सिकिस्त बिरामीको किनबेच

Share:
  
- प्रमोद आचार्य, खोज पत्रकारिता केन्द्र
राजधानीका ठूला अस्पतालहरूले एम्बुलेन्स चालकलाई कमिशन दिएर सिकिस्त बिरामी खरीद गर्छन्, कसरी?

भानु भट्टराई
एम्बुलेन्स चालकसँग मिलेर अस्पतालहरू सिकिस्त बिरामी किनिरहेका हुन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला। सामान्यतः विश्वास गर्न पनि सकिन्न कि रोगसँग संघर्ष गरिरहेको बिरामीले उपचार अघि किनबेचबाट गुज्रनुपर्छ। तर, जतिसुकै अविश्वसनीय लागे पनि काठमाडौंका अस्पतालहरूका लागि यो सामान्य चलन भइसकेको छ। यो कारोबारमा राजधानीका नामी अस्पतालहरू संलग्न छन्।

यसअघि पनि अस्पताल र एम्बुलेन्स चालकबीच बिरामी किनबेच भएका दृष्टान्त सार्वजनिक भएका थिए। खोज पत्रकारिता केन्द्र ले नै डेढ वर्षअघि पहिलो पटक यस्तो धन्दालाई सार्वजनिक गरेको थियो। अहिले के भइरहेको होला भनेर हामीले बुझन खोज्यौं। त्यसक्रममा सबभन्दा पहिले एम्बुलेन्स चालकहरूसँग कुरा गर्‍यौं, जसबाट राजधानीमा यो अनैतिक काम नरोकिएको बरु अझ् खुल्लमखुला कारोबारमा बदलिएको थाहा भयो। त्यसपछि हामीले राजधानीका नाम चलेका अस्पतालहरूमा एम्बुलेन्स चालक बनेर सम्पर्क गर्दा सबैले हाकाहाकी दर–भाउ बताए। ब्लू क्रस अस्पतालका सन्दिप भनिने व्यक्तिले स्वागत गर्दै भने, “कमिशन नदिने कुरै छैन, जमाना त्यसैको छ आउनुस् बिरामी लिएर।”

हाम्रो अनुसन्धानले के देखायो भने, एम्बुलेन्स चालकहरूले तुरुन्त विशेष उपचार चाहिने गम्भीर बिरामी भेटेपछि राजधानीका अस्पतालहरूमा फोन गरेर मोलतोल गर्छन्। बढी बिल उठाउन सकिने र लामो समय उपचार चाहिने बिरामी अस्पताल व्यवस्थापकहरूको प्राथमिकतामा पर्छन्। त्यस्ता बिरामी ल्याउने एम्बुलेन्स चालकले स्वाभाविक रूपमा बढी रेट पाउँछन्। यसरी आफू किनबेचमा परेको सुईंको न मृत्युसँग लडिरहेको बिरामीले पाउँछन् न त परिवार र अरूले नै।

यो काम यति सहजै भइरहेको छ, मानौं यो वैधानिक हो। अस्पताल व्यवस्थापन हाकाहाकी संलग्न यो कारोबारको खुला बजार र नाफा–घाटा छ। कारोबारीहरूले सरकार वा नियमनकारी निकाय पनि छ भन्ने हेक्का राख्नुपरेको छ्रैन। कारोबारीहरूप्रति स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल जस्ता जनस्वास्थ्य क्षेत्रका आधिकारिक निकायहरू मात्रै होइन, कालोबजारी र दलालीलाई कारबाही गर्ने नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालन अनुमति दिने जिल्ला प्रशासन कार्यालयहरू समेत मौन देखिन्छन्।

फस्टाउँदो धन्दा

बिरामी जति सिकिस्त उति बढी भाउ लाग्ने यो धन्दा कसरी फस्टाइरहेको छ? एक जना एम्बुलेन्स चालकको भनाइले स्थिति स्पष्ट गर्छ। उनका अनुसार, धेरैले फोनमै कमिशनको कुरा मिलाउँछन्। अलिक होशियारी अपनाउने अस्पतालहरूले चालकलाई भेटेर मात्र कुरा गर्छन्। “केही अस्पतालले बिरामी मिलाउने एजेन्ट नै राखेका छन्”, ती चालक भन्छन्, “धेरैमा कर्मचारी र डाक्टरहरूले नै कुरा मिलाउँछन्।”

यस्ता अस्पताल व्यवस्थापक, एजेन्ट, कर्मचारी र डाक्टरहरू उपत्यका बाहिरबाट बिरामी बोकेर ल्याउने एम्बुलेन्स चालकहरूको फिराकमा हुन्छन्। बिरामी ल्याइदिने चालकहरूलाई दुई तरीकाबाट पैसा दिने गरेको देखिन्छ– बिरामी ल्याए बापत आफ्नो दरभाउ अनुसार निश्चित रुपैयाँ दिने र बिरामीको उपचारमा अस्पतालमा उठेको बिलका आधारमा निश्चित कमिशन दिने। जस्तो, कलंकीस्थित सिटी सेन्टर अस्पतालको मार्केटिङ्ग हेर्ने बताउने शंकर लामाले चितवनका एम्बुलेन्स चालक बनेका हामीलाई फोनमा 'दाजुभाइ जस्तो भनेर' फकाउँदै भने, “बिरामी ल्याउनुस् १५ हजार दिन्छु।” त्यस्तै, वयोधा अस्पतालका बसन्त खड्काले भने, “बिल अनुसार मिलाएर दिन्छु नि, हुन्न!”

राजधानीको नामीमध्येको एक नर्भिक अस्पताल पनि यस्तो धन्दा गर्दोरहेछ। नर्भिकका डेपुटी जनरल म्यानेजर (डीजीएम) हनुमान गोल्छाले टेलिफोन कुराकानीमा कमिशनको अङ्कमा लामो गलफत्ती गरे। उनले 'बिरामी ल्याउनुस्, मिलाएर दिउँला' भने, पटक–पटक। पहिला कारोबार नगरेको एम्बुलेन्स चालक भएकोले हुनसक्छ, अन्तमा भने, “८ हजार त दिन मिल्दैन होला, म ६ हजारसम्म गर्दिन्छु।”

अनुसन्धानका क्रममा यस्ता अस्पताल पनि भेटिए, जो सिकिस्त बिरामी किनबेचमाथि आईसीयूको व्यापार पनि चलाउँदा रहेछन्। एम्बुलेन्स चालकलाई प्रति बिरामी रु.५ हजार दिने त्रिपुरेश्वरको ब्लू क्रस अस्पतालले भेन्टिलेटर चलाउन पनि बिरामी खरीद गर्ने गरेको रहेछ। त्यस अस्पतालका आफूलाई सन्दिप नामले चिनाउने व्यक्तिले एम्बुलेन्स चालक बनेर फोन गरेका हामीसँग पटक–पटक जान्न खोजे–बिरामीलाई आईसीयू चाहिन्छ कि, चाहिंदैन? भेन्टिलेटरमा राख्नुपर्ने कि नपर्ने? अन्त्यमा उनले भने, “ल्याउनुस् मिलाएर दिन्छु।”

अर्को संवेदनशील पक्ष, बिरामी खरीद गर्ने मामिलामा अस्पताललाई डाक्टरहरूले नै साथ दिंदारहेछन्। कस्तो बिरामी हो, अस्पतालमा कति दिन बस्छ? यसरी बस्दा कतिसम्म बिल उठ्न सक्छ भनेर डाक्टरको सल्लाह अनुसार नै अस्पतालले एम्बुलेन्स चालकसँग सौदाबाजी गर्दोरहेछ। अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालका डाक्टर बताउने व्यक्तिले एम्बुलेन्स चालकलाई पैसा लिने तरीका सिकाउँदै भनेका छन्, “बाबु! क्यास काउन्टरमा गएर ड्राइभर दाइ

भन्नु न, उसले कुरा बुझिहाल्छ।”

डाक्टरहरूले पाउने पारिश्रमिकमा बिरामीको उपचार खर्चको अङ्कले पनि महत्व राख्ने यो अनुसन्धानबाट देखिन्छ। अरू अस्पतालका कर्मचारीसँगको कुराकानीबाट यो स्पष्ट हुन्छ। जस्तो, वयोधा अस्पतालका कर्मचारी बसन्त खड्काले एम्बुलेन्स चालकसँग कुरा गर्दा पटक–पटक 'डाक्टरलाई पनि दिनुपर्छ, त्यसपछि तपाईंलाई मिलाउँला' भने।

नचिनेको चालकसँग टेलिफोनमा कमिशनको कुरा गर्नु जोखिमपूर्ण ठान्ने केही अस्पतालका कर्मचारीले भेटेरै कुरा गर्ने बताए। हामीले कुरा गरेको चितवनका एक जना एम्बुलेन्स चालकले बल्खुस्थित शिवज्योति अस्पतालले एउटा बिरामी ल्याइदिएबापत पाँच हजार रुपैयाँ दिने बताए। तर, हामीले टेलिफोन सम्पर्क गर्दा अस्पतालका कर्मचारी केशव तिमिल्सिनाले भने, “यहीं आउनुस्, फोनमा भन्न मिल्दैन।”

त्यस्तै, जावलाखेलको अल्का अस्पतालले बिरामीबाट हुने खर्चको अवस्था हेरी एम्बुलेन्स चालकलाई कमिशन दिन्छ। त्यो अंकबारे हामीले टेलिफोनमा सोधेपछि अस्पतालका सञ्चालकमध्येका एक कुमार थापाले 'त्यस्ता कुरा बाहिर भन्ने होइन नि!' भन्दै सचेत गराए। कमिशन रकमबारे दोहोर्‍याएर सोध्दा थापाले भने, “यति नै भन्ने हुँदैन, यहाँ आएर मलाई फोन गर्नू।”

कुनै वेला बिरामी ल्याइदिने एम्बुलेन्स चालकलाई 'बम्पर उपहार' मा मोटरसाइकल दिने सुन्धाराको लाइफ केयर अस्पताल अहिले नयाँ व्यवस्थापनको हातमा छ। नाकाबन्दीका कारण भन्दै अस्पतालको आईसीयू बन्द गरिएको छ। रिसेप्सनमा टेलिफोन उठाउने सुनयना नामकी महिलाले चालक कमिशनबारे केही थाहा नभएको बताइन्।

धेरै बिलमा बढी कमिशन

बल्खुस्थित वयोधा अस्पतालले बिरामीको बिल अनुसार एम्बुलेन्स चालकलाई कमिशन दिने नीति लिएको रहेछ। आईसीयूको बिरामी ल्याएमा चालकले अस्पतालमा रहँदा बिरामीले गरेको खर्चको १० प्रतिशतसम्म कमिशन पाउने रहेछ। कति प्रतिशतसम्म कमिशन दिनुहुन्छ भन्ने हाम्रो मागमा बार्गेनिङ्ग गर्दै अस्पतालका अन्तरंग सेवा (आईपीडी) इन्चार्ज बसन्त खड्काले आश्वस्त पार्दै भने, “बिरामीको बिल दुई लाख आएमा डाक्टरको कटाएर रु.१५/२० हजारसम्म दिन सकिन्छ।”

ललितपुर महालक्ष्मीस्थानस्थित गणेशमानसिंह अस्पतालले एउटा बिरामी ल्याएबापत कम्तीमा तीन हजार कमिशन दिने गरेको रहेछ। बिरामीको खर्च धेरै भए अस्पतालले बिरामी डिस्चार्ज भइसकेपछि पनि चालकलाई बिल अनुसार कमिशन थपिदिने गर्दोरहेछ। अस्पतालका कर्मचारी गोविन्द घिमिरेले हामीलाई फोनमा भने, “पहिले बिरामी लिएर आउनुस्, डाक्टरसँग कुरा गरेर मिलाउँला।”

त्यस्तै, बालाजुको जनमैत्री अस्पतालले आईसीयूमा एउटा बिरामी ल्याइदिएबापत चालकलाई तत्कालै कम्तीमा तीन हजार कमिशन दिने गरेको छ, त्यसपछि बिरामीले गर्ने खर्च अनुसार कमिशन। अस्पतालका अकाउन्टेन्ट फत्तेबहादुर चौधरीले हामीलाई टेलिफोनमा भने, “बिरामी ल्याउनु, भोलिपल्ट मलाई भेट्नु।”

बुद्धनगरस्थित ह्याम्स अस्पतालले पनि बिरामी ल्याइदिने एम्बुलेम्स चालकलाई कमिशन दिन्छ। अस्पतालका ओपीडी इन्चार्ज कुमार घिमिरेले हामीलाई टेलिफोनमा रेट बताउँदै 'लोकल ड्राइभरलाई ६००, बाहिरबाट ल्याउनेलाई रु.१ हजारसम्म दिन्छौं' भने। आईसीयूमा बस्ने बिरामी ल्याइदिने चालकको फरक रेट रहेछ। घिमिरेले टेलिफोनमा भने, “ठीकै छ, बिरामी कति बस्छ त्यही अनुसार गरौंला।”

अस्पताल सञ्चालकहरूको संस्था 'एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल' का कोषाध्यक्ष डा. राजेशकिशोर श्रेष्ठ भन्छन्, “यो अनैतिक काम हो। यस्तो काम गरेको भए सम्बन्धित अस्पताल व्यवस्थापन जिम्मेवार हुन्छ।” नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा चाहिं अस्पताल व्यवस्थापनको अनुचित कामबारे काउन्सिलले नहेर्ने तर चिकित्सकहरू यस्तो काममा संलग्न भएको पाइए स्पष्टीकरण लिने बताउँछन्।


'कमिशन लिन्छौं'

एम्बुलेन्स चालक आलोक थापाले बिरामी पुर्‍याइदिएबापत अस्पतालबाट कमिशन लिने गरेको लुकाएनन्। उनले बिरामी ल्याइदिन भनेर काठमाडौंको स्टार, सिटी सेन्टर, मेघा, वयोधा र अन्तर्राष्ट्रिय मैत्री बाल, शिवज्योति लगायतका अस्पतालबाट फोन आइराख्ने कुरा पनि खुलाए। “मेघा अस्पतालबाट त बिरामी ल्याउनुस् भनेर दिनदिनै फोन गर्छन्”, थापा भन्छन्, “फोनमा पाँचदेखि पन्ध्र हजारसम्म दिन्छौं भन्दै फकाउँछन्, तर कुनैले पाँच हजारसम्म त कुनैले तीन/चार हजार दिन्छन्।”

सिटी सेन्टर अस्पताल, कलंकी

शंकर लामाः हेलो।

पत्रकारः हजुर।

शंकरः अँ, सर। बिरामी लिएर आउन लाग्नुभएको हो?

पत्रकारः हजुर।

शंकरः लिएर आउनुस्। म यहीं हुन्छु।

पत्रकारः हजुर को बोल्नुभएको होला?

शंकरः म शंकर लामा हो। मार्केटिङ्ग हेर्छु मैले। हजुर आउनुस्। चिन्तै नगर्नुस्।

पत्रकारः कति जति हुन्छ सर?

शंकरः हजुरको के छ?

पत्रकारः म त सधैं ल्याइराख्ने मान्छे हो। बिरामी धेरै नै समय बस्छ जस्तो छ।

शंकरः तपाईंहरूले लिने रेट भनेको दश हो क्यारे। हुन्छ। त्यही गर्दिउँला नि! पत्रकारः अलि मिलाएर गर्नु न। आजकल बिरामी नै छैन।

शंकरः हुन्छ। तपाईं भन्नु न त कति गरौं।

पत्रकारः थप्दिनु न अलिअलि।

शंकरः भन्नुस् न। खुरुक्क भने भइहाल्यो नि दाजुभाइ जस्तो हो मलाई भन्दा के फरक पर्छ र?

पत्रकारः तैपनि सरले मिलाइदिए राम्रो नि!

शंकरः हुन्छ नि! त्योभन्दा माथि मैले हजुरलाई मिलाएर दिन्छु।

पत्रकारः मिलाएर कति दिनुहुन्छ भन्नु न त।

शंकरः १२।

पत्रकारः १५ मिलाइदिनु न त।

शंकरः हुन्छ सर हुन्छ।

जनमैत्री अस्पताल, बालाजु

फत्तेबहादुर चौधरीः हेलो।

पत्रकारः चौधरी सर।

चौधरीः हजुर।

पत्रकारः अघि कुरा गरेको दिदीले त जम्मा तीन हजार मात्र भन्नुहुन्छ त। चौधरीः ए हो, मैले त्यही भनेको हो सर।

पत्रकारः अलि मिलाएर गर्दिनु न त। लामो समय बस्छ के बिरामी आईसीयूमा।

चौधरीः कहाँदेखि हो?

पत्रकारः चितवनदेखि।

चौधरीः ल, ल्याउनुस् न मिलाएर दिउँला।

पत्रकारः जम्मा तीन हजार त। के गरी खर्च धान्ने हो?

चौधरीः लामो समय बस्छ भने त। कुनै आईसीयू भनेर ल्याइन्छ अनि रिफर हुन्छ।

पत्रकारः रिफर हुन्न। त्यहीं बस्छ। लामै समय बस्छ सर।

चौधरीः ल्याउनु न मिलाउँछु। अनि भोलिपल्ट बिहान भेट्नु मलाई।

पत्रकारः कति दिने भन्नु न त।

चौधरीः म मिलाएर दिन्छु सर।

पत्रकारः जम्मा तीन भन्नुहुन्छ अनि कहाँ चित्त बुझ्छ त नि!

चौधरीः म अलिकति थपेर दिन्छु।

पत्रकारः कति थप्नुहुन्छ?

चौधरीः एक दुई हजार।

पत्रकारः सात आठ हजार गर्नु न त।

चौधरीः पाँच दिन्छु म।

पत्रकारः ६ गर्नु न।

चौधरीः कसैलाई पनि दिएको छैन के ३/४ भन्दा। नेपालगन्जबाट पनि ल्या'छ कत्ति वटा।

पत्रकारः यो लामो समय बस्ने बिरामी हो नि त।

चौधरीः ल्याउनुस् न त, त्यसपछि कुरा गरौंला।

पत्रकारः ल ल ६ भन्दा तल नगर्नु है त।

चौधरीः ल। ल्याउनुस्। अनि मलाई भोलि बिहानै भेट्नुस् है।

पत्रकारः ल ल, कहाँ भेटौं।

चौधरीः एकाउन्टमा, एकाउन्टेन्ट हो म।

पत्रकारः ए, ल।

नर्भिक अस्पताल, थापाथली

पत्रकारः हेलो।

हनुमान गोल्छाः हेलो।

पत्रकारः हनुमान सर बोल्नुभा'को हो?

गोल्छाः हजुर बोल्दैछु।

पत्रकारः सर अघि मैले त्यहाँ फोन गरेको थिएँ दाइलाई तल।

गोल्छाः कहाँ हजुर, को बोल्नुभएको होला।

पत्रकारः म चितवनबाट बिरामी लिएर आउन लागेको भनेको थिएँ नि अघि।

गोल्छाः हजुर हजुर।

पत्रकारः त्यहाँ लिएर आउन लागेको, तल फोन गरेर के के हुन्छ हामीलाई भनेको, माथि हनुमान सरसँग कुरा गर्न भन्नुभयो।

गोल्छाः के चाहियो भन्नु न।

पत्रकारः बिरामी लिएर आउँछु खर्च मिलाइदिनु पर्‍यो।

गोल्छाः के कति मिलाइदिनु पर्‍यो भनिराख्नुस्। म भनिराख्छु त्यहाँ।

पत्रकारः अँ, अब, आईसीयूमा बस्छ क्यारे बिरामी लामै समय।

गोल्छाः हुन्छ हजुर आउनुस् न राति, अनि कुरा मिलाइदिउँला।

पत्रकारः कति जति दिनुहुन्छ सर?

गोल्छाः आउनुस् न पहिला।

पत्रकारः अस्ति नै आएको वेलामा नि एउटा भनेर अर्कै दिनुभो।

गोल्छाः मैले त आजसम्म कसैलाई पैसा दिएको छैन।

पत्रकारः अंकित सरले भनेभन्दा कम दिनुभयो नि त!

गोल्छाः कति भन्या कति दिएको भन्नु त!

पत्रकारः मलाई चार हजार भन्दा दिनु भएन।

गोल्छाः कति खोज्नु'भा तपाईंले।

पत्रकारः मैले आठहजार भनेको थिएँ त्यतिखेर, चार भन्दा दिनु भएन।

गोल्छाः हैन, आठहजार त दिन मिल्दैन होला हैन। तपाईंलाई म ६ हजारसम्म गर्दिन्छु।

पत्रकारः अलि मिलाउनु न दाइ। अब कहिलेकाहीं मात्र बिरामी हुन्छ।

गोल्छाः तपाईं ल्याउँदै गर्नु न। अरु वेला फेरि मिलाउँदै गरौंला नि! पत्रकारः त्यहाँ हजुरलाई भेटौं आएर?

गोल्छाः पेसेन्टलाई भर्ना गराएपछि मलाई फोन आइहाल्छ अनि म काउन्टरमा भनिदिन्छु।

पत्रकारः ए, ल।

ब्लू क्रस अस्पताल, त्रिपुरेश्वर

सन्दिपः हेलो।

पत्रकारः सन्दिप दाइ। अघि हस्पिटलमा फोन गरेको थिएँ। श्रीदाइलाई भेटिनँ। उहाँलाई भन्दा तपाईंलाई फोन गर्न भन्नुभयो। मैले बिरामी लिएर आउन लागेको।

सन्दिपः कहाँबाट?

पत्रकारः चितवनबाट हो।

सन्दिपः ए हजुर हजुर भन्नुस् न भन्नुस्।

पत्रकारः पेटको बिरामी हो। त्यहाँ आईसीयूमा लिएर आउनुपर्ने।

सन्दिपः ल्याउनुस् न। हजुर को बोल्नुभएको हो र?

पत्रकारः म त ड्राइभर हो।

सन्दिपः ए! फोन गर्नुभयो, राम्रो गर्नुभयो। मै हो सम्बन्धित। ल ल, ल्याउनु न ल्याउनु।

पत्रकारः अलिअलि कुरा हुन पर्‍यो नि!

सन्दिपः त्यो त भैहाल्छ नि! नहुने चान्स छ र! अहिले त्यसैको जमाना छ। (हाँस्दै) आउनु न।

पत्रकारः मिलाउन पर्‍यो नि, कति के हो?

सन्दिपः के केस हो?

पत्रकारः पेट सम्बन्धी हो। बिरामी लामै समय बस्ने जस्तो छ हेर्दाखेरी।

सन्दिपः ल। मिलाएर गरौंला। जसरी हुन्छ गरौंला। आउनुस्।

पत्रकारः कतिसम्म दिने हो।

सन्दिपः अरुले भन्दा कम दिन्न। राम्रै दिन्छु।

पत्रकारः पहिले ल्याउँदा घात गर्नुभयो एक–दुईपटक।

सन्दिपः यसरी सम्पर्क भए पो थाहा हुन्छ त। मेरो नम्बर राखिराख्नु।

पत्रकारः सधैं ल्याउने गरेकै हो। कति दिने कुरा गर्नु न?

सन्दिपः ल्याउनु। मलाई सम्पर्क गर्नु म मिलाउँछु। आइन्दा त्यस्तो हुँदैन।

पत्रकारः हत्तेरी सर भन्नु न कति दिने।

सन्दिपः आईसीयूमा राख्ने हैन?

पत्रकारः हो।

सन्दिपः ल्याउनुस् ल। मज्जाले दिन्छु। भेन्टिलेटर चाहिन्छ, कि चाहिंदैन?

पत्रकारः त्यो थाहा भएन।

सन्दिपः ल्याउनुस् हैन। हेर्र्छौं के कस्तो छ। त्यही अनुसार तपाईंले पाउनुहुन्छ। पाँच घटी तपाईंलाई हुँदैन।

पत्रकारः जम्मा पाँच?

सन्दिपः त्यो घटी हुँदैन भन्या शुरुमा।

पत्रकारः पहिले एकचोटि पाँच भएन, तीन दिए मलाई। एकपटक ६ दिएका थिए।

सन्दिपः पाँच लिएर जानुस्, ६ मिलाउँला नि! म मिलाइहाल्छु नि!

अल्का अस्पताल, ललितपुर

कुमार थापाः हजुर।

पत्रकारः कुमार सर नमस्कार।

थापाः नमस्कार हजुर।

पत्रकारः सर अघि मैले रिसेप्सनमा फोन गरेको थिएँ। बिरामी ल्याउन लागेको चितवनदेखि।

थापाः ए, भन्नु त के को हो?

पत्रकारः पेट सम्बन्धी हो।

थापाः पेट सम्बन्धी के गर्नुपर्ने?

पत्रकारः ठ्याक्कै मलाई थाहा छैन। यहाँबाट अल्का लैजाने भनिरा'छन्। म ड्राइभर हो के।

थापाः हुन्छ मलाई यहाँ आएर फोन गर्नु न।

पत्रकारः अनि सुन्नु न।

थापाः त्यस्ता कुराहरू बाहिर भन्ने कुरै होइन नि!

पत्रकारः मैले बुझों के सर। पहिले पनि थोरै दिएर टार्नुभो। अहिले पनि कुरा नगरी कसरी आउने त नि?

थापाः त्यस्तो यति नै भन्ने चाहिं हुँदैन। यहाँ आएर मलाई फोन गर्नु न। पत्रकारः मिलाएर गर्नु न त सर।

थापाः हस्, हस्।

शिवज्योति अस्पताल, बल्खु

केशव तिमिल्सिनाः हेलो। को बोल्नुभो?

पत्रकारः म दीपक।

केशवः कहाँबाट?

पत्रकारः भरतपुरबाट हो दाइ। अघि दिदीले हजुरसँग कुरा गर्छु भन्नुभएको थियो। त्यहाँ भेन्टिलेटर पनि चाहिन्छ होला। बिरामी लिएर आउन लागेके।

अब, के हो कुरा अलिअलि?

केशवः ए ए। आउनु न।

पत्रकारः कति दिनुहुन्छ दाइ?

केशवः त्यो, अब आउनुस् न हेरौंला।

पत्रकारः कति? मिलाएर गर्नु न अब।

केशवः हेरौंला। आउनुस् न।

पत्रकारः कति दिने भन्नु न। यो नाकाबन्दीको महँगो तेल हालेर ल्याउनु छ।
केशवः फोनमा कुरा हुँदैन हजुर।

पत्रकारः भन्दिए म ढुक्क भएर ल्याउने थिएँ।

केशवः फोनमा कुरा हुँदैन।

गणेशमान सिंह अस्पताल, महालक्ष्मीस्थान

गोविन्द घिमिरेः हेलो।

पत्रकारः हेलो सर। अघि हस्पिटलमा फोन गरेको थिएँ मैले। एउटा बिरामी ल्याउनुपर्‍यो आईसीयूमा। लामै समय बस्छ होला।

घिमिरेः के केस हो?

पत्रकारः पेटसँग सम्बन्धित हो।

घिमिरेः कहाँ हुनुहुन्छ तपाईं?

पत्रकारः म भरतपुर हस्पिटलमा छु। एक–डेढ घण्टामा हिंड्छु। त्यहाँ लिएर आउँछु मैले।

घिमिरेः हुन्छ हुन्छ। लिएर आउनुस् ल। यहाँ आइपुग्ने वित्तिकै म व्यवस्था गर्छु।

पत्रकारः कति हुन्छ भन्नु न।

घिमिरेः केस कस्तो खालको हो सर? आईसीयूमै बस्ने खालको हो?

पत्रकारः हो। आईसीयूमै बस्छ। लामै समय बस्छ। मिलाएर गर्नु न।

घिमिरेः कति लिने गर्नुभा'छ अन्यत्र तपाईंले?

पत्रकारः लिन त फरक फरक छ क्यारे। १० देखि १५ सम्म लिने गरेको छु मैले।

घिमिरेः त्यस्तो माथि त तपाईंलाई हामीले कि डिस्चार्ज भएपछि गर्न सक्छौं। अहिले तीन हजार हाल्दिउँला।

पत्रकारः साह्रै थोरै भयो सर यो त। लामै समय बस्छ बिरामी। १० गर्नु न। घिमिरेः हुँदैन त्यो त।

पत्रकारः त्यसो भए यसो गर्नु न त। अहिलेलाई पाँच गर्नु। लामै समय बसेछ भने पछि अलिअलि थपिदिनुहोला नि त।

घिमिरेः पहिले पेसेन्ट लिएर आउनुस् अनि डाक्टरसँग कुरा गरेर मिलाउँला नि!

पत्रकारः पाँच त हुन्छ नि हैन।

घिमिरेः तपाईंलाई मार पारेर गर्दैनौं के।

पत्रकारः पाँच गर्नुस् है त।

घिमिरेः लिएर आउनुस् न।

वयोधा अस्पताल, बल्खु

पत्रकारः हेलो।

बसन्त खड्काः हजुर।

पत्रकारः बसन्त खड्का सर बोल्नुभएको हो?

बसन्तः हजुर, हो हो।

पत्रकारः सर अघि मैले फोन गरेको थिएँ हस्पिटलमा। हजुरलाई फोन गर्न भन्नुभयो। मैले भन्न मिल्दैन कति दिने हो बसन्त सरसँग कुरा गर्नु भन्नुभयो।

बसन्तः यसो गर्नु न।

पत्रकारः अँ भन्नु।

बसन्तः पहिले आउनुभा'छ कि छैन।

पत्रकारः पहिले आ'को हो। पहिले आउँदाखेरि भन्या जति दिनुभएन। अब अहिले पनि त्यस्तै हो कि भनेर नि!

बसन्तः यसो गर्नु सर। बिरामी लिएर आउनुस्। के कति लाग्छ। त्यो अनुसार गरौंला।

पत्रकारः बिरामी आईसीयूमा बस्छ। लामै समय बस्छ सर।

बसन्तः ठीक छ, यसपालिदेखि के गरौं भने, एउटा रुलै बनाउँ। बिरामी लिएर आउनुस्, त्यसको खर्च के कति हुन्छ त्यो अनुसार गरौंला। म तपाईंलाई राम्रै दिन्छु। किनभने रेगुलर भएपछि हामीले राम्रै दिने गरेको छ।

पत्रकारः लिएर आउँछु। जसरी नि लिएर आउँछु। यो पटकलाई कति हो भन्नु न त। त्यसपछिको आएर कुरा गरौंला नि त! धेरै भो बिरामी लिएर नआएको। कहिलेकाहीं हुन्छ। मिलाउनु पर्‍यो नि! गाह्रो छ नि त हाम्लाई पनि।

बसन्तः ठीक छ। तपाईंलाई अहिले दिने भन्दा पछि उसको बिल हेरेर दिंदा तपाईंलाई फाइदा हुन्छ के। पछि जति बिल आउँछ त्यो अनुसार गरौंला नि!

पत्रकारः राम्रै आउँछ के सर। लामै बस्छ बिरामी। हाम्लाई नि थाहा हुन्छ नि!

बसन्तः हो हो सर। पहिले पनि हामीले कम दियौं। अब यसपालि बिल अनुसार नै दिऊँ भनेर। हुँदैन?

पत्रकारः भन्नु न भन्नु कति दिने म ढुक्क भएर आउँछु।

बसन्तः के केस हो?

पत्रकारः आईसीयूकै हो। उस्तै परे भेन्टिलेटर पनि चाहिन सक्छ।

बसन्तः एक डेढ लाखको बिल आएछ भने मिनीमम १० हजार दिन्छु। अप्रेसन हुनेवाला छ भने त्यही अनुसार दिन्छु। मिलाएर दिन्छु, मेरो यो नम्बर राखिराख्नुस्। सधैं रिलेसनमै बसौं।

पत्रकारः अहिलेलाई दश जति गर्नु है त।

बसन्तः अहिले नै होइन, तपाईंलाई फाइदा हुने गरी नै दिन्छु के। पत्रकारः १५/२० प्रतिशत दिनुहुन्छ?

बसन्तः त्यति त अलि गाह्रै हुन्छ। डाक्टरहरूलाई पनि दिनुपर्छ। पत्रकारः कति दिनुहुन्छ?

बसन्तः तपाईंलाई चित्त बुझ्ने गरी दिन्छु।

पत्रकारः १०/१२ पर्सेन्ट दिनु न त।

बसन्तः हुन्छ। चित्त बुझाउँछु। कन्फर्म हुनुस्।

पत्रकारः हस्।

बसन्तः ल पेसेन्ट चाहिं लिएर आउनुस्। पेसेन्टको नाम चाहिं तपाईं राखिराख्नुस् है।

पत्रकारः हस् सर। भन्देको भए ढुक्क हुन्थें क्यारे। भोलि फर्किंदा त चाहियो नि!

बसन्तः ल, अँ... हुन्छ। आउनुस् न।

पत्रकारः दुई लाख जति खर्च भयो भने १५/२० हजार दिनुहुन्छ नि!

बसन्तः दुई लाखको हिसाब आयो भने डाक्टरको कटाएर बाँकी हिसाब गरेरै दिन्छु।

पत्रकारः १५/२० हजार बस्छ नि हैन?

बसन्तः मिलाई दिन्छु।

पत्रकारः पछि मिलाउँछु भन्नुहुन्छ। कति जति हुन्छ थाहा भैहाल्छ नि! बसन्तः मिनीमम १०/१२ हजार हुन्छ नै तपाईंलाई।

पत्रकारः हस्।

अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल, महाराजगञ्ज

पत्रकारः हेलो। मैत्री बाल होइन?

रिसेप्सनः हो।

पत्रकारः ए दिदी चितवनबाट एउटा बिरामी ल्याउन छ के।

रिसेप्सनः हजुर।

पत्रकारः आईसीयू खाली छ?

रिसेप्सनः कुन आईसीयू चाहिएको हो?

पत्रकारः त्यही १२/१३ वर्षको हो क्यारे बिरामी।

रिसेप्सनः हस्पिटलबाट रिफर गरेको हो?

पत्रकारः हो। खाली छ कि छैन भनेर।

रिसेप्सनः भेन्टिलेटरमा राख्नुपर्ने केस त होइन नि?

पत्रकारः चाहिन्न होला। ठ्याक्कै मलाई त थाहा भएन। म त ड्राइभर हो।

रिसेप्सनः एकैछिन है। म डाक्टरलाई दिन्छु।

पत्रकारः ल।

(फोन ट्रान्सफर भयो। डाक्टर बोले।)

पत्रकारः हेलो

डाक्टरः हजुर।

पत्रकारः बिरामी ल्याउनुथियो डाक्टरसा'ब।

डाक्टरः के भएको बाबा भन्नुस् त।

पत्रकारः ठ्याक्कै मलाई त थाहा भएन। यहाँबाट लिएर आउँदैछु मैले। म एम्बुलेन्सको ड्राइभर हो के। यहाँबाट निकाल्दैछ। अब आधा घण्टापछि निकाल्छ होला। त्यहाँ खाली छ कि छैन भनेर बुझ्नलाई।

डाक्टरः कहाँबाट आउनुपर्ने? कति महीनाको बिरामी?

पत्रकारः चितवनबाट।

डाक्टरः अहिले भर्खरै निस्कन लाग्नुभएको?

पत्रकारः म आधा घण्टामा निस्कन्छु होला।

डाक्टरः कति महीनाको बच्चा बाबा?

पत्रकारः बच्चा महीनाको होइन वर्षको हो।

डाक्टरः बच्चाको नाम थाहा छ?

पत्रकारः नाम थाहा छैन। म एकछिनपछि फोन गर्छु।

डाक्टरः हस्। खाली छ खाली छ।

पत्रकारः अनि सुन्नु न।

डाक्टरः हजुर।

पत्रकारः त्यहाँ ड्राइभरहरूले भेट्ने कसलाई हो अलिअलि हुन्छ होला नि?

डाक्टरः क्यास काउन्टरमा भेट्ने।

पत्रकारः अघिकै नम्बर हो काउन्टरको? डाक्टरः क्यास काउन्टरमा ड्राइभर दाइ भन्नु न बुझिहाल्छ नि?

पत्रकारः अलिअलि दिनुहुन्थ्यो। कसलाई भेट्ने त नि?

डाक्टरः तपाईं आउने वेलामा त अरु कोही पनि बाँकी हुँदैन। काउन्टरमा त्यही एक जना त हो।

पत्रकारः ल।

(क्यास काउन्टरमा फोन गर्दा)

क्यास काउन्टरः हजुर।

पत्रकारः दिदी नमस्कार।

क्यास काउन्टरः हजुर।

पत्रकारः कुरा भएको थियो के उता डाक्टरसँग बिरामी ल्याउन भनेर। चितवनबाट ल्याउन लागेको। ड्राइभर हो के म।

क्यास काउन्टरः डाक्टरसँग कुरा गरिसक्नुभएको?

पत्रकारः कुरा भैसक्यो। लिएर आऊ पनि भनिसक्नुभयो। लिएर आउँछु मैले तर मेरो पनि त अलिअलि हुन पर्‍यो नि त व्यवस्था।

क्यास काउन्टरः तपाईं ड्राइभर हो?

पत्रकारः अँ।

क्यास काउन्टरः पाँचसय रुपैयाँ हो हाम्रो रेट आईसीयूको बिरामी हो भने।

पत्रकारः जम्मा। यो नाकाबन्दीको महँगो तेल हालेर आउनुपर्छ।

क्यास काउन्टरः यत्ति नै हो।

पत्रकारः त्यहाँ आएर कसलाई भेट्नुपर्छ?

क्यास काउन्टरः मैले नै हो पैसा दिने त।

पत्रकारः के नाम भनेर बोलाउनुपर्छ?

क्यास काउन्टरः क्यासमा आउनु न।

पत्रकारः ए ल।

ह्याम्स अस्पताल, बुद्धनगर

कुमार घिमिरेः हेलो।

पत्रकारः कुमार सर नमस्कार।

घिमिरेः हजुर भन्नु न।

पत्रकारः म चितवनबाट बिरामी लिएर आउन लागेको। त्यहाँ लिएर आउँ कि भनेको। ड्राइभर हो के म।

घिमिरेः कस्तो बिरामी हो?

पत्रकारः त्यहाँ ल्याउनुपर्ने। पेटसँग सम्बन्धित हो। त्यहाँ ल्याउन खोजेको, तपाईंसँग बुझौं भनेर हाम्रो लागि व्यवस्था के के छ? कति दिने हो? राम्रै दिने भए ल्याउनुपर्‍यो भनेर।

घिमिरेः कस्तो बिरामी हो, कहाँ बस्छ?

पत्रकारः आईसीयूमा बस्ने हो। लामै समय बस्छ।

घिमिरेः ठीकै छ। बिरामी कति बस्छ, त्यही अनुसार गरौंला नि!

पत्रकारः अहिले भने पो म ढुक्क भएर ल्याउँछु त।

घिमिरेः अहिले तुरुन्त त केही हुँदैन।

पत्रकारः पछि कति दिनुहुन्छ त नि?

घिमिरेः हजुर?

पत्रकारः दिदीलाई भनेको एक महीनाभित्र दिन्छौं भन्दै हुनुहुन्थ्यो।

घिमिरेः ए हजुर।

पत्रकारः जति दिए पनि कति दिने हो भन्नु न त। म लिएर आउँछु।

घिमिरेः लोकल ड्राइभरहरूको ६०० रुपैयाँ हो।

पत्रकारः जम्मा?

घिमिरेः अँ। बाहिरबाट ल्याउने भए हजारसम्म दिन सकिन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट (पत्रिकाको अावरणमा प्रयोग भएको तस्वीर बिरामी किनबेच घटनासँग सम्बन्धित होइन) - See more at: http://www.himalkhabar.com/118602#sthash.tiky9k0v.dpuf

(अस्पताल र एम्बुलेन्स चालकबीचको बिरामी किनबेच प्रकरण सार्वजनिक गर्ने उद्देश्यले खोज पत्रकार प्रमोद आचार्यले एम्बुलेन्स चालक बनेर सम्बन्धित अस्पतालका कर्मचारी/एजेन्टसँग गरेको टेलिफोन वार्ता। वार्ताको अडियो रेकर्ड www.himalkhabar.com र www.cijnepal.org.np मा सुन्न सकिन्छ।)

comments powered by Disqus

रमझम