कविहरूको देश

Share:
  
- दीपक अर्याल
नेपाली भाषामा लेखिएका पुस्तकहरूलाई विधागत रूपमा छुट्याएर हेर्ने हो भने त्यो कविताप्रधान भएको वास्तविकतालाई स्वीकार्नै पर्छ।

नेपालीहरू जीवनमा एकपटक 'कम्युनिष्ट' वा 'कवि' अवश्य बन्छन् भन्ने व्यङ्ग्य र नेपाली साहित्यले कवि मात्र जन्माउन जानेको छ भन्ने आलोचनामा सत्यताको केही अहं अवश्य लुकेको छ। नेपाली भाषामा पुस्तक प्रकाशित हुन थालेको पुगनपुग २०० वर्षमा यसले इतिहास, भूगोल, शिक्षा, विज्ञान वा समाजशास्त्रका यथेष्ट पुस्तकहरू दिन सकेको छैन। केही अनुवादका भरमा प्राज्ञिक लेख, साहित्य तथा राजनीतिका सिद्धान्तहरू नेपाली समाजमा छिराउने प्रयास भए पनि त्यो अपुग रह्यो। पछिल्लो चरणमा केही फैलिएको अनुसन्धानमूलक पुस्तक तथा लेखहरूको मूल माध्यम अंग्रेजी भाषा नै बन्यो र काठमाडौं केन्द्रित रह्यो।

वि.सं. १९५० देखि २००७ सम्म प्रकाशित नेपाली भाषाका करीब १,२३३ पुस्तकलाई विधागत रूपमा छुट्याएर हेर्दा हामीले कस्ता सामग्रीहरू उत्पादन गर्‍यौं र के पढ्यौं भन्ने कुराको सामान्य आकलन गर्न सकिन्छ। यीमध्ये करीब ३४६ पुस्तक (२८ प्रतिशत) कविता र गीत विधाका भेटिन्छन्। यसैगरी, १३८ (११ प्रतिशत) धार्मिक, ११८ वटा (१० प्रतिशत) शैक्षिक वा कोर्सका, ६३ (५ प्रतिशत) उपन्यास तथा ४–४ प्रतिशत नाटक–शब्दकोश–व्याकरण र सेना सम्बन्धी पुस्तक छन्। यस तथ्याङ्कका आधारमा नेपाली भाषाका पुस्तक उत्पादन र उपभोग गर्ने परम्पराको सामान्य टिप्पणी गर्न सकिन्छ।

सवाई त सवाई नै भइहाले, धार्मिक किताब, यात्रा विवरण, जीवनी तथा प्रशस्तिका किताब समेत कवितात्मक रूपमा लेखिने परम्परा रहेकोले कवितात्मक वा गीति किताबहरूको संख्या ४० प्रतिशत भन्दा माथि रहेको देखिन्छ। अर्थात् नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये कवितात्मक प्रस्तुतिले भरिएका किताबहरूको हिस्सा ठूलो छ। त्यसैले, नेपाली भाषा साहित्यप्रति व्यङ्ग्य गर्नेहरूले यसलाई 'कविता जन्माउने' क्षेत्रका रूपमा चित्रित गरेका होलान्। त्यसो भन्दैमा यी पुस्तकको महत्व कम आँक्न वा अन्य उपयोगी पुस्तकहरू अस्तित्वमै नभएको भन्न मिल्ने अवस्था रहेन।

यस अवधिमा सैन्य विधामा मात्र ५३ वटा, राजनीतिका २५ (२ प्रतिशत), नियम–कानूनका ३३ (२.५ प्रतिशत), स्वास्थ्य सम्बन्धी २७ (२ प्रतिशत) र अन्य विधामा १३० (१०.५ प्रतिशत) थान पुस्तक प्रकाशित भएको देखिन्छ। यसका अतिरिक्त विज्ञानका १२ वटा, निबन्धका ३२, प्रशस्तिका २९, जीवनी र आत्मकथा १४, कृषिका १८, तालिम–प्रविधि १० र भूगोलका १० पुस्तक प्रकाशित भएको देखिन्छ। यो विश्लेषणको आधार मदन पुरस्कार पुस्तकालयमा रहेका पुस्तक भएकोले संख्या योभन्दा धेरै भएको अनुमान गर्नु गाह्रो छैन।

पुस्तक प्रकाशनको हालसम्मको स्थिति हेर्दा भने वि.सं. २०४६ भन्दा पहिलेको १७० वर्षमा करीब १५,००० र त्यसभन्दा पछिको २३ वर्षमा १८,००० गरी कुल ३३,००० पुस्तक प्रकाशन भएको देखिन्छ। उदार शासन प्रणाली, प्रविधिको आगमन, जनसंख्याको वृद्धि, शैक्षिक र नेपाली भाषाको विस्तार लगायतका कारणहरूले प्रकाशन संख्या बढ्नु स्वाभाविकै भयो। यी पछिल्ला वर्षहरूमा पनि 'कविता'कै संख्या बढी हुनु र समाजलाई आवश्यक अन्य विधाको पुस्तक अझै यथेष्ट रूपमा उत्पादन नहुनु पनि नेपाली भाषाको यथार्थ नै हो। पुस्तक प्रकाशन क्षेत्रमा देखिएको पछिल्लो रूचि, सक्रियता र उत्साहले नयाँ विषयवस्तुहरूमा पनि यथेष्ट प्रकाशनहरू आउने आशा गर्न भने सकिन्छ नै।

comments powered by Disqus

रमझम