१९-२५ पुस २०७२ | 3-9 January 2016

सरसफाइमा 'म' बटालियन

Share:
  
देशका प्रमुख शहरहरूमा फोहोर व्यवस्थापन प्रमुख चुनौतीको रुपमा रहेका वेला दुई कीर्तिपुरे २०७५ सालभित्र पूरा देश सफा गर्ने अभियानमा छन्।

विक्रम राई
२०६७ भदौयता काठमाडौं, पोखरा, धरान, विराटनगर, नारायणगढ र बुटवल शहरमा सफाइ अभियान चलाएका काठमाडौं कीर्तिपुरका राजमान महर्जन (५१) ले थर परिवर्तन गरेर 'मानव' राखेका छन्। आफ्नै संयोजनमा आयोजित कीर्तिपुर महोत्सवको लागि ठाउँ बनाउँदा उनले पाँच महीनाअघिबाटै सरसफाइ गरेका थिए। २०६७ माघको त्यो महोत्सवको क्रममा २२ टोलमा २२ वटा नेवारी परम्परागत नाच, जन्म–मृत्यु संस्कारलगायतका कार्यक्रम सम्पन्न भएपछि उनी सरसफाइ अभियानमा लागेका हुन्।

महोत्सवपछि मानवले कीर्तिपुरकै बाघभैरवस्थानमा ४० वर्षबाट थुपारिएको फोहोर स्थानीयवासीको सहयोग जुटाएर हटाए। त्यही समय आफ्नो बाँकी जीवन सरसफाइ कार्यमा बिताउने निर्णय लिएको र १६ असोज २०७० मा भोज गरेर पारिवारिक र व्यावसायिक काम छाडेको घोषणा गरेको उनी बताउँछन्। अभियानमा उनलाई कीर्तिपुरकै सुशीला महर्जन (४०) ले साथ दिएकी छन्। यो अभियान शुरू हुनुअघि राजमान कीर्तिपुरमा ७१ परिवारले चलाएको प्रख्यात रेस्टुरेन्ट नेवालहनाका कार्यकारी निर्देशक थिए भने सुशीला त्यहीं परम्परागत तरीकाबाट चिउरा तयार गर्थिन्। रेस्टुरेन्टमा दुवैले करीब आठ वर्ष काम गरे।

'हु डज इट इफ आई नट' नारा र 'आई' अक्षर लेखेको सेतो टी–सर्ट लगाउने यी दुई अभियन्ताले काठमाडौंदेखि लोमान्थाङसम्म १२ दिन, काठमाडौं–जिरी पाँच दिन, काठमाडौं–रसुवा चार दिन, काठमाडौं–गोर्खा, तनहुँ, कास्की, पाल्पा, रूपन्देही, नवलपरासी र चितवन १४ दिन र हेटौंडा–काँकडभिट्टा ४२ दिन लगाएर सफाइ गरे। उनीहरूको अनौपचारिक संस्थालाई 'म' भनेर चिनाउन पोशाकमा 'आई' लेखेका हुन्। कुल दुई सैनिकको यो 'म' बटालियनले आफ्नै खर्चमा देश सफाइको मोर्चा सम्हालेका छन्। यो अभियानमा कीर्तिपुरकै २२५ जना 'भोलेन्टियर' को ३० वटा समूहले पालैपालो टोल सफाइ गर्छन्।

राजमान र सुशीलाले गत कात्तिकमा पूर्वको इलामबाट शुरू गरेको राजधानी बाहिरको शहर सफाइ अभियान अन्तर्गत आगामी वैशाखसम्ममा सुदूरपश्चिमको महेन्द्रनगरसम्मका १६ नगरपालिकाको मन्दिर, विहार, गुम्बा, स्कूल, कलेज र अरू सार्वजनिक स्थल सरसफाइ गर्ने योजना बनाएका छन्। त्यसपछि काठमाडौं उपत्यकामा केन्द्रित हुने योजना छ। २०१७ को जनवरी २२ मा उपत्यकाका १० लाख मानिसलाई एक घन्टा शहर सफाइमा सरिक गराउने उनीहरूको योजना छ। “पाँच वर्ष सफाइ अभियान चलाएकाहरूले एक दिन एक घन्टा माग्दा कसो नपाइएला!” राजमान भन्छन्।

देशका विभिन्न शहर सफा गर्दा उनीहरूलाई १३ हजार ४०० जनाले स्वस्फूर्त सहयोग गरेका छन्। काठमाडौं बाहिरको सरसफाइमा कीर्तिपुरकै ललिता महर्जन, कमला महर्जन, नानीशोभा महर्जन, नन्ददेवी बज्राचार्यलगायतले पनि फुर्सद निकालेर सघाएका छन्। आफूहरू सफाइ अभियान लिएर पुगेका शहरवासीले स्वतस्फूर्त सहयोग गरेर उत्साहित पारेको सुशीला बताउँछिन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम