१९-२५ पुस २०७२ | 3-9 January 2016

सत्य–कलि संवाद

Share:
  
- क.दी.
लेखनाथ पौड्याललाई २००८ सालमा राजा त्रिभुवनले 'कविशिरोमणि' भन्ने सरकारी पगरी दिएका हुन्। लेखनाथ २५ वर्ष पनि नपुग्दै, १९६५ सालतिरै उनको प्रतिभा देखेर, 'यसैगरी लागिरहे यी युवक भविष्यमा ठूला कवि हुनेछन्' भनी भविष्यवाणी गरिदिएका थिए 'माधवी' का संपादक मातृप्रसाद शर्मा अधिकारी अर्थात् राममणि आ.दी. ले।

१९६५ सालताका लेखनाथ पौड्याल सप्तरीको छपकीका बिर्तावाल पोखरेलहरूका घरमा काम गर्दैथिए। पोखरेलका आफन्तहरू थिए राजधानीमा, गौतम र मणि परिवार। कुलचन्द्र गौतम ज्वाइँ थिए पोखरेलका, अनि राममणि र विश्वमणिहरू सम्धी। उनीहरूकै आधारमा काठमाण्डू उक्लेका थिए लेखनाथ। र फाप्यो उनलाई यो 'खाल्डो'! उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेन। प्रतिभा विकसित हुनाका साथै उनी उन्नतिको शिखर पनि चढ्दै गए।

हामी ऐले लेखनाथको विरुदावली गाउन लागेका होइनौं, पुस्तक–सम्पदामा पस्नुअघि त्यस पुस्तकका लेखकको हुलियासम्म दिन लाग्दा अलिकति लम्बिएको मात्र हो। त, आज हामीले चर्चा गर्न लागेको पुस्तक लेखनाथ पौड्यालको हो र त्यसको नाम चाहिं 'सत्य–कलि संवाद'। १९७६ सालमा पहिलो पटक प्रकाशित भएको थियो द्वारिकानाथ पौड्यालयका नामबाट।

अर्थात् 'सत्य–कलि संवाद' को पहिलो संस्करण कविले आफैं नै छापेको हुन सक्छ। त्यसअघि भने लेखनाथका पहिला दुइटा किताब 'ऋतुविचार' र 'बुद्धिविनोद' लाई संयुक्त जोडेर एउटै बनाई कुलचन्द्र गौतमले प्रकाशित गरिदिएका थिए, १९७३ सालमा। त्यसमा कुलचन्द्रलाई खगेन्द्रराज गुरुज्यूले आर्थिक सहयोग गरेको बुझिन्छ, तर त्यो यति वेला हाम्रो चासोको विषय भएन। किनभने, हामी ऐले पुस्तकको गुणगरिमा मात्र पछ्याउँदै छौं।

कवित्वका लागि त 'ऋतुविचार' उच्च कोटिको छ, त्यस्तै नेपालीलाई बुद्धिको विनोद अर्थात् रमाइलैका निमित्त भने 'बुद्धिविनोद (प्रश्नावली)' उत्कृष्ट छ। हुँदाहुँदै पनि कविशिरोमणिको कुनै एक किताब छान्नुपरुर्‍यो भने म चाहिं सत्य–कलि संवाद' छान्छु होला। त्यो किनभने लेखनाथ पौड्याल कवि मात्र या कर्मकाण्डी ब्राह्मण मात्र नभएर उच्च तहका नेपाली बुद्धिजीवी थिए भन्ने साबित गर्छ 'सत्य–कलि संवाद' ले। अंग्रेजको शासन चलेको भारतवर्षको प्रगतिको ठूलो बखान गरेका छन् लेखनाथले त्यहाँ। त्यो त्यस समयको चलनचल्तीकै कुरा हो। तर, राणाकालको नेपाली बाहुन संस्कारमा जन्मी हुर्केका लेखनाथलाई त्यस वेलाको इण्डिया पुग्दा त्यहाँको रहनसहन चाहिं पचेको थिएन, खास गरेर त्यहाँको इस्लामी प्रभाव। यस 'संवाद' मा यवन अर्थात् मुसलमानहरू नै हुन् भारतवर्षको पतनको कारण भन्ने देखाउन उनले आफ्नो किताबका आधा जति श्लोक खर्च गरेका छन् र यवनहरूप्रति उनले निकै असहिष्णु भएर केही कटुशब्द समेत प्रयोग गरेको देखिन्छ। त्यो कुरा प्रतिबिम्बित छ किताबमा कलिको प्रभावका रूपमा। त्यसपछि भारतवर्षमा शासन गर्न आएका अंग्रेजहरूले त्यो अन्याय अत्याचार रोकी भारतको उन्नति गराए भन्दै उनले अंग्रेजहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन्–

'खाना पकाउँछ कलै कलको छ गाना।

जानिन्छ बात कलले परबाट तानी।।

रस्ताबिसे छन दुवैतिर पूर्ण तार।

बल्दो छ नित्य बिजुली पनि कोण कोण।।'

अनि भन्छन्–

'चम्किरहेछ शुभशासनको सितारा!'

मन नपरेका कुरा पनि लेखनाथ अत्यन्त रसिलो पाराले व्यक्त गर्छन्। जस्तो भनौं, यी दाजु र भाइ, सत्य र कलिको भेट नभएको युगौं भैसकेछ, एक दिन संजोगले भेट हुनपुगेछ आकाशमार्गमा–

'गर्थे प्रवेश धरणीतलतर्फ सत्य।

जान्थ्यो कडा कलि अधोमुख उग्रचित्त।।

त्यै बीचमा हुनगयो तिनको अपार।

संवाद यो परम सुन्दर एकबार।।'

अनि कलिले दाजुलाई चिनी–

'गर्छू बडो प्रणयपूर्वक यो सलाम' भन्यो।

सत्यले बुझ्ेनन् र सोधे–

'...के हो सलाम किन गर्न भयौ तयार?'

यो सुनेर कलिलाई लाज लाग्यो अनि भन्यो–

'यो हालकै चलन हो उहिले थिएन।

दाजै तसर्थ प्रभुले बुझ्िबक्सिएन।।'

त्यसपछि कुराकानी हुँदै जाँदा सत्यले भारतवर्षतिरको हालचाल सोधे। त्यसै विषयको संवाद हो समग्र पुस्तक।

जङ्गबहादुरको 'आइन' ले स्थापित गरिदिएको परम्पराका अनुयायी लेखनाथको मनस्थिति देखिन्छ पुस्तकमा। भन्नाले त्यहाँ त्यस वेलाको नेपाली आँखाले हेरेको र नेपाली मनले बुझेको कुरा प्रतिबिम्बित छ भनौं। एउटा मात्र उदाहरण हेरौं:

'छोरो छ वर्ष नहुँदै मिलदी बुहारी।

ल्याई विवाह नगरे सब ठिक्क पारी।।

माता पिताजिहरूको बदनाम हुन्छ'... इत्यादि। त्यति मात्र होइन, 'सत्य–कलि संवाद' ले हामीलाई उखान जस्तो हुने केही सूक्तिहरू पनि दिएको छ। जस्तोः

'ज्यादा रहस्यकन खोजनु ठीक छैन।

निर्दोष भाव जगमा कहिं पाइँदैन।।'

अथवा

'लोकापवाद ननिको अनि को सहन्छ?'

या भनौं नेपालीहरूका मुखैमा झुण्डिए जस्तो यो गुनासोः

'लागीरहेछ रिंगटा धडकिन्छ छाती।

बाबू मलाइ हुनुसम्म भयो नजाती!'

हो, राम्रा–राम्रा तर अलि बढी शास्त्रीय भएकाले लेखनाथका किताबहरूले भानुभक्तको रामायणले जस्तो साधारण जनमानसलाई बाँध्न सकेनन् होला तर सय वर्ष यताको नेपाली बौद्धिक जगत्लाई भने लेखनाथ पौड्यालको साहित्यिक जादूले राम्रै अँठ्याएको थियो। र मेरा हिसाबले उनको सत्य–कलि संवाद त्यसमा पनि विशिष्ट नै हो।

comments powered by Disqus

रमझम