रावणवाद धपाऊ!

Share:
  
- महेश थापा
वादहरूको ज्यादै गहिरो, पुरानो र ठूलो लफडा रहेको नेपाली राजनीतिमा रावणवाद आइलागेको छ।

भानु भट्टराई
नेपाली राजनीतिमा वादहरूको लफडा यति गहिरो, पुरानो र ठूलो कि बडेबडे पन्डाहरू पनि यसमा हेलिनबाट तर्किन्छन् भने पुग/नपुग डेढ कन्वा भेजाका मालिक हामी भुईंफुट्टाले आँट्ने कुरै आएन। फेरि, प्रयोगशालामा कुनै वादको रूप परीक्षण गर्न नभ्याउँदै त्यसको सार नै बदलिएर नवीन चोला ग्रहण गरिदिंदा कस्ता–कस्ता राजनीतिशास्त्रीहरू पुङमाङ साबित भएका छन्। नेपाली राजनीतिमा यस्तो घामटगिरी चलेको वेला तराई–मधेशमा रावणवादले टाउको उठाएको छ।

मधेशमा आगो झोसेर बाबर मर्काउने फिराकमा रहेका दृश्य, अदृश्य र ठेलुवा छट्टुहरू विलखबन्दको अवस्थाबाट अकलमन्द भएको भ्रममा पुगेका देखिन्छन्। वार्ताका अनेकन् श्रृंखला फुस्सा हुँदा वार्तासार्ता हापेर दन्तवजानमा ओर्लेकाहरू 'बाझते बाझते लत्तो छाडी होजायंगे' अवस्थाबाट एकाएक 'देख लेंगे' मूडमा देखिएका छन्। वादहरूको घम्साघम्सीमा बर्बाद भएका हामीले मधेश समस्या बेस्कन कचपल्टिनुमा त्यस्तै कुनै वादको हात हुनसक्ने आकलन गर्नु बेमनासिब थिएन।

'विधवा' राष्ट्रपतिले दर्शन गर्दा जानकी मन्दिर अशुद्ध भएको घोर विश्वासमा मधेशी मोर्चाका कार्यकर्ताले गंगाजल छर्कंदा दुनियाँ स्तब्ध भयो। ती शुद्धात्मा चेलवाहरूको कर्तुतलाई मानव सभ्यता विरुद्धको अपराधसँग तुलना गरियो। एउटी नारीको मन्दिरमा अर्की नारीलाई अपमानित गर्ने त्यो संगठित रावणवादी धृष्टताको चौतर्फी आपत्ति–आलोचना भयो। हामीकहाँ हरेक घटनालाई सैद्धान्तिक आलोकमा हेर्नुपर्ने मान्यता रहिआएकोमा रावणवादको व्यावहारिक पाटो समेत केलाउने काम अद्यापि जारी छ।

मुलुकको सर्वोच्च आसनमा पुगेकी महिलालाई सार्वजनिक स्थलमा प्रताडित गर्ने हिम्मतिला तिल्केहरूले घरको चौघेराभित्र सामान्य महिला माथि कुन तहको दलन गर्दा हुन्? मधेशमा ठेकेदारीको दागा धरिरहेकाहरूको लागि त्यहाँ विद्यमान दाइजो प्रथा, बुहारी हत्या, बोक्सी प्रकरण आदि कहिल्यै राजनीतिक मुद्दा बनेन। घटनाले उनीहरूको नियत उजिल्याउन थाले'सि कुत्ता–जुत्ता थ्यौरी अर्जाप्नेहरू पनि देखिए। यद्यपि, मन्दिरमा पोछा लगाएका निमित्त पात्रहरू दीर्घजीवी हुन्नन्। समस्याको गाँठी चाहिं मधेशवादको बोक्रो फोरेर मुन्टो उठाएको रावणवादमा छ, जुन राजनीतिक जमीनदारी चलाइबसेका साहुकारहरूको चिन्तन–बदनियतबाट जन्मेको छ। त्यसले महिलाको स्वतन्त्र पहिचान स्वीकार्दैन। मने, कुरो समावेशी, मान्छेको अस्तित्व चाहिं कम/बेसी!

राष्ट्रपतिको मानमर्दन गर्ने चुल्ठेहरूभन्दा त्यसको औचित्य सावित गर्न कन्दनी कसेका पुल्ठेहरूको बौद्धिक कसरत ज्यादा दिगमिग लाग्दो देखियो। ठुङ् मार्नमा खप्पिस एक बछ्यूँवादीले जानकी मन्दिर काण्डबाट उत्साहित भएर काखी बजाउँदै खुच्चिङ गरे। जिल्लिएको मैले उनलाई नियालें। उमङ्गको उत्कर्षतिर पुगिसकेका उनी बाँकी रहेको लङ्गोट पनि उतारेर सडकबीचमै गंगनम् नृत्य देखाइदिने उदात्त भावमा देखिए। त्यो खतरा आकलन गर्दै मैले कल्टी मारें।

थोरै अगाडि नपुग्दै अर्का एक झिगावादी भुनभुन मुद्रामा भेटिए। राष्ट्रपतिमाथि भएको दुर्व्यवहार गलत हो भन्दै प्रवचन शुरू गरेका उनले त्यस हर्कतलाई उचित सावित गर्न हरिप्सँग शास्त्रार्थ गरे। उसो त, रछ्यान र चोख्यानबीच भेद नगरी औंसा पार्नुमै झिगा जुनीको सार्थकता हुन्छ। फेरि पनि, बुद्धिको भाँडो टिलपिल हुने गरी भरिदिएका दैवले तिनलाई जतिसुकै लिपापोती गरे'नि केही कृत्यहरूको औचित्य सावित गर्न नसकिने ज्ञान दिन कन्जुस्याइँ गरेकोमा मैले मनमनै कोसें। बुद्धिवीरहरूले जतिसुकै जिद गरे'नि रातलाई दिन मान्न भने मेरो भेजा तयार भएन।

बहिनीको अपमानको बदला कसैकी पत्नीको अपमानद्वारा लिन खोज्दा सुनको लंका डढ्यो। परमज्ञानी हुँदाहुँदै पनि रावणको हठका कारण नरहरूले बानरको हातबाट पराजय व्यहोर्नु पर्‍यो। समाजमा हठधर्मीहरूको बोलवाला बढ्दै गएको वेला अपशकुनको आशंकाले मन तुलबुलाए पनि उद्दण्ड–अधमहरूको हातले गंगाजल धर्नुलाई चाहिं सगुन मान्न कर लाग्छ। बरु त्यो गंगाजलले मन्दिरको प्राङ्गण नभई तिनको भेजा शुद्ध गर्न पाए हुन्थ्यो!

किन्तु, सुँइठे भए'नि सवाल उही ठिंगिन्छ– बिरालोको घाँटीमा घण्टी बाँध्ने कसले? त्रेतायुग बिथोल्न एउटै रावण काफी भयो। रावणवाद फस्टाए नयाँ नेपालमा सीताहरूको हविगत के होला? कहालिंदै म शरणागत भएँ, “हे राम! तिम्रो राजमा हाम्री चेली माथि भएको अन्यायको प्रायश्चित गर्न नै सही, लौ न कुनै चक्कर चलाऊ र जानकी भूमिबाट रावणवादलाई समूल नष्ट गर।”

comments powered by Disqus

रमझम