१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

जाडोको सकस

Share:
  
- सन्त गाहा मगर
नाकाबन्दीले इन्धन अभाव ‍झोलिरहेका सर्वसाधारण र भूकम्पपीडितका लागि बढ्दो चिसोले झनै पीडा थपेको छ।

गोपेन राई
जाडो बढेसँगै टेकू, काठमाडौंमा आगो ताप्दै।
९ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस मापन हुँदा जुम्ला र सोलुखुम्बूको तापक्रम क्रमशः माइनस ८.४ र माइनस ३.७ डिग्री सेल्सियस पुग्यो। मौसम पूर्वानुमान महाशाखाको अभिलेख हेर्दा ३ पुसदेखि तापक्रम निरन्तर ओरालो लाग्दो छ। (हे. टेबल)ताप घटेसँगै चिसोले देशभरिको जनजीवन कठ्यांग्रिन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा मौसमी प्रणालीमा तत्काल परिवर्तन नआउने भएकाले तापक्रम घट्ने क्रम जारी रहने बताउँछन्। उनी भन्छन्, “केही दिन काठमाडौंको न्यूनतम तापक्रम माइनसमा जान सक्छ।” १६ पुस २०३४ मा काठमाडौंको तापक्रम माइनस दुई डिग्री सेल्सियससम्म झ्रेको थियो।

चिसोका अनेक कारण

हिउँदमा जाडो र बर्खामा गर्मी हुनुको महत्वपूर्ण कारण दिन लामो वा छोटो हुनु पनि हो। छोटो दिनमा सूर्य दक्षिणतर्फ हुने भएकाले सूर्यको 'ट्राभलिङ पाथ' लामो हुन्छ र चिसो बढ्छ। मौसमविद्का अनुसार, छोटो दिनमा सूर्यको किरण वायुमण्डलमै रोकिने हुनाले जमीनमा कमै मात्र ताप आइपुग्छ। तर, जाडोका अरू कारण पनि छन्। २२ डिसेम्बर (७ पुस) सबैभन्दा छोटो दिन मानिन्छ। तर, यो वर्ष त्यसयता पनि चिसो घटेको छैन। ७ पुसमा काठमाडौंको अधिकतम तापक्रम १६.० र न्यूनतम १.५ डिग्री सेल्सियस रहेकोमा ८ र ९ पुसमा तापक्रम लगातार घट्यो।

चिसो ह्वात्तै बढ्नुमा अरब सागरबाट आएको उत्तरपश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभाव प्रमुख मानिन्छ। वरिष्ठ मौसमविद् सुमन रेग्मी उत्तर–पश्चिमी वायु नै काठमाडौंको चिसोको कारक भएको बताउँछन्। उनी भन्छन्, “तराईमा दिउँसोसम्म कुहिरो लाग्ने र शीतलहरले जनजीवन कष्टकर बनाउने देखिन्छ।”

जाडोको अर्को कारण हिमपात हो। उच्च पहाडी र हिमाली भेगमा हिउँ परेपछि बाँकी भागमा पनि स्वतः चिसो बढ्छ। वरिष्ठ मौसमविद् मणिरत्न शाक्य उत्तरपश्चिमी भारतमा हिउँ पर्न थालिसकेकाले नेपालमा तापक्रम घट्दै गएको बताउँछन्। उनका अनुसार, हिउँदे वर्षा भएको भए चिसो अझ् बढ्नेथियो।

सन् २०१४ देखि वर्षालाई प्रभावित गरिरहेको एल–निनोले गर्दा हिउँदे झ्री ढिलो भएको बताउँदै शाक्य भन्छन्, “सामान्यतः पुस पहिलो सातामा पानी नपरेकाले अहिलेको जाडो कमै हो।” एल–निनोलाई प्रशान्त महासागरको मध्य क्षेत्रमा समुद्रको तापक्रम र वायुमण्डलको अवस्थामा परिवर्तन ल्याउनमा जिम्मेवार मानिन्छ। नेपाललगायत दक्षिण एशियाली मौसममा सन् २०१६ सम्म पनि एल–निनोको प्रभाव देखिने उनको विश्लेषण छ। दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चले पनि नेपाल, भारत र पूर्वी एशियामा एल–निनो प्रभावले सुक्खापन बढाउने पूर्वानुमान गरेको छ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम केही दिनलाई माइनससम्म पुग्ने देखिन्छ।

डा. ऋषिराम शर्मा

महानिर्देशक, जल तथा मौसम विज्ञान विभाग

त्यसो त उपत्यकामा जाडो बढ्नुको कारण भौगोलिक बनावट पनि हो। उपत्यका कचौरा आकारको भएकाले हावा नचल्दा वायुमण्डल नखुलेर चिसो बढेको विभागका महानिर्देशक शर्मा बताउँछन्। बढ्दै गएको प्रदूषण पनि तापक्रम घटाउन सहयोगी भएको बताउँदै उनी भन्छन्, “प्रदूषणले सूर्यको विकिरण सोस्छ, विकेन्द्रित गर्छ।” तराईमा शीतलहरबाट जोगिने उपाय खोज्न ढिलो भइसकेको छ। तर, छिट्टै घाम लाग्ने मध्य तथा उच्च पहाडी क्षेत्रमा भने आत्तिनु नपर्ने मौसमविद्को ठहर छ।

गत वैशाखको महाभूकम्पबाट घर गुमाएकाहरूलाई बिरामी बनाउन भने अहिलेको जाडो पर्याप्त छ। त्यसो त मधेश आन्दोलन र नाकाबन्दीले इन्धन अभाव भएपछि शहरियालाई पनि न्यानोको जोहो गर्न सजिलो छैन। चिकित्सकहरू यस्तो वेला बालबालिका, वृद्धवृद्धा र बिरामीप्रति विशेष सावधानी अपनाउनुपर्ने बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनी शरीरमा तापक्रमको कमीबाट हुने हाइपोथर्मियाबाट जोगिन वेलैमा उपाय खोज्नुपर्ने सल्लाह दिन्छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी चिसो बढेकाले एकाबिहानै मर्निङ वाक् नगर्न र शरीरका विभिन्न अंगलाई चिसोबाट बचाउन सुझाव दिन्छन्। उनी चाँडै चिसो प्रवेश गर्ने टाउको, घाँटी, छाती, हात र खुट्टा जोगाउन ध्यान दिनुपर्ने बताउँछन्।

स्रोतः मौसम पूर्वानुमान महाशाखा


चिसोबाट जोगिन खोप

चिसोबाट अधिक प्रभावित समूहमा पर्ने वृद्धवृद्धाका लागि बजारमा खोप समेत उपलब्ध छन्। ६०–७० वर्ष उमेर पुगेकाहरूका लागि 'प्रिभिन्यार १३' नामक खोप आएको चिकित्सक बताउँछन्। करीब रु.५ हजार मूल्य पर्ने यो खोप एकपटक लगाए पुग्छ। निमोनियाबाट बच्न एन्टी–निमोनिया खोप लगाए जस्तै यो खोप लगाएपछि चिसोले असर नगर्ने डा. प्रकाशराज रेग्मीले बताए। वयस्क र बालबालिकालाई भने यस्तो खोप लगाउन सुझाइएको छैन।


'चिसोबाट यसरी जोगिऔं'

डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ

चिसोबाट बालबालिका, वृद्धवृद्धा र बिरामीहरू विशेष सावधान रहन जरुरी छ। शरीरमा टाउको, घाँटी, छाती, हात र खुट्टाबाट चिसो सजिलै पस्छ। टाउकोबाट पसेको चिसोले पिनास, घाँटीबाट पसेकोले टन्सिल, छातीबाट पसेकोले निमोनिया, हात र खुट्टाबाट पसेको चिसोले पूरै शरीरमा असर पुर्‍याउँछ। मुटुका बिरामीलाई छाती, हात र खुट्टाबाट पस्ने चिसोले बढी असर पुर्‍याउँछ।

न्यानो बिस्तरा वा कोठा/घरबाट ह्वात्तै बाहिर निस्कनुहुँदैन। यसो गर्नाले शरीरलाई चिसो थेग्न गाह्रो हुन्छ। हृदयघात हुनुको एउटा कारण यो पनि हो। जाडोको वेला बाहिर मर्निङ वाक्मा जानु राम्रो होइन। यसको साटो घरभित्रै नियमित व्यायाम गर्नु राम्रो मानिन्छ। टोपी, गलबन्दी, पञ्जा, मोजा र ज्याकेट लगाएर मात्र बाहिर निस्कँदा धेरै हदसम्म चिसोबाट बच्न सकिन्छ।

राति सुत्नु अगाडि खुट्टालाई १०–१५ मिनेट तातो पानीमा डुबाउँदा न्यानो हुनुका साथै खुट्टा सुन्निने र रातो हुने समस्या हुँदैन। बिस्तरा झ्यालतिर छ भने थाहै नपाउने गरी चिसो छिरिरहेको हुन्छ। तातोपानी, गुन्द्रुक, सूप, दालले पनि न्यानो बनाउन मद्दत गर्दछ।

comments powered by Disqus

रमझम