१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

हुर्कंदै 'शान्ति'

Share:
  
- सइन्द्र राई
डेढ दशकयताका विभिन्न राजनीतिक र सामाजिक द्वन्द्वका कारण अनाथ बनेका संकटबीच 'शान्तिका प्रतीक' बनी हुर्कंदै छन्।

राजेश राई
द्वन्द्वपीडित बालबालिकाका साथ आरती लामा।
२०६४ सालमा अन्तरिम संविधानको विरोधमा भएको मधेश आन्दोलन चर्कंदा सर्लाहीको दक्षिणी गाविस सलमपुरकी करिश्मा शान्ति तीन वर्षकी मात्र थिइन्। आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर उनका बुबा रामनारायण साह मारिए। सरकारले उनलाई शहीद घोषणा त गर्‍यो तर यसले परिवारको आर्थिक संकट टारेन। त्यसयता करिश्माको घर नै अनाथालय भएको छ।

माघ २०५८ को घटना हो। सर्लाहीकै सिसौतियामा भएको माओवादी विद्रोही र सुरक्षाकर्मी प्रहरीबीचको भिडन्तमा सञ्चिताको काखेभाइसँगै आमाको मृत्यु भयो। लगत्तै बुबाले अर्को विवाह गरेपछि उनी अनाथ झैं भइन्। “डेढ वर्षकी बच्चीको बिजोग देखेपछि आफैं पाल्छु भनेर घर ल्याएको थिएँ”, स्थानीय सुरेन्द्र लामा भन्छन्।

हरिऔन नगरपालिका–२, घुर्कौलीस्थित द्वन्द्वपीडित अनाथ बालगृहमा करिश्मा र सञ्चिता जस्ता थुप्रैले न्यानो मायासहित आश्रय भेटेका छन्। “माओवादी विद्रोह, मधेश आन्दोलन र हिंसाबाट अनाथ बनेकाहरू यहाँ हुर्किरहेका छन्”, अनाथका अभिभावक एवं बालगृहका अध्यक्ष लामा भन्छन्।

एमालेका जिल्ला नेता समेत रहेका लामाले पार्टी कामकै सिलसिलामा गाउँगाउँ घुम्दा देखे–भेटेका अनाथ बालबालिकाको उद्धारका लागि २०५९ सालमा चेतना सन्देश नेपाल संस्था खोले, र त्यसैमार्फत बालगृह सञ्चालन गरे। बालगृहले २०५९ देखि अनाथका साथै अति विपन्न बालबालिकालाई पढाउन पनि थाल्यो। अहिले बालगृहमा १४ जना राजनीतिक द्वन्द्वपीडितसहित २७ जना बालबालिका छन्।

अनाथ जन्माउने आन्दोलन

बालगृहमा रहेका अधिकांशको व्यथा विगत डेढ दशकयताका राजनीतिक र सामाजिक द्वन्द्वका उपज हुन्। त्यसैले बालगृहमा हुर्कने सबैको थर 'शान्ति' लेखिने गरेको छ।

इन्द्रजित शान्ति (१८) सर्लाहीस्थित लालबन्दी बहुमुखी क्याम्पसमा कक्षा–११ मा पढ्छन्। उनका बुबा रामेश्वर सहनीलाई २०५८ सालमा माओवादीले पार्टीलाई असहयोग गरेको निहुँमा जिउँदै खाल्डोमा पुरे। बेसहारा उनी बालगृह ल्याइए। जिल्लाकै अचलगढ घर भएका इन्द्रजित भन्छन्, “अब त यो घर अनि सारा गाउँले परिवार जस्ता लाग्छन्।”

इन्द्रजितसँगै एउटै भान्सा, परिवार र माया पाएर हुर्किरहेकी छिन्, अस्मिता शान्ति (१४)। २०५२ बाट माओवादी पार्टीमा आबद्ध बुबाआमा नै १ माघ २०५८ को भिडन्तमा मारिएपछि अत्रौलीकी अस्मिता अनाथ बनिन्। अहिले उनी बालगृहमा आफू जस्तै व्यथा भएकाहरूमाझ् खुशी देखिन्छिन्।

अनाथगृहमा सर्लाहीका मात्र होइन, अन्य जिल्लाका बालबालिका पनि छन्। “बालगृहमै बालबालिका ल्याएर छाडिदिनेहरू पनि छन्”, बालगृहमा लामो समय काम गरेकी स्थानीय आरती लामा भन्छिन्। माओवादीलाई खाना खुवाएको आरोपमा सुरक्षाफौजले २३ चैत २०५५ सालमा आमाको हत्या र बाबुलाई बेपत्ता बनाएपछि सिन्धुलीका सविता शान्ति र उनकी बहिनी पविता आफन्तको सहयोगमा बालगृह ल्याइए। डेढ वर्षअघि मात्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटबाट अनाथ दिदीभाइको पालनपोषणका लागि यही बालगृह नै रोजे। सलिमा शान्ति (५) र महाजित (४) का बुबाआमा दुवैलाई काकाले हत्या गरेका थिए। “यहाँ ल्याइँदा महाजित १६ महीनाका थिए, सबैको मायाले हुर्कंदैछन्”, बालगृहकी कोषाध्यक्ष बेची लुङ्गेली भन्छिन्।

मधेश, पहाड, अनेक जाति र धार्मिक समुदाय मिश्रित इन्द्रेणी हरिऔनको बालगृहमा पनि विविधता छ। “पहिले जो–जे भए पनि उनीहरूको समस्या एउटै थियो, अब सपना र उद्देश्य पनि एउटै हुनेछ”, बालगृहका अध्यक्ष लामा भन्छन्, “त्यही भएर बालगृहका सबैको थर 'शान्ति' लेखिएको हो।”

उनीहरुलाई थाहा छ, आन्दोलनले अनाथ पनि जन्माउँछ, तर; तिनै आन्दोलनकारी अनाथप्रति कुनै दायित्वबोध गर्दैनन्।

सुरेन्द्र लामा

अध्यक्ष, द्वन्द्वपीडित अनाथ बालगृह

'शान्ति' प्रतिको उपेक्षा

बालगृहकी कोषाध्यक्ष लुङ्गेलीका अनुसार, वार्षिक करीब रु.३० लाख खर्च हुने बालगृहमा जापानवासी तबला–बाँसुरी वादक श्रवण लामा र पञ्च लामाले वार्षिक रु.७ लाख जति सहयोग गरिरहेका छन्। बाँकी सम्पूर्ण खर्च समुदायले नै व्यहोर्छ।

बालगृहमा बसेकामध्ये १७ जना यतिवेला कलेज पढिरहेका छन्। कक्षा ७ सम्म बालगृहमै पढाइ हुन्छ। त्यसभन्दा माथिको पढाइका लागि खर्च जुटाउन बालगृहलाई हम्मेहम्मे परिरहेको छ। एसएलसी गरेका ९ जना काठमाडौंमा पढिरहेका छन्। अनाथ बालबालिकासँगै पढ्ने हरेक विद्यार्थीबाट मासिक रु.१५० उठाउँदा पनि बालगृहलाई केही राहत भएको छ। बालगृहका १३ जना शिक्षक सबै स्वयंसेवी हुन्।

“बालगृह संकटमा छ”, अध्यक्ष लामा भन्छन्, “समुदायको मायाले जेनतेन धानिरहेको छ।” बालबालिकालाई खाना खुवाउन समुदायले नै तालिका बनाएको छ। बालगृहका अनाथहरूकै लागि घुर्कौलीका स्थानीयले पालैपालो हरेक शनिबार सामूहिक भोज दिने गरिन्छ। चाडपर्व, जन्मदिन, ब्रतबन्ध र विवाह जस्ता भोजमा पनि बालगृहका बालबालिका अतिथिका रूपमा निम्त्याइन्छन्।

दुःखको कुरा के छ भने यी बालबालिकालाई अनाथ बनाउने द्वन्द्वरत पक्ष पटक पटक सरकारमा पुगेका छन्। सुविधाभोगी बनेका छन्। कोही फेरि आन्दोलनबाटै शक्ति स्थापित गर्न लागेका छन्। “उनीहरूलाई थाहा छ, आन्दोलनले सँगसँगै अनाथ पनि जन्माउँछ”, बालगृहका अध्यक्ष लामाको दुःखेसो छ “तर, तिनै आन्दोलनकारी अनाथप्रति कुनै दायित्वबोध गर्दैनन्।”

comments powered by Disqus

रमझम