विद्युतीय सामग्रीको रेखदेख

Share:
  
बिजुली आउने–जाने टुंगो नभएका वेला विद्युतीय सामग्री बिग्रन नदिन धेरै कुरामा होश पुर्‍याउनुपर्छ।

काठमाडौंस्थित ट्राइलर्ड प्रालिकी सृष्टि जोशी यताका केही महीना घरका विद्युतीय सामग्रीप्रति निकै ध्यान दिन थालेकी छन्। बिजुली आउने/जाने कुनै टुगो नहुँदा अचेल उनी फ्रिज, ओभन, वासिङ मेशीन, टीभी, कफी मेकर आदिलाई प्लगबाट छुटाएर राख्छिन्। “पहिले चौबीसै घण्टा प्लगमा जोडिराख्थें”, उनी भन्छिन्, “तर, भर्खरै हाई भोल्टेजले बिजुली सर्ट हुँदा इन्डक्सन चूलो बिग्रिएदेखि सचेत भएकी छु।”

खाना पकाउने ग्याँसको विकल्पमा प्रयोग भइरहेको इन्डक्सन चूलो चलाउन नजान्दा धेरैले अनावश्यक दुःख पाइरहेका छन्। विद्युत् आउनासाथ सबैले एकैपटक इन्डक्सन र विद्युतीय वस्तु प्लगमा जोडिहाल्ने भएकाले बिजुली सर्ट भएर सामान बिग्रिने मात्र होइन, ट्रान्सफर्मरमा क्षति पुगेको पनि सुनिन थालेको छ। त्यसैले विद्युतीय सामग्री प्रयोग गर्दा धेरै कुरा थाहा हुनुपर्ने नक्खुस्थित एसी प्रालिका अनिल अवाल बताउँछन्। “इन्डक्सन चूलो चलाउँदा छेउछाउमा क्याल्कुलेटर, चक्कु जस्ता चुम्बकीय सामग्री राख्नुहुँदैन”, उनी भन्छन्, “चूलो चलाइसकेपछि तुरुन्तै कपडाले छोप्दा आगलागी हुन सक्छ।” एक दशकदेखि विद्युतीय उपकरण मर्मत गरिरहेका उनी विशेषगरी भोल्टेज ख्याल गर्न सुझ्ााउँछन्। “भोल्टेज नियन्त्रण गर्न स्टेबलाइजर राख्न सकिन्छ”, उनी भन्छन्। बजारमा एसी भोल्टेज स्टेबलाइजर, इन्डस्ट्रियल स्टेबलाइजर, डिजिटल भोल्टेज स्टेबलाइजर आदि उपलब्ध छन्।

भुईं बढार्न भ्याकुम क्लिनरदेखि रोटी पकाउन रोटी मेकरसम्म विद्युतीय सामग्रीको भर पर्न थालेका हामी सामानको आयु बढाउन सतर्क भने हुनै पर्छ। यसका लागि सामानमा फोहोर लाग्न नदिने, धूलो जमिहाले सफा गर्ने जस्ता साधारण कुरामा ध्यान दिनुपर्छ। उपकरण किन्दा साथै हुने 'युजर गाइड' वा 'म्यानुएल' मा प्रयोग गर्ने तरीका, रेखदेखका उपाय र मर्मतबारे जानकारी समेटिएको हुन्छ। त्यसलाई राम्ररी पढ्नुपर्छ।

के गर्ने, के नगर्ने?

फ्रिज वा वासिङ मेशीनभित्रको भागमा धूलो थुप्रिए राम्ररी चल्न सक्दैनन्। तरकारी, फलफूल आदि राख्दा फ्रिजको ग्यासकेटमा माटो, बालुवाका कारण चिसो हावा छिर्ने भाग बन्द भएमा सामान कुहिन पनि सक्छ। ढोका राम्ररी बन्द नभएमा फ्रिजमा समस्या आएको भन्ने बुझ्नुपर्छ। वासिङ मेशीनमा धोएका लुगा पहिलेजति सुकिला भएनन् भने मेशीनभित्र धूलो–मैलो, धागो आदि टाँसिएछ भन्ने बुझ्नुपर्छ र ड्रम सफा गर्नुपर्छ। लुगा धोइसकेपछि केहीबेर मेशीनको ढोका खुलै राखेमा भित्रको वाफ उड्न पाउँछ।

भ्याकुम क्लिनर, एयर कन्डिसनरमा फोहोर–मैला रोकथामका लागि फिल्टर जडान गरिएको हुन्छ। फिल्टरमा जमेको धूलो वा ढुसी निकालेमा मेशीन चाँडै बिग्रिन पाउँदैन। विद्युतीय सामग्रीका तार र होस पाइपहरू वेला–वेलामा जाँच्नुपर्छ। जलेको वा पग्लिएको पाइएमा तुरुन्त फेरिहाल्नुपर्छ। होस पाइप फुटेमा वा चर्किएमा फ्रिज वा वासिङ मेशीनबाट पानी बाहिर निस्किन थाल्छ।

ओभन चलाउनेले त्यसभित्र बिर्सेर पनि फलामका भाँडा, डेक्ची वा प्लेट राख्नुहुँदैन। खाना प्याक गर्न आल्मोनियम फोयल प्रयोग गरिएको छ भने ओभनमा हाल्दा फोयल झिक्नुपर्छ। मेशीन चलाउँदा माथिल्लो भाग छोप्नुहुँदैन र खाना निकालेपछि मेशीनभित्र झारेका खानाका टुक्राटाक्री टिप्नुपर्छ। जुन प्रयोजनका लागि सामान बनेको हो, त्यही प्रयोजनका लागि मात्रै प्रयोग गर्नुपर्ने एसी प्रालिका अवाल बताउँछन्। “राइस कुकरमा हामी पानी, दूध उमाल्छौं”, उनी भन्छन्, “यसो गर्दा सामान बिग्रिन्छ।”

इलेक्ट्रिक कित्लीमा पानी तताउँदा पानीको अधिकतम र न्यूनतम मात्रा ख्याल गर्नुपर्छ। मात्रा घटबढ भएमा कित्ली असमयमै बिग्रिन्छ। घरमा सोलार नहुनेले रडले पानी तताएर नुहाई/धुवाई गर्ने गरेका छन्। त्यसो गर्नेले रडमा उल्लिखित उँचाइ छुने गरी बाल्टिनमा पानी हालेर मात्रै बिजुलीमा जोड्नुपर्छ।

सजना बराल

comments powered by Disqus

रमझम