१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

छनोटमा छोटा चलचित्र

Share:
  
- सजना बराल
थोरै जनशक्ति, लगानी र प्रविधिबाटै विषयवस्तु बुझाउन प्रभावकारी हुने भएकाले छोटा चलचित्रप्रति युवा लोभिएका छन्।

पत्रकार आयुष निरौला (२७) १२ वैशाखको महाभूकम्पलगत्तै काठमाडौंको टुँडिखेल पुगे। समाचार संकलनका क्रममा उनले छेवैको वीर अस्पतालभित्र केही युवा घाइतेलाई उपचारमा सघाउन तल्लीन देखे। “प्रकोपका वेला स्वस्फूर्त रुपमा व्यवस्थित तरीकाले स्वयंसेवा गरेको देख्दा प्रभावित भएँ”, आयुष भन्छन्, “अनि, ६/७ दिन लगाएर उनीहरूको गतिविधि खिचें।”

युवा स्वयंसेवीको सार खिचेका आयुषको लघु चलचित्र 'आफ्टर द क्वेक' हालै सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रदर्शन गरियो। 'सेस्मिक सिफ्ट' विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित चलचित्रले उनलाई रु.८० हजारको पुरस्कार दिलायो। पहिलो चलचित्र नै पुरस्कृत भएर हौसिएका उनी मन छुने विषय पाउनासाथ कुदिहाल्ने बताउँछन्।

आयुष झै माइल्स राई (२३), ईश्वर कोइराला, अमेश भण्डारी (२०), श्याम कार्की (३०), सरल गुरुङ, प्रदीप पोखरेल (२९) आदिलाई पनि किम्फको प्रोत्साहनपछि यही विधामा काम गर्ने जाँगर बढेको छ। अस्कर इन्टरनेशनल कलेज अफ फिल्म स्टडिज्मा अध्ययनरत माइल्स भन्छन्, “हामी जस्ता विद्यार्थीलाई कौशल देखाउन किम्फ जस्तो चलचित्र महोत्सव ठूलो अवसर बनिरहेको छ।” उत्कृष्ट दशमा पर्न सफल माइल्सको चलचित्र '१२' मा भूकम्पका वेला 'ईश्वरले बचाउँछन्' भन्दै कोठामै बसेका एक परिवारले कसरी अकालमै मृत्युवरण गर्न पुगे भन्ने देखाइएको छ।

किम्फसँगै फिल्म साउथ एशिया, सिक्स्टी सेकेन्ड्स फिल्म फेस्टिभल, एकादेशमा जस्ता महोत्सवले छोटा चलचित्रलाई विशेष ठाउँ दिन थालेपछि नै यो विधामा आफ्नो आकर्षण बढेको 'एफोर्ट' निर्देशक ईश्वर कोइरालाको भनाइ छ। १२ वर्षदेखि चलचित्र तथा म्युजिक भिडियो निर्देशन र सम्पादन गर्दै आएका उनी पछिल्लो समय छोटा चलचित्रतर्फ मोडिएका छन्। भूकम्पको चार महीनापछि केही विदेशी स्वयंसेवीसहित रसुवाको गत्लाङ गाविस पुगेका ईश्वरले १८ दिनको त्यहाँको बसाइलाई चलचित्रमा उतारेका छन्।

वृत्तचित्र सम्पादन गर्दै आएका काठमाडौंका श्याम कार्की पनि छोटा चलचित्रतर्फ आकर्षित भएका छन्। यसपालिको किम्फमा 'दी एक्स्पेरियन्स (ऊ आयो, आयो)' चलचित्र देखाएका उनी नाकाबन्दीकै विषयमा नयाँ चलचित्र बनाउने सोचमा छन्। कार्की भन्छन्, “कुनै पनि विषयलाई बाहिर ल्याउन छोटा चलचित्र प्रभावकारी माध्यम हुँदा रहेछन्।” सकेसम्म महोत्सव नभए सामाजिक सञ्जालबाटै चलचित्र देखाउँदा पनि विषयवस्तु उजागर गर्न सकिने उनी बताउँछन्।

चलचित्रको ढोका

'राइजिङ फ्रम एपिसेन्टर' मा भूकम्पपछिको तहसनहसपछि गोरखाका बारपाकवासी जुर्मुराएको कथा देखाएका प्रदीप पोखरेल (२९) सन् २००९ देखि छोटा चलचित्र निर्देशनमा लागेका हुन्। यसपटक उनले भूकम्पमै आधारित चार वटा चलचित्र बनाएका थिए। छोटा चलचित्रलाई प्रोमो मात्र मान्ने उनी सबै चलचित्रको लामो 'भर्सन' निकाल्ने सुरमा छन्।

कथानक चलचित्र वा लामो अवधिको वृत्तचित्र बनाउने रहर भएकाहरूका लागि पनि छोटा चलचित्र प्रवेशद्वार बनेका छन्। किम्फका लागि 'सिन्धुपाल्चोक भूकम्प' बनाएका सिन्धुपाल्चोक, नौकिलोका अमेश भण्डारीले कथानक चलचित्र बनाउने लक्ष्य लिएका छन्। “अहिलेलाई भने छोटा चलचित्र नै बनाउँछु”, अस्कर कलेजमा अध्ययनरत उनी भन्छन्, “धेरै लगानी गर्नुपर्दैन। सोच भने चाहिन्छ।” उपलब्ध प्रविधिमै बनाउन सकिने छोटा चलचित्रले वर्तमानको अभिलेख राख्न महत्वपूर्ण भूमिका खेल्ने 'जर्नी टु होम' का निर्देशक सरल गुरुङ बताउँछन्। टेलिभिजन पत्रकारितामा संलग्न उनी भन्छन्, “समाजका स–साना मुद्दालाई ३६० डिग्रीको कोणबाट देखाउँदा जनमानसमा ठूलो प्रभाव छोड्न सक्छ।”

निर्देशकका रूपमा चिनारी बनाउन छोटा चलचित्रतिर लागेका माइल्स राई यो विधामा ठूलो जनशक्ति नचाहिने भएकाले पनि यसतर्फ तानिएका हुन्। श्याम भने वृत्तचित्र वा लघु चलचित्र विधा सबैभन्दा कठिन ठान्छन्। “निश्चित समयभित्र विषयवस्तु उठान र वैठान गर्नुको चुनौती वेग्लै छ”, उनी भन्छन्, “दर्शकले आवाज विना पनि कथा बुझ्ने हुनुपर्छ।”

दर्शक हलिउड चलचित्रको समालोचना गर्न सक्ने भइसक्दा पनि नेपाली कथानक चलचित्रको हालत १० वर्षअघिकै जस्तो भएको तर्क गर्ने अमेश केही नयाँ उद्देश्यले यो क्षेत्रमा आएको बताउँछन्। “छोटा चलचित्रको अनुभवबाट लामा चलचित्र बनाउँदा धेरै कमजोरी हुँदैन”, उनी भन्छन्। रजिला श्रेष्ठ (१९) पनि छोटा चलचित्र हुँदै लामातिर लाग्ने सोचाइमा छिन्। विभिन्न प्रतियोगिता, चलचित्र महोत्सव आदिमा भाग लिंदा छोटा चलचित्रबाट आयआर्जन राम्रो हुने भन्दै उनी अध्ययन अवधिभर यही विधामा रम्ने बताउँछिन्।

सूचना र मनोरञ्जनका लागि छोटा चलचित्र प्रभावकारी भए पनि यो विधामा व्यावसायिक जनशक्तिको खाँचो बढेको बताउनेहरू पनि छन्। ईश्वर भन्छन्, “महोत्सवमा देखाउने अनि विदेश उड्ने मनसायले यो क्षेत्रमा आउनेहरू पनि छन्।”

comments powered by Disqus

रमझम