१२-१८ पुस २०७२ | 27 Dec -2 Jan 2016

बेथितिप्रति व्यंग्य

Share:
  

नाटक 'मकैको अर्कै खेती' मा संजीव उप्रेती (बीच) सहित अन्य कलाकार।
राणाकालमा 'मकैको खेती' पुस्तक लेखेबापत कृष्णलाल अधिकारीलाई जेल हालिएको थियो। गणतन्त्रकालमा 'मकैको अर्कै खेती' लेखेबापत संजीव उप्रेतीलाई कठघरामा उभ्याउने मात्रै होइन, चितामै पुर्‍याउने कृत्य भइरहेको छ। लेखकलाई के कारणले र कसरी जिउँदै आर्यघाट लगिन्छ भन्नेबारे लाजिम्पाटस्थित थिएटर भिलेजमा चलिरहेको नाटक 'मकैको अर्कै खेती' मा हेर्न सकिन्छ।

उही कृतिको नाममा पुनः पुस्तक निकालेको, पुस्तक लेख्दा सबै जाति, वर्ग र भूगोललाई समेट्न नसकेको अनि पुनर्लेखनमा तथ्य थपघट गरी पाठक झुक्याएको जस्ता विषयमा मुद्दा परेपछि कठघरामा उभ्याइएका लेखक र प्रतिपक्षका साक्षीको बयानबाजी नाटकमा देखाइएको छ। झ्ाट्ट हेर्दा लेखकीय स्वतन्त्रतालाई जोड दिएको भए पनि नाटकमा विद्यमान सामाजिक एवं राजनीतिक बेथितिलाई मूल विषय बनाइएको छ। “नाटकको शुरु र अन्त्यमा कलाकारको स्वतन्त्रतामाथि जोड दिइएको छ भने बीचमा राजनीतिक विसंगति उठाएका छौं”, नाटकका निर्देशक विमल सुवेदी भन्छन्।

भ्रष्ट र पक्षपाती साक्षीबीच लेखक निरीह बनेझौ यस्तै मानिसका कारण देश पनि चितामा पुग्न लागेको कुरा नाटकमा प्रतीकात्मक रुपमा देखाइएको छ। “राता, पहेंला, हरिया, बैजनी, संसारमा भए जति सबै रङका कीरा यो देशमा सलबलाइरहेका छन्”, नाटकमा लेखकले भनेका छन्, “केही कीरा विदेशबाट आएका छन्, कोही स्वदेशमै मौलाएका छन्।” नयाँ संविधानलाई बखेडा बनाइरहेका माथि पनि नाटक पेचिलो लाग्छ।

१८ मंसीरबाट चलिरहेको यो नाटकमा लेखकको भूमिकामा नाटक लेखक प्रा. उप्रेती आफैं छन् भने अर्चना थापा, प्राश्ना डंगोल, सन्देश शाक्य, रब्गा तेन्जिङ तुलाधर, विपुल पाण्डे, सरोज अर्याल, रुपेश सुवेदी, डार्बिन लुंगेली, मीरा गुरुङ आदिले अभिनय गरेका छन्। नाटक देखाइने अन्तिम दिन, १२ पुसमा नाटकको एक पात्र, पट्टु (सुगा) लाई पिंजडाबाट मुक्त गर्ने कार्यक्रम पनि रहेको लेखक एवं कलाकार उप्रेती बताउँछन्। “स्वतन्त्रता र न्यायका खातिर पट्टु उडाउँदैछौं”, उनी भन्छन्।

बिक्रम राई
नाटक 'कथा एक्सप्रेस' मा अभिनय गर्दै सृजना सुब्बा (बीच) लगायत कलाकार।

साहित्यकार नयनराज पाण्डेको कथा संग्रह 'चकलेट' भित्रका तीन कथा सुकुमेल, महानगर र खेल मा आधारित नाटक हो, 'कथा एक्सप्रेस'। समाजमा दमित यौन मनोविज्ञान, राजनीतिको खेल, हराउँदै गएको मानवीय संवेदना नाटकको माध्यमबाट दर्शाइएको छ।

'सुकुमेल' मा पश्चिम नेपालको ग्रामीण भेगमा बसोबास गर्ने दाजुभाइ र भान्सेबीचको सम्बन्ध देखाइएको छ। 'नारीमा शिल्प र पुरुषमा आदर्श हुनुपर्छ” भन्ने दाजुलाई महान् ठान्ने भाइ कथाको अन्त्यमा दाजुको वास्तविकता थाहा पाएपछि अवाक् बन्छ। 'सुकुमेल' कै कारण उसको भ्रम तोडिन्छ। राजनीतिमा बदला भावले मान्छेलाई कतिविघ्न निर्दयी बनाउन सक्छ भन्नेतर्फ 'खेल' केन्द्रित छ। आफूलाई रगत दिएर बचाएको मान्छेलाई सहजै केही दिनमै बिर्सिने शहरिया प्रवृत्तिलाई 'महानगर' ले उदांगो पारेको छ।

“तीन वटै कथाले नेपाली समाजको खास चरित्र झ्ाल्काउँछन्”, नाटकका निर्देशक आशान्त शर्मा भन्छन्। मण्डला नाटकघर, अनामनगरमा मञ्चन भइरहेको यो नाटकमा सृजना सुब्बा, सुलक्षण भारती, मनिष निरौला, लक्ष्मी बर्देवा, बिनिता मगर, अस्मिता खनाल, वीरेन्द्र मुखिया, सन्देश लामिछाने, आईपी आचार्य र सुरज मल्ल (फ्रेन्चेस्को) ले अभिनय गरेका छन्। नाटक १६ पुससम्म चल्नेछ।

सजना बराल

comments powered by Disqus

रमझम