१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

प्रहरीकै संरक्षण

Share:
  
छिन्ताङको अवैध गाँजाखेती फस्टाउनुमा प्रहरीको संलग्नता देखिएको छ।

प्रहरीले जलाएको गाँजा तान्दै महिला र बालबालिका।
धनकुटाको छिन्ताङलगायतका विभिन्न ठाउँमा हुने गाँजाखेती प्रहरीकै संरक्षणमा फस्टाएको देखिएको छ। अञ्चल प्रहरी कार्यालय कोशीका प्रमुख एसएसपी पवन खरेलको टोलीको छानबिनमा यस क्षेत्रका २२ प्रहरी गाँजा काण्डमा कारबाहीमा पर्ने भएका छन्। गाँजाखेतीमा प्रहरीको संलग्नता पाइएपछि ३ पुसमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नै यस क्षेत्रको अनुगमनमा आइपुगे।

गाँजाखेतीको संरक्षणमा संलग्न इलाका प्रहरी कार्यालय, छिन्ताङका प्रहरी नायव निरीक्षक राजकुमार राईसहित १२ जना र प्रहरी चौकी, त्रिवेणीका प्रहरी सहायक निरीक्षक नरेश बिकसहित ७ जनालाई नियन्त्रणमा लिई कारबाही थालिएको छ। छिन्ताङबाट सरुवा भई हालै सप्तरी पुगेका प्रहरी निरीक्षक नारायण भट्टराई, केही समय त्रिवेणी चौकीमा बसेका प्रहरी नायव निरीक्षक मोहन बोगटी र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी सहायक निरीक्षक शिव शर्मा पनि कारबाहीको दायरामा परेका छन्। धनकुटाका प्रहरी प्रमुख एसपी विभूतिराज पाण्डेसँग अञ्चल प्रहरीले बयान लिएको छ। क्षेप्रका धरानका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक खरेल गाँजाखेतीबारे सूचना लुकाउने सबै प्रहरीलाई हटाएर नयाँलाई पठाइएको बताउँछन्।

प्रहरीका अनुसार, गाँजा उत्पादकसँग प्रहरीलाई दिने भन्दै प्रति बोट रु.१५ का दरले करीब रु.१ करोड संकलन गरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगेन्द्र राई फरार छन्।

धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विमल बस्नेत गाँजा नष्ट गर्ने अभियान थालिएको बताउँछन्। उनका अनुसार, हालै मात्र जिल्लाको ८०० रोपनीमा लगाइएको गाँजाका बोट नष्ट गरिएको छ।

२३ मंसीरमा महेन्द्रनगर–९, सुनसरीका शिवु मुखियाको घरमा छापा मार्दा प्रहरीले ८१ किलो ५०० ग्राम गाँजा बरामद गर्‍यो। मुखिया भने फरार छन्। बरामद गाँजा छिन्ताङबाटै ल्याइएको थियो।

२९ मंसीरमा सुनसरीकै बराह क्षेत्रबाट तीन किलो गाँजासहित छिन्ताङ, ज्यामिरेका कक्षा ७ मा अध्ययनरत सन्देश तोलाङ्गी पक्राउ परेका थिए। २३ मंसीरमा मोरङको भोगटेनी र याङ्शिला बीचको जंगलमा प्रहरीले पाँच जनालाई पाँच किलो गाँजासहित पक्राउ गरेको थियो। प्रहरीका अनुसार, २२ मंसीर राति सप्तरी, तिलकिया–८ स्थित बलान खोलामा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहानमा तस्कर ४० किलो गाँजा छाडी भागेका थिए। यी गाँजा साइकलमा बोकाएर सीमावर्ती भारतको बिहार पुर्‍याइने गरेको तथ्यबारे प्रहरीसमेत जानकार छ।

नयाँ गन्तव्य

खुर्सानीबारीमा गाँजा काट्दै प्रहरी ।
पूर्व–पश्चिम दुवैतिरबाट सप्तकोशी नदीले घेरेको सुनसरीको कोशीटप्पु (बोलीचालीमा श्रीलंका टप्पु) मा पुग्न डुङ्गाको सहारा लिनुपर्छ। केही वर्षअघिसम्म सुनसान प्रायः महेन्द्रनगर–५, प्रकाशपुर ४ र ५ वडामा पर्ने यो टप्पुमा अचेल नौला मानिस पुग्ने गरेका छन्।

टप्पुमा भएको गाँजाखेतीले नौला गाँजा व्यापारीलाई लोभ्याएको हो। स्थानीय रामविलास चन्द्रवंशी नेपाली र भारतीय दुवै गाँजा खरीदका लागि गाउँ आउने गरेको बताउँछन्। “गाँजाबाटै हाम्रो नून, तेलको खर्च जोहो हुन्छ”, उनी भन्छन्। उनका अनुसार, राम्रो गाँजा प्रतिकिलो रु.२५०० मा बिक्छ। एउटा बोटमा आधा किलोसम्म गाँजा उत्पादन हुन्छ।

स्थानीय जनता निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवन चन्द्रवंशी कोशीटप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्ना र जंगली गाईगोरुले सबै बाली नष्ट गरेकाले बाध्य भई गाँजाखेती गर्नुपरेको बताउँछन्। “गाँजा हात्ती, गाईगोरुले पनि खाँदैन”, उनी भन्छन्।

२ पुसमा गाँजा नष्ट गर्न महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट पुगेका प्रहरी टोलीका अघि गाउँले निरीह देखिन्थे। “गाउँलेलाई हात्तीले मार्दा पनि आउन नमान्ने प्रहरी गाँजा काट्न भने हरेक वर्ष आउँछ”, पवन चन्द्रवंशीको गुनासो छ।

महेन्द्रनगरका प्रहरी निरीक्षक अनिल पौडेल गाँजाखेती गर्ने धनी पत्ता लगाउन नसकिएका कारण कारबाही गर्न गाह्रो भइरहेको बताउँछन्। “धनी नखुलेको बगरको खेतमा बसेका छन्” उनी भन्छन्, “उत्पादक र व्यापारी निगरानी गर्न सुराकी खटाएका छौं।”

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम