उहिले क्याटलग अहिले अनलाइन

Share:
  
- दीपक अर्याल
अर्डर अनुसारका सामग्री घर–घरमा पुर्‍याउने कारोबार पन्ध्रौं शताब्दीको अन्त्यतिरबाटै शुरू भएको हो।

अलिबाबा, अमेजोन, इबे जस्ता संसारका नामी अनलाइन कम्पनीहरूले ग्राहक, पसल, व्यापार र बजारको परिभाषा बदलिदिएका छन्। कारोबारहरू सजिला बनेका छन्, घरमै बसेर आफूलाई मन लागेका सामग्री किन्न सकिने भएको छ। नेपालमा अनलाइन खरीद बिक्री बाँकी संसारमा जति सहज नभइसके पनि यो संस्कृतिको विकास हुन थालेको छ। अनलाइन व्यापारमा कैयौं व्यावहारिक कठिनाई बाँकी छन्, तर सीमित ग्राहकहरूले यसको फाइदा उठाइरहेका छन्।

अनलाइन कारोबारमा ग्राहकले आफूलाई मन परेको सामानबारे कुनै विज्ञापन वा अनलाइन कारोबार गर्नेहरूको वेबसाइटबाट जानकारी लिन्छन् र अनलाइनबाटै अर्डर गर्छन् तथा तोकिएको मूल्य तिर्छन्। अनलाइन कारोबार गर्ने व्यापारिक कम्पनीहरूले बजारमा पाइने सामग्रीका आधारमा विवरण सूची बनाएर फोटोसहित सामानको विशेषता र मूल्यको जानकारी दिन्छन् र अर्डर आए अनुसार ग्राहकको घर–घरमा पुर्‍याइदिन्छन्। यो खालको कारोबारले निश्चित ठाउँमा पसल खोल्ने, बिक्रेता–क्रेताबीच प्रत्यक्ष भेटघाट हुने, मोलतोल हुनुपर्ने, हातैले छामेर वा आँखाले हेरेर सामग्री किनबेच हुने परम्परागत व्यापारलाई चुनौती दिएको छ।

परम्परागत बजार परिवर्तन गर्ने यो क्रम अनलाइन व्यापार शुरू हुनुभन्दा धेरै अघि सन् १६६७ बाट शुरू भएको मानिन्छ। त्यो वेला विलियम लुकासले प्रकाशित गरेको बीउ, बेर्ना र बिरुवाको क्याटलग निकै लोकप्रिय बन्यो। त्यस्तो क्याटलग र यसबाट हुने व्यापार तत्कालीन उपनिवेशहरूमा फैलिन थाल्यो। विस्तारै हुलाक वा अन्य माध्यमद्वारा सामग्री अर्डर गर्न मिल्ने कम्पनीहरू लोकप्रिय हुन थाले। त्यस्ता कम्पनीहरूले ग्राहकको चाहना अनुसार किताब, जुत्ता, औषधि, अत्तर, कपडा र गर–गहनादेखि साजसज्जाका सामानसम्म बिक्री–वितरण गर्न थाले। विलियम लुकासले निकालेको जस्तो क्याटलगको चलन बढ्यो।

भारतमा पनि यस्तो कारोबार गर्ने थुप्रै कम्पनी स्थापित भए। भारतका विभिन्न शहरमा ग्रेट इस्टर्न स्टोर, ह्यामिल्टन एण्ड कम्पनी, ह्यारिसन हाथवेजलगायतका डिपार्टमेन्टल स्टोरहरू फैलँदै गए। यीमध्येको ह्यारिसन हाथवेजका दुई कर्मचारी पीएन हल र विलियम एण्डर्सनले सन् १८९० मा शुरू गरेको जनरल डिपार्टमेन्टल स्टोर केही वर्षमै धेरै लोकप्रिय बन्यो। जनरल डिपार्टमेन्टल स्टोरमा आयातित फर्निचरदेखि काँटा–चम्चा, सिसा, लुगा, टोपी, जुत्ता, चश्मा, स्टेसनरीलगायतका सरसामान हुन्थे। ती सामग्रीको विशेषताको वर्णनसहितका फोटो र मूल्य भएका क्याटलग निकालेर प्रचार गरिएका हुन्थे। भारतमा 'लाल किताब' भनिने त्यस्ता क्याटलग वर्षमा एक लाखप्रति छापेर बर्मा, सिलोन र नेपाल पनि पठाइन्थ्यो। ग्राहकहरूले त्यस्ता क्याटलग हेरेर अर्डरका साथ पैसा पठाउँथे।

नेपालका राणा परिवार तथा भारतसँग सम्पर्क भएका धनीमानीहरूसँग ह्यारिसन हाथवेज, हल एण्ड एण्डर्सन, ह्वाइट वेयरका क्याटलगहरू हुन्थे। यसरी विस्तारित नयाँ किसिमको बजारमा अलि ठूलो समूहका नेपालीलाई जोड्ने काम भने विश्वराज हरिहर र होमनाथ केदारनाथ कम्पनीद्वारा सञ्चालित पसल तथा उनीहरूद्वारा प्रकाशित सूचीपत्रहरूले गर्‍यो। सन् १९२९ मा प्रकाशित विश्वराज हरिहरको सूचीपत्रमा नेपाली र संस्कृत भाषामा प्रकाशित पुस्तक, भगवानका चित्र, घडी, थाल, गिलास, कचौरा, गरगहना, तेल, कपडा, कैंची, बन्दूक, छाता, टोपी, चश्मा, कोट र मोजा–जुत्तादेखि पीताम्बरसम्मका सामग्री चाहिए मनि अर्डर वा भीपीपी (भाया पार्सल पोष्ट) मार्फत सम्पर्क गर्न अनुरोध गरिएको देखिन्छ।

यसमा कम्पनीका आफ्नै नियम हुन्थे। कमिशनको कुरा प्रष्टसँग उल्लेख हुन्थ्यो। अर्डर गरिएका सामान बनारसको रामघाट र क्यान्टस्थित गोरखा पुस्तकालय तथा कलकत्ताको सर्वहितैषी कम्पनी, शिवप्रसाद, राघोराम आदि ठेगानाबाट प्राप्त हुन्थे। नेपालमा मनि अर्डर र भीपीपी नचल्ने हुँदा यस्ता सामान सीधै मगाउने चलन थिएन, क्याटलग हेरेर भारतमा रहेका आफन्त वा व्यापारीमार्फत झ्िकाइन्थ्यो। पैसा चाहिं लैनचौरस्थित भारतीय दूतावासबाट इण्डियन लियाँजो पोष्ट अफिसमार्फत पठाइन्थ्यो। त्यस अनुसार उताबाट आउने सामान लिन दूतावास पुग्नुपर्थ्या। लैनचौरमा सामान बुझेपछि टेकूमा रहेको भन्सार कार्यालय गएर भन्सार तिर्नुपर्थ्यो।

(मपुपु–मा उपलब्ध सामग्रीमा आधारित)

comments powered by Disqus

रमझम