१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

विशेषज्ञ तहमा मनपरी

Share:
  
सरकारी मेडिकल कलेज मुलुकको चिकित्सा शिक्षालाई व्यवस्थित गर्न भएका पहललाई विफल पार्न उद्यत भएर लागेका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले यस वर्ष नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ तह अध्ययनका लागि दिएको सीटमा भारतीय विद्यार्थीलाई प्राथमिकता दियो। कलेजले विशेषज्ञ तहका प्रमुख विषयमा भारतीयलाई महत्व दिनुको कारण हो– उनीहरूबाट करोडौं असुल्न पाउनु।

सरकारले १ असोजमा गरेको निर्णयले निजी कलेजले विशेषज्ञ तहका एक जना नेपाली विद्यार्थी बराबर रु.२३ लाख लिन पाउने व्यवस्था गर्‍यो, तर प्रतिष्ठान तथा सरकारी कलेज र विदेशी विद्यार्थी भर्ना गर्दा लाग्ने शुल्क निर्धारण गरिएन। यही कमजोरीको फाइदा उठाउँदै विदेशीबाट करीब डेढ करोड रुपैयाँ लिन पल्केको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालीलाई विशेषज्ञ तह अध्ययन गर्न कठिन बनाइदिएको छ। प्रतिष्ठानले काउन्सिलबाट पाएको ७१ सीटमध्ये १८ जना सरकारी डाक्टर, ३५ खुला र १८ विदेशी विद्यार्थीलाई भर्ना गरेको छ।

प्रतिष्ठानले क्लिनिकल साइन्स अन्तर्गत एनेस्थेसियोलोजी र क्रिटिकल केयर मेडिसिनमा तीन जना, डर्माटोलोजीमा एक, गाइनेकोलोजी तथा अब्स्टेटि्रक्समा दुई, इन्टरनल मेडिसिनमा तीन, अर्थोपेडिक्समा एक, ईएनटीमा एक, पेडियाटि्रक्समा एक, रेडियोडायग्नोसिस् एण्ड इमेजिङमा एक र सर्जरीमा दुई सीट गरी कुल ५० प्रतिशत सीटमा मोटो रकम असुलेर भारतीयलाई भर्ना गरेको छ। यसैगरी बेसिक मेडिकल साइन्स अन्तर्गत प्याथोलोजीको दुई र फार्माकोजोलीको एक गरी कुल १८ सीटमा भारतीय विद्यार्थीलाई भर्ना गरेको छ। प्रतिष्ठानले ईएनटीका लागि छुट्याएको एक सीट पनि विदेशीलाई मात्र दिएको छ।

१८ सीटमा भारतीय विद्यार्थी भर्ना गर्दा प्रतिष्ठानले रु.२७ करोड पाएको छ। यो लोभले नेपाली विद्यार्थीमाथि अन्याय गरेको चिकित्सकहरू बताउँछन्। सबैले पढ्न खोज्ने क्लिनिकल विषयमा विदेशीलाई प्राथमिकता दिइएको छ भने कमै विद्यार्थी भर्ना हुन चाहने विषयहरू नेपालीलाई दिएको छ, प्रतिष्ठानले। फ्री पीजीको व्यवस्था हुनुअघि नेपाली विद्यार्थीका लागि छुट्याइएको ३७ खुला सीट घटाएर २९ मा झारेको प्रतिष्ठानले विदेशी कोटा बढाएर १८ पुर्‍यायो।

यस क्रममा प्रतिष्ठानले अघिल्लो वर्ष विदेशीका लागि छुट्याएको सीटका आधारमा यस वर्ष भर्ना लिन स्वास्थ्य मन्त्रालयले २१ असोजमा दिएको निर्देशन लत्याएको छ। प्रतिष्ठानले अघिल्लो वर्ष पाएको कुल ११९ सीटमध्ये २४ प्रतिशत विदेशीका लागि कोटा छुट्याएकोमा यस वर्ष बढाएर ३० प्रतिशत पुर्‍यायो। मेडिकल शिक्षा सुधारको लागि गठित माथेमा समितिमा सदस्य रहेका डा. भगवान कोइराला भन्छन्, “प्रतिष्ठानले जे गरिरहेको छ, जिम्मेवार संस्था भन्न नमिल्ने गरी गरिरहेको छ।”

वीरमा पनि बेइमानी

सरकार मातहतकै अर्को निकाय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीरले मेडिकल काउन्सिलबाट विशेषज्ञ तह अध्ययन गराउन ७० सीट पाएकोमा प्रवेश परीक्षा नतीजा निकालेर ८६ जना भर्ना गर्न लागेको छ। त्यसमध्ये १६ सीटमा विदेशी विद्यार्थी भर्ना गरिसकेको छ। मनपरी कति भने यस पटक प्रवेश परीक्षामा ५० प्रतिशतभन्दा कम अंकसहित २७९ र २८० नम्बरमा नाम निक्लेकाहरूले पनि सरकारी कोटाबाट न्याम्समा मेडिसिन र एनेस्थेसिया पढ्न पाए। ५० प्रतिशतभन्दा कम अंक ल्याएका विदेशीले पनि पढ्न पाउँदा योग्यता क्रममा अघि देखिएका नेपाली विद्यार्थी विशेषज्ञ तह पढ्नबाट वञ्चित भएका छन्। काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी भने पाएको सीट संख्याभन्दा बाहिर जान नमिल्ने बताउँछन्।

न्याम्समा माल्दिभ्सका १४, पोर्चुगलका एक र इन्डोनेसियाका एक जना विद्यार्थी भर्ना भएका छन्। (हे.पत्र)

रामु सापकोटा

comments powered by Disqus

रमझम