बुङ्गमतीकी सिपालु बुहारी

Share:
  
खानेतेलमा प्रसिद्ध खोकनालाई काष्ठकलामा नामी बुङ्गमतीले बुहारीसँगै काष्ठकला पनि सौगात दिएको छ।

ललितपुर, कार्यविनायक नगरपालिकास्थित खोकना गाउँको तझ्या टोल पुग्ने पर्यटक हरिमाया महर्जन (३०) को काष्ठकला पसलसामु पुगेपछि टक्क अडिन्छन्। कारण, स–साना कलात्मक झ्याल, ढोका, मन्दिर, स्तूप र मूर्तिले भरिएको पसलमा हरिमाया ज्यावल र मुङ्ग्रोको सहायताले काठमा बुट्टा कुँदिरहेकी हुन्छिन्। कोही अचम्मित हुँदै हेरिरहन्छन्। कोही कौतुहल नसकिएपछि कुराकानी गर्न तम्सन्छन्। फोटो खिच्छन्। कतिपय त उनका कलाकृतिमा यति लोभिन्छन् कि किनेरै छाड्छन्।

खोकनाभरि हरिमाया नै यस्ती एक्ली महिला हुन्, जो काष्ठकलामा समर्पित छन्। उनले यो कला माइती बुङ्गमतीबाट आफूसँगै ल्याएकी हुन्। तोरीको तेल उत्पादनमा खोकना प्रसिद्ध भए झै काष्ठकलामा बुङ्गमती उहिल्यैदेखि प्रख्यात छ। “काठको काम गरिरहेका दाइहरूलाई सघाउँदा सघाउँदै सानैमा काम सिकें”, उनी भन्छिन्।

काष्ठकला जाने पनि 'अरुले के भन्लान्' भन्ठानेर उनले १० वर्षसम्म सिलाइ–बुनाइको काम गरिन्। तर, जति गरे पनि सियो, धागो र काँटामा उनको रस बस्दै बसेन। “मनभरि काठैकाठ”, उनी सुनाउँछिन्, “काठैमा कुँदेका बुट्टाहरूको बास थियो।” बुनाइमा मन नअडिएपछि उनले तीन वर्षअघि भुईंतलामा काष्ठकला पसल खोलिन्।

मूर्तिकार श्रीमान्ले पनि उनको कदममा उत्साह थपे। दाइहरूले 'अर्डर' ल्याइदिए। “बुहारीले कसरी यो काम जानेकी होला भनी सासूससुरा दंग पर्नुहुन्छ, खुशी लाग्छ”, उनी भन्छिन्।

आफूले घरको छिंडीमा बसेर बनाएका कलाकृति संसारभर पुगेकोमा हरिमाया सन्तुष्ट छिन्। तर, पछिल्लो समय काठको भाउ बढेको र पर्यटकमा कमी आएकोमा भने उनी दुःखी छन्। “सबैले काष्ठकलालाई सम्मान गर्नुपर्छ”, उनको आग्रह छ, “महिलालाई यो पेशामा आउन प्रोत्साहन गर्नुपर्छ।”

मिलन बगाले

comments powered by Disqus

रमझम