१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

चामलले पीठो साटी

Share:
  
- ज्ञानमणि नेपाल
राणाहरूले बेलायती कुकुरको बदला गैंडाका खाग, कस्तूरी आदि उपहार लिंदै 'हाम्री आमा बाठी, चामलले पीठो साटी' भन्ने उखान चरितार्थ गरेका थिए।

भानु
अघि चीनसँग उपहार आदान–प्रदान हुँदा मामुली मरमसलाहरू पठाइन्थे, उताबाट किमती तासकुचीनका कपडा, मुगा, मोती, सुनचाँदी मिल्दथ्यो– पीठोले चामल साटे सरह। बेलायतसँग सम्बन्ध स्थापित भएपछि भने बेलायती कुकुर कोसेली लिएर गैंडाका खाग, कस्तूरी आदि किमती उपहार दिन लागियो। त्यस्तो देखेर, भोगेर नै कौसलका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' नामक पुस्तक लेखेको बुझिन्छ।

चन्द्रशमशेरकै पालामा पहिलो विश्वयुद्ध भयो। त्यसमा धेरै नेपाली नौजवानले रगतको खोलो बगाए। युद्धबाट ज्यूँदै फर्केका जवानहरूमा नयाँ दृष्टिकोण, चेतना जाग्न थालेको थियो। ब्रिटिश–भारत र बाहिरी विश्व परिस्थितिको प्रभावले नेपालका केही शिक्षित नवयुवकहरूमा पनि जागरणका लहर देखिन थाले। आफ्नो देशका शासक वर्गको चालामाला, क्रियाकलाप, अनीति, शोषण देखेर पढेलेखेका मानिसको मनमा असन्तोषको बीजाङ्कुर हुनु स्वाभाविक थियो। तिनका वक्रदृष्टि शासकमा पर्न थाले। त्यसैको परिणाम थियो– मकै पर्व।

सुब्बा कृष्णलालको किताबमा हामी आफ्ना स्वदेशमा पाइने भोटे कुकुर भन्दा विदेशी कुकुरलाई धेरै मानमनितो गर्छौं, भोटे कुकुर रातभरि भुक्छ, चोरडाँकाबाट घरको सुरक्षा गर्छ, विदेशी कुकुर रातभरि गद्दा, डसनामा सुत्छ मासुभात खान्छ, बखतमा काम दिने घरको रक्षा गर्ने स्वदेशी कुकुरचाहिं पिंढीमा

सुत्छ, ढिंडोरोटो पनि भनेका वेलामा खान पाउँदैन भन्ने पनि लेखिएको थियो।
काला टाउके र राता टाउके कीराले मकै सखाप पार्छ भन्ने पनि किताबमा लेखिएकोले उनीउपर राजकाज मुद्दा लाग्यो। उजुरवालाले यी कुराको व्याख्या गर्दै महाराजलाई सुनाए, सुर्‍याए। रातो टोपी लाउने भनेको महाराज हो, कालो टोपी लाउने भनेर चीफ सरकारलाई भनेको हो, राणाजीहरूलाई बेलायती कुकुर पाल्ने–पोस्ने भनेको हो। स्वदेशी कुकुरलाई हेलाँ गरेर वेलामा खान नदिएको भनेको आफ्ना जनतालाई हेपेर विदेशी साहेबहरूलाई ठूलो मानमनितो गरेको भन्ने अर्थ लगाइयो। यस्तो व्याख्या सुनेपछि महाराजको पारो तात्ने नै भो अनि वाग्यान (वागी) मुद्दा लाग्ने भो र लाग्यो पनि। सुब्बा कृष्णलाललाई जेल हालियो। पुस्तक लेख्न सहयोग गर्नेहरूलाई मतियार भनेर पाँच–पाँच वर्ष कैद तोकियो। कृष्णलाल अधिकारी कैदमै दिवंगत भए।

४ अप्रैल

आज ठीक ४ बजे माहाराज क.ज. जीत शमशेर ज. रुद्र शंशेर, ज. मोहनशंशेर, कर्णेल कुलविक्रम, क. होमविक्रम, सुब्बा मरीचिमान सिंह रेजिडेन्सी पुगे. पानी परिरहेको थियो.

५ अप्रैल

भोलि ल्होत्छें दर्बार हुन्छ भनी साहेबलाई ईतलाये दिना निमित्त मंशी बज्रमान्सिं साथ ली ११ बजे गये.

जोन्ससाहेबले माहाराजलाई कुकुर चढाइ पठायाको हुनाले माहाराजबाट खागको वीड सुनको दाप भयेको खुकुरी १ कस्तुरी विना ४ असर्फि ६ चांदीको मोहर सुकासुकी रेजीडेन्ट मार्फत् पठाइ दिनु भन्ने हुकुम भयेको हुनाले दिंदा कस्तुरी तोलाको कति जान्छ भनी सोधे. रुपयां दिन्छु. येस्तै सुन्को दाप भयेको खुकुरी मेरो दोस्तलाई माहाराजसंग विन्ति गरी तयार गराइदेउ भनी भने.

comments powered by Disqus

रमझम