१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

मानवताका पक्षमा

Share:
  

कृतिः गाउँ हराएको साँझ

लेखकः हरिहर तिमिल्सिना

विधाः कविता संग्रह

प्रकाशकः शब्दहार क्रियसन्स्

पृष्ठः १२३+३१,

मूल्यः रु.२००

हामीले बाँचेको समय असाध्य दुसाध्य रहेछ। सशस्त्र हिंसाका सिलसिलाले फैलाएको भयले अझै सताउन छाडेको छैन। त्रासद र दुःखद् सपना जस्तो समय भोगेका हामी राम्ररी खुट्टा टेक्न नपाउँदै स्वाभिमानको कठिन परीक्षामा होमिएका छौं।

यस्तोमा कवि हरिहर तिमिल्सिनाको कविता संग्रह 'गाउँ हराएको साँझ्ा' झ्ानै सान्दर्भिक छ। अरूको इशारामा आफ्नै अस्तित्वमाथि प्रहार गर्नुपर्दाको वेदना कहेको 'अविश्वास आफैंमाथिको' कवितामा कवि 'के तिमी मलाई 'म' भएर उभिएको देख्न चाहँदैनौ?' भन्ने प्रश्न गर्छन्। वास्तविक आवश्यकता सम्बोधन नगरिने विकासवाद विरुद्ध उभिएका कविका लागि रगतले पोतिएको वर्तमान, आँसु र लाशमाथि टेकेर प्राप्त कुनै पनि उपलब्धि त्याज्य छन्। शक्ति र हतियार उन्मादले पृथ्वीको अस्तित्वसँग खेलिरहेका व्यक्ति र राष्ट्रलाई सम्बोधन गर्दै कवि मृत आपसी सद्भावलाई सम्बन्धको समाधि छेउ उभिएर कल्पिन्छन्।

सत्ता र भोको पेटका लागि युद्ध गरिरहेका बीचको फरक, समय घर्किसकेपछि आमालाई सम्झिएर विक्षिप्त सन्तान, गरीबीको जाडो थेग्न नसकेर आफैंलाई बालेर जाडो छल्ने वर्गका आवाज हुन्, तिमिल्सिनाका कविता। परिवर्तनको आशामा बैरागी बनेका कविलाई शहरको सन्नाटाले पिरोलेको छ। कवितामा कतै प्रेमिल राग छन् त कतै सर्वहाराको दुःखसँगको संगत।

संग्रहभित्रको 'चप्पल' कविता मान्छेको प्रवृत्तिमाथिको सशक्त व्यंग्य हो। सर्पले काँचुली र छेपारोले रङ फेर्न मानिसबाटै सिकेको दाबी गर्ने कवि 'सर्पको आत्मकथा' कवितामार्फत मानिस सर्पभन्दा विषाक्त भएको निष्कर्षमा पुग्छन्। आँसुले लेखिए झै लाग्ने उनका कतिपय कविताले अन्याय र हिंसा विरुद्ध आक्रोश ओकलेका छन्।

समकालीन समयको लय भेटेको कविको यो संग्रहले सँगसँगै उज्यालो आभाको प्रतीक्षा पनि गरेको छ। आफ्ना लागि बाँच्न नसकेकाप्रति सद्भाव र धरातल बिर्सिने प्रति व्यङ्ग्य गरिएको कृतिमा ढुंगाको मानिसको प्रतीक्षा छ। आमाको अनुहार र फूल उस्तै देख्ने कवि आगो रोपेर फूल उमार्न चाहन्छन्। बेथिति र विसंगतिका विपक्षमा उभिएका कवि अहिंसाको वकालत गर्छन्। यसरी जताबाट हेर्दा पनि कवि र उनका कविता मानवताका पक्षमा देखिन्छन्।

सविता विमली

comments powered by Disqus

रमझम