विमुख कांग्रेस

Share:
  
- रघु पन्त
नेपाली कांग्रेसका नेताहरूले आफ्नै दलका अविचल राष्ट्रवादी नेता कृष्णप्रसाद भट्टराईबाट प्रेरणा लिएर अगाडि बढ्ने इच्छा देखाएका छैनन्।

भानु भट्टराई
८ पुसमा ललितपुरको बाडेगाउँमा कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अनावरण गरियो। भट्टराईको ९२औं जन्मजयन्तीको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानमा गरिएको कार्यक्रममा सालिक अनावरण गरेका प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भट्टराईको विशेषताबारे आ–आफ्नो धारणा व्यक्त गरे।

एक व्यक्तिका रूपमा कृष्णप्रसाद भट्टराईले देखाएका व्यवहारबारे विभिन्न व्यक्तिका आ–आफ्ना अनुभव र टिप्पणी रहे पनि भट्टराई नेपाली राजनीतिका विशिष्ट व्यक्तित्व थिए। संसार, राजनीति, सिद्धान्त र जीवनलाई हेर्ने, बुझने, भोग्ने र जिउने उनका आफ्नै शैली थिए। उनले जीवन जिउने र राजनीति गर्ने आफ्नै पद्धति विकास गरेका थिए। उनले अपनाएको सिद्धान्त, व्यवहार र दृष्टिकोणलाई उनका अनुयायी हुँ भन्ने कांग्रेसजनले पछ्याएका छैनन्। पछ्याउन सम्भव पनि छैन, किनभने त्यो गुण र विशेषता अहिले कांग्रेसका कुनै नेतामा छैन।

प्रखर राष्ट्रवादी

भारतमा जीवनको एउटा कालखण्ड बिताएका, काशीमा शिक्षा–दीक्षा हासिल गरेका र बनारसी मस्तपनालाई आफ्नो जीवनशैलीमा पनि मिसाएका कृष्णप्रसाद भट्टराई नेपालको राजनीतिमा स्थापित भएपछि फेरि भारतमा निर्वासित हुन गएनन्। राजा महेन्द्रले पार्टी प्रतिबन्धित गरेर जेल हाल्दा लामो समय जेल बसे। फेरि जेल जान तयार भए तर प्रवासमा गएनन्। बीपी कोइराला र गणेशमान सिंहलगायत शीर्षस्थ नेता भारत प्रवासमा गएर पञ्चायत विरुद्ध संघर्षरत रहँदा उनले भने पञ्चायतलाई देशभित्रैबाट चुनौती दिइरहे। देशभित्रको उनको उपस्थिति पञ्चायती तानाशाहीका विरुद्ध एउटा बलियो चुनौती थियो। देशभित्र उनको उपस्थिति त्यसवेला कांग्रेस कार्यकर्ताका लागि मात्र नभएर लोकतन्त्रप्रति निष्ठावान्हरूका निम्ति पनि ढाडस बनेको थियो।

कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि अत्यधिक लोकप्रिय बने। २०४६ सालको जनआन्दोलनको सफलतापछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईले कांग्रेस, वाममोर्चा र राजाका प्रतिनिधि समेत रहेको सरकारलाई समन्वयकारी ढंगले चलाएनन् मात्र, राजदरबार र नेपाली जनताबीच पुलको भूमिका समेत राम्रोसँग निर्वाह गरे। उनको यही भूमिकाले गर्दा दरबारभित्रका दक्षिणपन्थी र सडकका उग्र वामपन्थीहरूले स्थितिलाई चर्काउन पाएनन्, २०४७ सालको संविधान सहज रूपले जारी हुन सक्यो।

संविधानप्रति आफ्ना केही असन्तुष्टि रहे पनि राजा वीरेन्द्रले शालीनतापूर्वक संविधान जारी गरे भने सबैभन्दा ठूलो र निर्णायक वामपन्थी शक्तिको रूपमा रहेको नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले संविधान जारी गर्नैपर्ने आवश्यकतालाई आत्मसात् गर्दै पार्टीको तर्फबाट संविधानप्रति आलोचनात्मक समर्थन व्यक्त गरे। २०४७ सालको संविधान निर्माणमा कांग्रेस र एमालेले निर्णायक भूमिका खेले भने किनाराको साक्षीको रूपमा असन्तुष्ट हुँदाहुँदै पनि दरबारको सहयोगी भूमिका रह्यो।

राष्ट्रियता सम्वर्द्धन गर्ने दृष्टिकोणबाट हेर्ने हो भने २०४७ सालको संविधान अहिलेसम्मको सबभन्दा राम्रो ठहरिनेछ। संविधान लेखनको दृष्टिकोणबाट पनि अझ्ैसम्म उक्त संविधान अत्यन्त प्रष्ट, छरितो र लोकतान्त्रिक देखिन्छ। संविधान जारी गर्ने दायित्व लिएर गठन भएको एकवर्षे सरकारको अवधि पुग्नु भन्दा अगावै संविधान जारी भएको थियो। संविधानप्रति केही असहमति, विरोध र असन्तुष्टि त्यसवेला पनि सार्वजनिक भएका थिए।

आफ्नो सम्पूर्ण जीवन नेपाली कांग्रेसको नेताका रूपमा बिताएका, एउटा महत्वपूर्ण कालखण्ड पार्टी सभापति रहेका र त्यही पार्टीको तर्फबाट दुईपल्ट प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईले आफ्नो जीवनको अन्त्यतिर आएर त्यही पार्टीसँग सम्बन्धविच्छेद गरे। कांग्रेसले गणतन्त्रमा समर्थन जनाएपछि उनको मोहभंग भएको देखियो। संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको निरन्तरता चाहेका भट्टराईले कांग्रेसको गणतन्त्रतर्फको प्रस्थान एक हदसम्म बाध्यात्मक थियो भन्ने बुझन सकेको देखिएन।

दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनाश र ज्ञानेन्द्रको राज्यारोहण नेपाली जनताले सहज रूपमा स्वीकार गर्न अप्ठ्यारो मानिरहेको अवस्थामा सबै राजनीतिक दलहरूलाई किनारा लगाउँदै आफ्नो नेतृत्वमा मन्त्रिमण्डल गठन गरेर शासन चलाउने ज्ञानेन्द्रको हठले नै वास्तवमा दलहरूलाई गणतन्त्रतर्फ घचेटेको थियो। तर, आफ्नो सिद्धान्त आफ्नै पार्टीसँग नमिलेपछि आफ्ना मान्यतामा अडिग रहँदै भट्टराई जीवनको अन्त्यतिर राजनीतिमा निष्त्रि्कय बने। उनलाई हामीले सम्झ्ने उनको त्याग, साहस, लोकतन्त्रप्रतिको प्रतिबद्धता, आर्थिक रूपले शुद्ध आचरण र सरल जीवनका लागि हो। सँगसँगै उनको प्रखर राष्ट्रवाद हामीले बिर्सनै नहुने महत्वपूर्ण पक्ष हो। छिमेकीलाई मूर्दावाद नभनी आफ्नो राष्ट्रिय हितमा अडान राख्ने, उत्ताउलो क्रान्तिकारी नदेखिइकन नरम शैलीमा देशको हित रक्षा गर्ने उनीबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्छ।

कुन बाटोमा कांग्रेस?

नेपाली कांग्रेसमा देशभक्तहरूको खडेरी परेको छ भन्ने मलाई लाग्दैन। कांग्रेसभित्र कृष्णप्रसाद भट्टराईले राजनीतिक जीवन उकासिदिएका र उनलाई आदर्श मान्नेहरू पनि छन्, तर यतिवेला उनीहरूको राष्ट्रवादी स्वर र अडान कमजोर बन्दै गएको छ। कांग्रेसभित्र उनीहरूको भूमिका कमजोर बन्दै गएको छ।

नेपाल आज जुन अप्ठ्यारोमा फसेको छ, त्यसको लागि जिम्मेवार प्रमुख शक्ति कांग्रेस पनि हो। संविधानसभाबाट संविधान जारी गर्ने वेलामा र देशमा भारतीय नाकाबन्दी लाग्दा कांग्रेसको नेतृत्वमा सरकार थियो। त्यसैले देशको अप्ठ्यारो अवस्थाको जिम्मा केपी ओली नेतृत्वको वर्तमान सरकारलाई लगाएर रमिते भएर कांग्रेसले बस्न मिल्दैन। सुशील कोइरालाले संविधान जारी भएपछि सरकार छोड्छु र केपी ओलीलाई जिम्मा लगाउँछु भनेर बारम्बार सार्वजनिक रूपमा दिएको वचन पालन गर्दै प्रधानमन्त्री पदमा दोहोर्‍याएर चुनाव नलडेको भए अनि ओली नेतृत्वको सरकारमा सहभागी भएको भए राष्ट्रिय शक्तिहरूमा विभाजन आउने थिएन। तर, कोइराला रहस्यमय ढंगले चुके।

गिरिजाप्रसाद कोइरालाले निर्वाचन अघि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेका थिए। निर्वाचन जितेपछि बाध्य भएर प्रधानमन्त्री पनि बनाए, तर चाँडै हट्न बाध्य पारे। त्यसले कांग्रेसमा नराम्ररी अन्तरकलह बढायो। गिरिजाप्रसादको जस्तै अरूलाई प्रधानमन्त्री पदमा देख्नै नसक्ने रोग कतै सुशील कोइरालामा सरेको त हैन? कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने भन्यो, तर गैरजिम्मेवार भूमिका खेलिरहेछ। संविधान संशोधनको लागि बनाइएको तीनबुँदे रोडम्यापमा कांग्रेस, एमाले र एमाओवादी समेत एकातिर सहमत हुने अर्कोतिर कांग्रेसका नेताहरूले संयुक्त मधेशी मोर्चासँग छुट्टै छलफल गरेर वेग्लै सहमति बनाउन खोजेको जस्तो देखिने कार्य यतिखेर भइरहेको छ।

बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता विदेशी हस्तक्षेप र दबाब नसहने नेताहरूले जन्माएको, हुर्काएको नेपाली कांग्रेस आज राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान र नेपाली जनताको इच्छा आकांक्षा विपरीत चल्न थालेको छ। यतिखेर सत्ता स्वार्थ र आगामी महाधिवेशनको गुट स्वार्थलाई भन्दा देश हितलाई केन्द्रमा राखेर चल्नुपर्ने अवस्था हो, तर कांग्रेस नेतृत्व वहकिएको छ। कांग्रेसले मधेशी मोर्चाका नेताहरूलाई फकाउन सकेको छैन बरु मधेशी नेताहरूले कांग्रेसलाई फसाउन लागेको देखिंदैछ। आफ्नै प्रस्ताव, अडान र निर्णयहरूमा अड्न नसक्ने पीपलपाते प्रवृत्तिले देशलाई ठीक बाटोमा डोर्‍याउन सक्दैन।

कृष्णप्रसाद भट्टराईको ९२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका थुप्रै नेताहरू उपस्थित थिए। कुनै नेता वा व्यक्तिप्रति श्रद्धा व्यक्त गर्दा उसका विशेषताहरूबाट प्रेरणा लिने र सम्भव भएसम्म पछ्याउने प्रयत्न पनि गर्न सक्नुपर्छ। यतिवेला भट्टराईबाट नेपालका राजनीतिक दलहरू विशेषतः कांग्रेसका नेताहरूले सिक्नुपर्ने भनेको उनको राष्ट्रवाद हो।

नेपाल आफ्ना मित्रराष्ट्रहरूसँग मिलेर, सक्दो सहयोग लिएर र दिएर मित्रतापूर्वक बस्न चाहन्छ। त्यसको लागि हाम्रो आफ्नो आन्तरिक मामला आफैं मिलाउँछौं भन्ने हिम्मत भने नेपाली दल र नेताहरू आफैंले देखाउनुपर्छ। त्यसको लागि सत्तास्वार्थ त्यागेर एकताबद्ध हुने क्षमता चाहिन्छ। कांग्रेसका नेताहरूले एउटा निस्पृह, अग्ला र अविचल राष्ट्रवादी नेताका रूपमा रहेका नेता कृष्णप्रसाद भट्टराईबाट यस्तो प्रेरणा लिऊन्।

comments powered by Disqus

रमझम