१९-२५ पुस २०७२ | 3-9 January 2016

खोकनाको खबर

Share:
  
- मिलन बगाले
महाभूकम्पले ढालेको ललितपुरको खोकना रैथाने वास्तुकलासहित उठ्ने दिन पर्खिरहेछ।

मिलन बगाले
१२ वैशाख २०७२ मा नजिकैको बसपार्क छेउमा आँखा शिविर बसेकोले घर र छिंडीमा खुरुखुरु काम गरिरहने अधिकांश खोकनावासी वृद्धवृद्धा धमिलिएको दृष्टि जँचाउन गएका थिए। साना नातिनातिनाले तिनलाई शिविरसम्म पुर्‍याएका थिए भने बलिया–बांगा युवा गृहस्थहरू आलु खन्ने चटारोमा थिए। भूकम्पले बेस्सरी लतारेको खोकनामा यस्ता संजोगहरू जुरेर मानवीय क्षति कम भएको थियो।

खोकना पुनःनिर्माण तथा पुनर्स्थापना समितिका अध्यक्ष श्याम महर्जनले कार्यविनायक नगरपालिकाको ६, ७, ८ र ९ वडामा पर्ने यो गाउँमा ९ जनाले ज्यान गुमाएको, ८५५ घर ध्वस्त भएको र २०० घरमा आंशिक क्षति पुगेको तथ्यांक सुनाए। उद्धार, उपचार, राहत, अस्थायी बास र खानपानको व्यवस्था स्थानीय आफैं मिलेर गरे। उनीहरूले भत्केका मन्दिर, पाटी, मण्डप आदि बनाउन चन्दा उठाएका छन्, बनाउँदै पनि छन्। करीब ११ सय घरधुरीको खोकनाको सिंगो पुनःनिर्माण भने उनीहरूको बलबुताभन्दा बाहिर छ। यसका लागि सरकार कुरिरहेको महर्जनले बताए।

झ्ुरुप्पको यो पुरानो बस्ती यतिवेला अस्थायी भएर पाखातिर छरिएको छ। आधा ढल्केका, ढल्न ठिक्क परेका, दायाँबायाँको घरको आडले अडिएका घरहरूले पुरानो बस्तीमा जोखिम बढाएको छ।

खोकना कृषिकर्म गरेर खाने पुरानो बस्ती हो। तोरीको तेलमा प्रसिद्धि कमाएको खोकनामा महर्जन र डंगोलहरूको बसोबास छ। यिनै दुई समुदायले परम्परा र रीतिथिति जोगाएर ल्याएको बस्तीमा नयाँ घरहरूचाहिं पिलर र ढलानबाट बनाइएको छ। ढुंगामाटाका पुराना घरमध्ये अधिकांश भत्किएका छन्। तीमध्ये पनि अधिकांश घर १९९० सालको भुईंचालोपछि बनेका हुन्। ढलान घरहरू चाहिं बढीमा २०–२५ वर्षका छन्।

परम्परागत वास्तुशैलीमा बनेका सबै घर भत्किएका छैनन्। ६–७ वर्षअघि बनेका तीन वटा गुठी घर सकुशल छन् भने कतिपय ढलान घर चर्किएका छन्। वडा कार्यालय बसेको पुरानै शैलीको भवनमा कुनै क्षति पुगेको छैन, सुरक्षाका उपाय अपनाइएकोले। पछि तला थपिएका कतिपय घर भार थाम्न नसकेर घोप्टिए जस्तो देखिन्छन्। ढुंगामाटोको तीनतले घरमाथि ढलान गरेर एक–दुई तला थप्ने काम यहाँ पनि 'आत्मघाती' ठहरियो।

पुनःनिर्माणमा मौलिक वास्तुशैली र संस्कृति अँगालेरै जाने मनसुवामा छन्, खोकनावासी। पुनःनिर्माण समितिका अध्यक्ष महर्जन, संयोजक नवीन डंगोल, स्थानीय बोर्डिङ स्कूलका प्रिन्सिपल जीवन डंगोल र राजनीतिक कार्यकर्ता रवीन्द्र महर्जन एकमत छन्– 'इन्जिनियरहरूको सीप र हाम्रो परम्परागत निर्माण शैलीको राम्रो संयोजन होस्, ऋण वा अनुदान जे भए पनि सरकार पैसो बोकेर छिटो गाउँ पसिदेओस्, हामी मात्र तातिएर यो प्राचीन बस्तीको पुनःनिर्माण सम्भव भएन।'

कहिल्यै नापी नभएकोले खोकनावासी कसैसँग आफ्नो जग्गाको लालपुर्जा छैन। उनीहरू धराप बनेर बसेको संरचनाबाट त्रसित छन्। हुन पनि, यहाँको प्रत्येक गल्ली मृत्युको बल्छी थापेर बसे जस्तो देखिन्छ। पाखाका अस्थायी टहराहरूमा पानीको व्यवस्था र शौचालयको अवस्था खत्तम छ। पानी र शौचको लागि आधा भत्केको या लड्न ठिक्क परेको घरभित्रै पस्नुपर्ने बाध्यता छ। धान सुकाउनदेखि लुगा धुनसम्म त्यही धराप वरिपरि गर्नुपर्ने अवस्था छ। जिन्दगी टीनको टहरो र घरको भग्नावशेषमा टाँगिएको छ। नयाँ घर नबनी यो 'बाधा अड्काउ' फुक्नेवाला छैन।

खोकनामा मानिसका घर, पाटीपौवा र मण्डप मात्र भत्केका छैनन्, देवदेवीका मन्दिरहरू पनि ध्वस्त भएका छन्। बस्तीको मध्यभागमा रहेको मह140वपूर्ण इन्द्रायणी मन्दिर बडाबडा टेकोले धानिएको छ। मन्दिर अगाडिको पञ्चेबाजा बजाउने पाटी र आडैको हनुमान पाटी पूर्ण रूपमा भत्कियो। संस्कृति बचाउन दत्त–चित्त खोकनावासीले पूर्ण रूपमा ध्वस्त जीतापुर मण्डप पुनःनिर्माण गरेर गँथा पूर्णिमा जात्रा मनाए, पञ्चेबाजा पाटी पुनःनिर्माणका लागि चन्दा संकलन गरेका छन्।

असाध्यै ढंग पुर्‍याएर तोरी पेल्ने खोकनावासी यतिवेला आफैं कष्टको कोलमा पेलिएका छन्। महाभूकम्पले लतारेर गएको खोकना बौरिने रहर गरिरहेछ। प्राचीन सभ्यताको जगमा उभिएको खोकना भूकम्पीय जोखिम थेग्न सक्षम हुने गरी आफ्नै निर्माण शैली बचाउन प्रयत्नरत छ। निर्माण संस्कृति बाँच्ने गरी खोकनालाई कष्टको कोलबाट निस्कन हातेमालो गर्नेको जय होस्!

comments powered by Disqus

रमझम