा स्याउका बिरुवा रोप्ने तरखरमा छन्। उनीहरूले परिवार संख्या हेरी ४ देखि १० बोट बेर्ना पाएका छन्।

तर, पानीको हाहाकार छ त्यहाँ। एक गाग्री पानी बोक्न तीन घण्टा धाउनुपर्छ। प्राविधिक भण्डारी स्याउको एक बोटलाई हप्तामा एक गाग्री पानी खुवाउनुपर्ने बताउँछन्। आँगनछेउमै स्याउ फलाउने सपना रोपेका चेपाङहरूले आफूले नखाएरै भए पनि स्याउको बोटलाई पानी खुवाउने र हुर्काइछाड्ने प्रण गरेका छन्। उनीहरूको सिद्धान्त अनुसार फल्यो भने स्याउले प्रति घरलाई वार्षिक घटीमा एकलाख रुपैयाँ दिनेछ।

स्याउका बिरुवा रोपेर जोगाउने तालीमपछि चेपाङहरूले पाएका प्रमाणपत्रमा राताराता स्याउ फलिरहेका थिए। जिन्दगीमा पहिलो पटक स्याउ देखेर चेपाङ दंग परे। साँच्चैको स्याउ देख्ने चाहिं सिंगो गाउँमा एकजना मात्र रहेछन्– सिताबहादुर चेपाङ। उनले 'स्याउ देखेको छु' भन्दा सबैले आश्चर्य माने। कसैले 'कस्तो हुँदो रै'छ?' भनेर सोध्दा उनले 'मीठो हुँदो रै'छ' नभनी 'रातो हुँदो रै'छ' भने। कारण, भरतपुर र्झ्दा उनले पसलमा स्याउ देखेको मात्र, खाएका हैनन् रे!

स्याउ फल्न पाँच वर्ष लाग्छ। आफ्नै बारीमा स्याउ रोपिसकेका सिताबहादुरले भने, “अब पाँच वर्षसम्म कसैले दिए पनि स्याउ खान्न, पहिलो स्याउ आफ्नै हातले, आफ्नै बोटको टिपेर खान्छु। सिताबहादुर जस्ता सीमान्तकृतहरूको सपना पूरा होस्।

comments powered by Disqus

रमझम