१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

बलियो घर

Share:
  
महँगो डण्डी, ईंटा र सिमेन्ट राख्दैमा घर बलियो हुँदैन।

भूकम्प प्रतिरोधी घरको नमूना।
सामान्य त्रुटिका कारण १२ वैशाखको महाभूकम्पमा धेरै घर भत्किए। गुणस्तरीय निर्माण सामग्री प्रयोग गरिएका बलियो भनिएका कतिपय घर पनि भूकम्पको धक्काले गर्ल्यामगुर्लुम ढले।

मोटा डण्डी, एक नम्बर ईंटा र सिमेन्ट धेरै राख्दैमा घर बलियो नहुनेरहेछ। विशेषज्ञको प्रत्यक्ष निगरानीमा आचारसंहिता पालना गरी बनाएको घर नै वास्तवमा बलियो र सुरक्षित हुनेरहेछ। भूकम्पले सिकाएको एउटा पाठ हो, यो।

स–साना कुरामा ध्यान नदिंदा वा थाहा नपाउँदा पनि घर कमजोर बन्न पुग्छ। तीन तलासम्मका एक हजार वर्ग फीट क्षेत्रफलका आवासीय घर कसरी बलियो बनाउने? यहाँ केही सुझाव दिइएको छ।

ख्याल राखौं

घर बनाउँदा घरको लम्बाइ र उँचाइ, चौडाइको तीन गुणाभन्दा धेरै हुनुहुँदैन। जस्तो, १२ फीट चौडाइ भएको घरको लम्बाइ र उँचाइ ३६ फीटभन्दा बढी हुनुहुन्न।

घरको आकार सकेसम्म अंग्रेजी अक्षर एल, टी वा यू जस्तो बनाउनुहुन्न। यस्ता आकारका घर बलियो हुँदैनन्। बनाउनै परे वेग्लावेग्लै ब्लकमा बनाउनुपर्छ। पिलर र गारो एउटै लहरमा हुनुपर्छ। सबै पिलरलाई बीमले बाँधेको हुनुपर्छ भने सबै बीम पिलर हुँदै गएको हुनुपर्छ।

घर बलियो हुन पिलर र बीम बलियो भएर मात्रै पुग्दैन, जोर्नी झ्नै बलियो हुनुपर्छ। छेउछेउका पिलरहरूमा जहाँ बीम टुंगिन्छ, त्यहाँ बीमबाट आएका माथिल्लो भागका डण्डीहरू तलतिर र तल्लो भागका डण्डीहरू माथितिरको पिलरमा मोड्नुपर्छ। पिलर, बीम र जोर्नीमा बाँधिने रिङ बनाउने डण्डीको मोटाइ कम्तीमा सात मिलिमीटर हुनुपर्छ।

झयाल, ढोका तथा भित्तेदराज जस्ता खाली भागहरू कोठाको कुनाबाट कम्तीमा दुई फीट पर राख्नुपर्छ। कुनामा झयाल–ढोका वा आलमारी बनाइएका घरका भित्ताहरू पनि भुईंचालोमा भत्किएका देखिए।

ढलान (कंक्रिट) बनाउँदा कम्तीमा सिमेन्ट एक भाग, बालुवा दुई भाग र गिट्टी चार भाग हुनुपर्छ। ढलानको मिश्रण राम्ररी मुछिएको हुनुपर्छ। अचेल ग्राहकले भने बमोजिम कारखानामै ढलान तयार पारी निर्माणस्थलमा ल्याइदिने कम्पनी पनि छन्। घरमै मसला बनाउनुभन्दा यसरी मिसाइएको रेडिमिक्स कंक्रिट (आरएमसी) उपयोग गर्नु राम्रो हुन्छ। झयाल, ढोका, भेन्टिलेसन जस्ता भाग पिलरसँगै जोडेर राखियो भने पिलरको भाग कमजोर हुन्छ। विशेषगरी भूकम्पका वेला झयाल वा भेन्टिलेसनसँग जोडिएको खुला भागमा क्षति पुगेको देखियो।

पिलर उठाएर छोड्ने र लामो समयपछि मात्र थप पिलर तथा छत ढलान गरे घर बलियो हुन्न। यदि त्यसरी छोड्नै पर्ने भए काठ वा ढुंगाको कम्तीमा ४138४ इन्चको काठको ब्लकलाई ढलानको वेला पिलरभित्र राखी भोलिपल्ट निकाल्नुपर्छ। यसरी बनाइएको खोपिल्टोमा थप भाग राम्रोसँग गाँसिन्छ।

पिलरका डण्डी गाँस्दा डण्डीको मोटाइको ६० गुणा खप्ट्याउनुपर्छ भने गाँस्ने ठाउँ बीमबाट कम्तीमा पनि दुई फीट टाढा हुनुपर्छ। बीममा डण्डी गाँस्नुपरेमा पनि त्यसैगरी खप्ट्याउनुपर्छ। सबै डण्डी एकैठाउँमा गाँस्दा पिलर बलियो हुँदैन। राम्रोसँग नगाँसिएमा डण्डी जति मोटो भए पनि काम लाग्दैन।

घरमा पिलरपछि अर्को महत्वपूर्ण भाग बीम हो। बीमका सबै डण्डीहरू पिलरको डण्डीभित्रबाट जानुपर्छ। बीमको डण्डी बाँध्ने रिङको दूरी पिलरबाट दुई फीटसम्म चार–चार इन्चमा र बीच भागमा ६–६ इन्चको दूरीमा राख्नुपर्छ। तर गाँसिएको ठाउँमा चाहिं चार इन्च दूरीमा नै राख्नुपर्छ।

भित्तामा झयालमुनि (सिल लेभल) र झयालमाथि (लिन्टेल लेभल) ९ इन्च मोटाइको कम्तीमा दुई वटा तीन लाइनको डण्डी राखेको बीम बनाउनुपर्छ। यसको लागि पिलर बनाउँदै गर्दा निकालिएको डण्डीमा सिल र लिन्टेल बीमलाई गाँस्नुपर्छ।

comments powered by Disqus

रमझम