१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

नाम्लो नियति

Share:
  
- मिलन बगाले
कलिलैमा नाम्लोसँग साइनो जोडिदिएका गुदेल–सोताङ सेरोफेरोका बालबालिकाको पढाइलाई भारीले थिचिदिने डर छ।

मिलन बगाले
न विमानस्थल न सडक– अनकन्टार भूगोलवासी आफ्नै बुता र पशुको बलमा परको ठूलो बस्ती–बजारसँग जोडिने रहर गर्छ। गोरेटो–घोडेटोले धानेको अर्थतन्त्रमा जीविकोपार्जनमा नाम्लो–स्पर्धा र खच्चर साहूको मानमनितो हुने रहेछ। खच्चरसम्म त ठीकै छ, 'गाडी आयो भने गाँसै खोस्छ' भन्ने भयले सताउँदो रहेछ। यसरी दूरदराजका नेपाली अझै पनि थाप्लो गहिरिने गरी भारी बोक्नुलाई 'अवसर' ठान्ने अवस्थामा छन्। शहरको लोकतन्त्रलाई भने यस्तो दृश्य नियाल्ने फिटिक्कै फुर्सद छैन।

कुरो सोलुखुम्बुको दक्षिण–पश्चिम भेगको गुदेल र सोताङ गाविस सेरोफेरोको हो, जहाँ न सडक पुगेको छ न त विमान ओर्लने एउटा मैदान नै छ। राष्ट्रिय राजमार्गसँग जोडिएको जिल्ला सदरमुकाम सल्लेरीबाट गुदेल पुग्न तीन दिन हिंड्नुपर्छ। गाउँमा अत्यावश्यक सामान पुर्‍याउन खच्चर र मान्छेको विकल्प छैन। बलिया बांगाले बडेबडे भारी बोक्नै पर्‍यो बोक्छन्, तर चित्त चिमोटिने पाटो के छ भने यस भेगमा भारीमाथि भाइबहिनी थपेर उकालो–ओरालो गरिरहेका बालबालिका जताततै भेटिन्छन्। आलुको भारीमाथि भाइ बोकेर ओरालो झ्रिरहेकी ८ वर्षीया बालिका, बाबु र दाजुको पछिपछि 'रमाइलो' मान्दै खच्चर खेदिरहेका १०/१२ वर्षका बालक, जस्तापाताको भारीले कुप्रो परेर उकालो नापिरहेका युवक, तोक्मामाथि ३० किलोको भार अड्याएर टोलाइरहेका १०/१२ वर्षका बालक– गत कात्तिक तेस्रो साता सल्लेरीबाट गुदेल र गुदेलबाट सल्लेरी गर्दाको ६ दिनमा अनगिन्ती देखियो। घरको काम सघाउन थाप्लोमा नाम्लो चढाएर विद्यार्थी–सपना मारेका बालबालिका कति हो कति!

गुदेलबाट सोताङको शिवटारहुँदै क्लिम्तेनजिक दूधकोशीको झोलुङ्गे पुल तर्नासाथ बडाबडा भारी बिसाएर काजी कुलुङ (१२) र राज कुलुङ (१४) सुस्ताइरहेका भेटिए। दुवैको घर देउसा गाविसमा रहेछ। काजीले ३ कक्षाबाट स्कूल छोडेछन्, राजले ६ कक्षाबाट। राजले पढाइ छोड्नुको कारण खोल्न अप्ठेरो माने। पहिलोपल्ट भारी बोक्दा अलिअलि रमाइलो र अलिअलि कठिन भएको उनले सुनाए। घरमा को को छन् त? “भाइ मात्रै हो, तर ऊ पनि यतै बाटातिरै छ, भारी बोकेर ...” उनी अप्ठेरोसँग बोले।

उनीहरूले बोकेको भारी तीन दिनमा गुदेल पुर्‍याएर प्रति केजी रु.५५ को दरले सुक्खा कमाई गर्ने रहेछन्। काजीको घरमा बा–आमा, दाजु र दिदी रहेछन्। पढ्न चाहिं त्यसै छोडेको उनले बताए। जाँच सकिएपछिको बिदा र अरूअरू बिदामा मात्र भारी बोकेर पढ्दै गरे हुन्न? भन्ने प्रश्नले दुवै अल्मलिए। “खै हुन्थ्यो कि? तर, छोडिहालियो” अन्त्यमा काजीले नै भने। उनीहरूलाई थप अप्ठेरो पार्न मन लागेन। आफूभन्दा गह्रौं भारी बोकेका बालकहरूले मेरो मनलाई पनि गह्रौं पारिदिए। पढाइभन्दा भारी सजिलो कसरी बन्यो जिन्दगीमा?

भोलिपल्ट बूढीडाँडामा बास बसेर रोक्ती हुँदै नेलेतिर लाग्दा वरिपरिका गाउँहरूबाट सुन्तला, अदुवा, अम्बा बोकेर सल्लेरीको शनिबारे हाट भर्न हिंडेका थुप्रै भाइबहिनी भेटिए। सुन्तलाको भारी बोकेका जलपना राई र सुसना राई रोक्तीमा सुस्ताइरहेका थिए। ६ कक्षामा पढ्ने जलपना र ९ कक्षाकी सुसनासँग अरू स–साना नानी पनि थिए। बहिनीहरूको यो डफ्फा देउसा गाविसबाट आएका रहेछन्। उनीहरूले स्कूल बिदाको दिन घरको सामान बेच्न बजार जाने गरेको र पढ्न नछोड्ने सुनाए। राज र काजीसँग भेट्दा पिरोलिएको मन अलि शान्त भयो।

रोक्तीबाट थोरै अगाडि पुगेपछि अदुवा र सुन्तला बोकेका च्याल्साका शरण र रितिक राई भेटिए। रितिक गजब हँसिला, शरण असाध्यै लजालु। त्यही हुलका अलि ठूला किशोर चाहिं संसारप्रति पूरै बेपरबाह बनेर मोबाइलमा गीत सुनिरहेका थिए। १०–१४ वर्ष उमेर समूहको यो हुलको गन्तव्य सदरमुकाम सल्लेरी थियो। बच्चैबाट व्यापार र बजार जानेकाले उनीहरू कुरा गर्न सिपालु थिए। स्कूल कसैले छोडेका रहेनछन्। बजारको रमझ्म पैसा, मोबाइल, मीठा खानेकुरा र घुमघामको चस्का बसेका ती चन्चल भाइहरूलाई पढ्न कत्तिको रमाइलो लाग्छ? भनेर सोध्दा सबै लजाए। 'पढाइ भन्ने कुरा हुँदै गर्छ' भन्न खोजे जस्तो भाव उनीहरूको अनुहारमा देखियो। बालबच्चालाई ज्यान अनुसारको र आफूले बडेबडे भारी बोकेका अभिभावक पनि बाटामा धेरै भेटिए। छोराछोरीको पढाइबारे सोध्दा उत्तर दिन गाह्रो माने, उनीहरूले। कतिपयको अनुहारमा 'पढे पनि के, नपढे पनि के!' भन्ने भाव देखियो।

नाम्लोले पढाइलाई थिचिमारेन भने बाल्यकालमा भारी बोकेर बजार झ्रेको अनुभव उनीहरूको जिन्दगीको ठूलो पढाइ नै हुनेछ। घरको काम गर्दै, फुर्सदमा बजार झ्रेर व्यापार गर्दै, समाज चिन्दै पढेका, बढेका बालबालिका भोलि अवश्यै विद्वान् बन्लान्। पढाइलाई नाम्लोको डामले डाम्यो भने चाहिं उनीहरूको भविष्य भड्खालोमा पर्नेछ। मोबाइलमा गीत घन्काउँदै सदरमुकाम र्झ्ने चस्को अर्को खतरा बनेको देखियो। यसमा चेतना जगाउनु जरूरी छ। गुदेल सेरोफेरोका मिहिनेती भाइबहिनीको मिहिनेत कापीकिताबमै बढी परोस्। उनीहरूलाई पढाइमा प्रेरित र अभिभावकलाई सजग पार्न शिक्षक–शिक्षिका तथा शिक्षासेवीहरूबाट अलि बलियो पहल चाहिन्छ। त्यस्तो पहल गर्नेहरूको जय होस्।

comments powered by Disqus

रमझम