समस्या कस्तो छ भने, जाडोले मान्छे मर्ने घटना विरलै हुने पहाडमा यो हिउँदको चिसो भूकम्पपीडितको मृत्युको कारण बन्न थालेको छ। न्यानो आवास, कपडा, पौष्टिक आहार, औषधिउपचार त के खानेपानी र शौचालय जस्ता न्यूनतम सुविधाबाट समेत बञ्चित भूकम्पपीडित तप–तप शीत चुहिने टीनका टहराहरूमा सहनशक्ति र जब्बर नेपालीपनको भरमा गुजारा गरिरहेका छन्। भूकम्पमा परिवारजन तथा आफन्त गुमाउनुको पीडा, बेघरबार हुनुको कहाली र असहाय हुनुको त्रासदीका बीचमा उनीहरूले सरकारबाट राहत समेत पाउन सकेका छैनन्। त्यो कारण पनि सरकारबाट ठूलो अपेक्षा नराखेका भूकम्पपीडित आफैं टिकिरहेका छन्। अस्थायी शिविरहरूमा बढ्दो चिसोले बिरामी संख्या बढाएसँगै मृत्यु पनि हुन थालेपछि भने पीडित आत्तिएका छन्।
११ पुस दिउँसो हिमाल प्रतिनिधि सिन्धुपाल्चोकको कालिका–३, कल्लेरी पुग्दा ६० वर्षीया सानी माझी टहरामा झोक्राइरहेकी थिइन्। तीन दिनअघि ८ पुसमा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएका श्रीमान् सनमान (६५) को शोकमा रहेकी उनी आफैं पनि चिसोले बिरामी थिइन्। उनले भूकम्पले घर र जाडोले श्रीमान् लगेको विलौना गरिन्। सरकारले वितरण गर्ने राहतको समन्वयका लागि भूकम्पपीडितका तर्फबाट वडा संयोजक चुनिएका उनका छोरा पूर्णले भने, “टीनको टहराभित्र रात कटाउन कठिन भएको छ, त्यसबाट बुबालाई बचाउन सकेनौं।”
ज्यानमारा चिसो
सिन्धुपाल्चोकको कालिका गाविससँग जोडिएको ठोकर्पा–३, गहते गाउँकी रत्नकुमारी खड्का (७०) ले २ पुस बिहान प्राण त्यागिन्। उनका छोरा कुमारले चिसो बढेपछि आमालाई मुख सुन्निने र आँखाबाट आँशु झ्रिरहने समस्या देखिएको बताए। भूकम्पले भत्काएको घरको थुप्रो हटाएर उनीहरूले बनाएको जस्तापाताको होचो टहरोमा राति शीत चुहिन्छ। त्यसैको चिसोले आमाको ज्यान लिएको कुमार बताउँछन्। ठोकर्पामा कात्तिकयता दुई शिशुसहित सात जनाको मृत्यु भएको छ। समयमै व्यवस्थित बसोबास र न्यानो कपडाको प्रबन्ध हुनसकेको भए यो स्थिति आउने थिएन। त्रिपाल वा जस्ताको होचो टहराको बसाइमा पर्याप्त न्यानो कपडा नहुँदा भूकम्पपीडितको नांगो आङ कठोर चिसोमा सेकिएको छ।
६ पुसमा ठोकर्पा–१ का बिलबहादुर थापा मगर (४६) यस्तै चिसोबाट बिते। अल्सर रोगबाट पीडित उनी जस्ताको टहरामा चिसो बढेपछि थला परेका थिए। त्यसअघि सोही गाउँकी भीकमाया खड्का (६९) को ८ कात्तिकमा, पदमबहादुर खड्का (७६) को २० कात्तिकमा र रमादेवी पहारी (६६) को २७ कात्तिकमा मृत्यु भएको थियो। कात्तिकमा जाडो बढिनसकेको भए पनि भुईंको चिसो, अपर्याप्त भोजन र औषधि–उपचारको अभाव ती वृद्धहरूको मृत्युको कारण बन्यो। ठोकर्पामा चिसोकै कारण चार र आठ दिनको शिशुको मृत्यु भएको ठोकर्पा स्वास्थ्य चौकीकी अनमी रेवती थापाले बताइन्।
दैनिक अखबार र रेडियोले चिसोबाट मृत्यु भएको भनेका ठोकर्पा–३ का यामबहादुर पहरी र कान्छी पहरी चाहिं जीवितै भेटिए। उनीहरूले आफ्नो मृत्यु भएको समाचार आएको सुनेका रहेछन्। पत्रकारले आफूलाई जिउँदै मारेको यामबहादुरले बताए। (हे. बक्स)भूकम्पबाट अति प्रभावित १४ वटै जिल्लाबाट चिसोका कारण एकपछि अर्को मृत्युका खबर आइरहेका छन्।
औषधि न उपचार
धादिङको अल्छीडाँडामा झार्लाङ, सेर्तुङ र तिप्लिङ गाविसका गरी १५८ परिवारका साढे तीन सय जना भूकम्पपीडित छन्। यतिका मानिस खोल्साको पानी खाइरहेका छन्। तेस्रो सन्तान यही शिविरमा जन्माएकी झार्लाङ–२ की मार्केस तामाङ (२२) लाई चिसोमा तीन महीनाकी छोरी जोगाउन कठिन परिरहेको छ। उनका पहिलो र दोस्रो सन्तानलाई पनि जाडोमा पुग्दो लत्ताकपडा छैन। भारतीय नाकाबन्दीले गर्दा मट्टीतेल र ग्याँस नपाएको वेला नजिकैको सामुदायिक वनले सुकेका दाउरा ल्याउन पनि नदिएको उनले बताइन्।
अल्छीडाँडाबाट पैदल १५ मिनेट उकालो चढेपछि जस्तापाता र त्रिपालहरूको अर्को शिविर भेटिन्छ। त्यहाँ पनि पुसको स्याँठ र शीतले सबैलाई हायलकायल पारेको छ। सेर्तुङ–५ बाट आएर बसेका सुनसिङ तामाङ (६०) ले सुत्केरी, गर्भवती, केटाकेटी र पाका उमेरकालाई चिसोले बढी सताएको बताए। ग्याँस नपाएपछि शिविरका चार–पाँच परिवार मिलेर एउटै चूलोमा दाउराले खाना पकाउने गरेका छन्। त्यस्तै, धादिङबेसीबाट १५ मिनेट माथिको धन्सारपाखामा उत्तरी धादिङको लापा, झार्लाङ, दर्खा र तिप्लिङ गाविसका १२१ भूकम्पपीडित परिवार बसेका छन्। लापा–२ का रामसुर तामाङ (३०) बच्चाहरूलाई खास गरेर राति र बिहानको जाडोले कठिन बनाएको बताउँछन्। “सुत्केरी र बच्चाको स्याहार त झ्नै कठिन बनेको छ”, साढे तीन महीना पहिले बाबु बनेका उनी भन्छन्, “त्यै पनि अहिलेसम्म टिकिएको छ।”
ठोकर्पामा मात्र होइन, कालिका र सुनखानी गाविसमा पनि स्वास्थ्यकर्मी र औषधिको अभाव छ। चिसोले कठ्याङ्ग्रिएर ज्यान गुमाएका कालिका–३ माझीगाउँका सनमान माझीका छिमेकी डिकमाया माझी (७०) चिसो बढेसँगै जीउ सुन्निने, दम बढ्ने, खोकी लाग्ने समस्याले थलिएकी छन्। सुकुटे बजारको औषधि पसलबाट रु.८०० को औषधि ल्याएर खुवाइरहेकी नातिनी रेवती रातभर शीत चुहिने टहरामा न्यानो ओढ्ने–ओछ्याउने नभएकोले हजुरआमालाई दबाइले काम नगरेको अनुमान गर्छिन्। छानाबाट तप–तप शीत चुहिने टहरामा रात कटाउन गाह्रो भएको बताउने कालिका–३ का तुलाराम माझ्ी (७२) की श्रीमती मंगली (७०) पनि थलिएकी छन्, तर उपचार पाएकी छैनन्। गाविसको हेल्थपोष्टमा डाक्टर र औषधि नभएको, बिरामीलाई अन्यत्र लैजान पैसा नभएको वृद्ध तुलारामले बताए।
कालिका–२, उखुबारीकी सुशीला थापा मगर (५०) भने टहरामा चिसोले टिक्न नसकेपछि घर भत्केको ठाउँमै भुईंघर बनाउँदैछिन्। ६ जनाको परिवार टहरामा बस्दा चिसोले बिरामी हुन थालेको र सरकारले जाडोका लागि दिने भनेको पैसा पनि नपाएको उनले बताइन्। “यो जाडोमा साह्रै बिरामी भइयो भने मर्ने बाहेक अर्को उपाय छैन”, मगरले भनिन्, “अस्पताल जाऊ भने न डाक्टर भेटिन्छ न त औषधि किन्ने पैसा नै छ।”
सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सागरकुमार राजभण्डारी ७५ स्वास्थ्यचौकी, तीन प्राथमिक स्वास्थ्य केन्द्र र एक जिल्ला अस्पतालमा दरबन्दीका ३५ प्रतिशत जनशक्ति पूर्ति हुन नसकेको बताउँछन्। उनका अनुसार, त्यो दरबन्दीबाहेक पनि जिल्लालाई ६० जना स्वास्थ्य सहायक (एचए), ६५ अहेव र ६४ जना अनमी आवश्यक छ। भूकम्पबाट ध्वस्त अर्को जिल्ला काभ्रेपलाञ्चोकका स्वास्थ्य संस्थामा पनि औषधि छैन। सदरमुकाम धुलिखेल नजिकैको कुशादेवी गाविसको स्वास्थ्यचौकीमा ७ कात्तिकमा पुग्नुपर्ने तीन महीनाको औषधि अझै पुगेको छैन। स्वास्थ्य चौकीका इन्चार्ज रहेका सिनियर अहेव प्रभुनारायण साह दैनिक आउने ९० देखि १०० जना बिरामीमध्ये ६० प्रतिशतमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको बताउँछन्। “तर, बिरामीलाई दिने औषधि सदरमुकाममै पनि छैन”, साहले भने।
कुशादेवी स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरवृद्धि गर्न लागिएकाले ल्याब र बर्थिङ सेन्टर पनि बनाइएको छ, दरबन्दी अनुसार डाक्टर पनि छन्, तर औषधि छैन। काभ्रेका जनस्वास्थ्य अधिकृत डा. राजेन्द्रप्रसाद साहले भारतीय नाकाबन्दीका कारण देशैभर कामचलाउ औषधि आपूर्ति मात्र भइरहेको र सकेसम्म मिलाउने प्रयास गरिरहेको बताए।
पुगेन 'न्यानो राहत'
प्रधानमन्त्री केपी शर्मा ओलीले ३० कात्तिकमा देशवासीका नाममा सम्बोधन गर्दा भूकम्पपीडितलाई 'न्यानो राहत' दिने भनेका थिए। यसअघि सरकारले घर भत्किएर बस्न नमिल्ने भएका परिवारलाई अस्थायी बसोबासका लागि पहिलो चरणमा रु.१५ हजार राहत वितरण गरेको थियो। तिनै परिवारका लागि हिउँदमा न्यानो कपडा किन्न प्रति घरधुरी रु.१० हजार दिने निर्णय ८ मंसीरको मन्त्रिपरिषद् बैठकले गरेको थियो। त्यस अनुसार १५ मंसीरसम्ममा न्यानो कपडाका लागि भनेर गृह मन्त्रालयले रु.६ अर्ब २ करोड ५६ लाख ७० हजार निकासा पनि गरिसकेको छ। तर मध्य पुससम्म पनि सबै गाविसमा त्यो रकम पुगेको छैन। अर्थ मन्त्रालयको श्वेतपत्रमा पनि मंसीरभित्र न्यानो कपडा किन्न प्रति परिवार रु.१० हजार राहत दिने उल्लेख गरिएको थियो, तर सिन्धुपाल्चोकको कालिका र सुनखानी गाविसका भूकम्पपीडितले १२ पुससम्म त्यो रकम पाएका थिएनन्। चिसोले ज्यान लिन थालेको समाचार आएपछि ठोकर्पामा भने यस्तो राहत वितरण गरियो।
'न्यानो राहत146 का लागि सबभन्दा बढी धादिङमा रु.८० करोड र सिन्धुपाल्चोकमा रु.७० करोड निकासा भएको छ। (हे. इन्फोग्राफिक्स पृष्ठ २७) तर आवश्यकता भन्दा कम रकम मात्र पुगेकाले बाँड्न समस्या भएको गाविस सचिवहरूको भनाइ छ। हुन पनि, ठोकर्पा गाविसमा १ हजार १९३ घरधुरीलाई वितरण गर्नुपर्नेमा १ हजार १०० परिवारका लागि मात्रै राहत पुगेको थियो। सर्वदलीय संयन्त्रका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि र राहत वितरणका लागि समन्वय गर्न गठन गरिएको वडा संयोजकहरूलाई पछि दिने गरी १ हजार १०० घरधुरीलाई मात्र वितरण गरिएको गाविस सचिव न्यौपानेले बताए। ६७८ परिवार भूकम्पपीडित भएको कालिका गाविसमा पनि ६६० परिवारका लागि मात्र राहत आउँदा बाँड्न नसकिएको न्यौपाने बताउँछन्। काभ्रेको कुशादेवीका १८ सय २ परिवार भूकम्पपीडितले पनि 'न्यानो राहत' पाएका छैनन्। गाविसका सचिव गंगालाल हाकुजू त्यो रकम जिल्लाबाटै नआएको बताउँछन्। फापरचौरको घरमा तीनै जना पुरिएर पनि बाँचेका लाललुङ तामाङ (३९) घुना तामाङ (३१) र उनीहरूका छोरा सुशान तामाङ (४) अहिले टहरोमा बसेका छन्। “कपडा पुरिएकोले ओढ्ने ओछ्याउनेको समस्या छ”, घुनाले भनिन् “सरकारले कपडा किन्ने पैसा दिन्छ भन्ने सुनेको हो, तर पाएका छैनौं।”
दुई छोरी र श्रीमतीलाई जस्ताको टहरामा राखेका कुशादेवी–९, कुखुरेटारका प्रकाश सापकोटा (५२) ले पनि 'न्यानो राहत' नपाएको बताए। रसुवा, नुवाकोट र धादिङका भूकम्पपीडितले पनि 'न्यानो राहत' नपाएको बताए। विस्थापित भूकम्पपीडित समिति, धादिङका अध्यक्ष टेकबहादुर तामाङ राहत रकम नआएपछि प्रमुख जिल्ला अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझ्ाएको बताउँछन्। उनी भन्छन्, “जाडो नसकिंदै न्यानो लुगा पाए मृत्युसँग जुध्न सजिलो हुन्थ्यो।” साल्मी–८, नुवाकोटका तिर्कमान तामाङ (२८) ले न्यानो लुगाका लागि वितरण हुने रकम पाउन ढिलो भइसकेको बताए। दुई छोरा र श्रीमतीसहित त्रिशूली नदी नजिकको भोटेचउरमा बसेका उनले जाडोमा स्थानीयवासीले सुकेको दाउरा टिप्न समेत नदिएको बरु ठाउँ खाली गर भनेको गुनासो गरे। (हे. बक्स) “भूकम्पले गर्दा हामीले आफ्नो थातथलो छाडेर नदीको तीरमा आएर बस्नुपर्यो”, तिर्कमान भन्छन्, “तर, हाम्रो दुःख न सरकारले बुझयो न त स्थानीयवासीले महसूस गर्न सके।”
जाडोमा भूकम्पपीडितले साँच्चै ठूलो कहर काटिरहेका छन्। लुग्लुग् काप्दै दाँत किट्दै चिसो सहनु उनीहरूको बाध्यता बनेको छ। लहरेपौवा–१, रसुवाका गुणबहादुर न्यौपाने (८३) ले राति जाडोले सेक्दा घरमा पुरिएका लुगा सम्झ्ँदै काम्ने गरेको बताए। उनले भूकम्पयता वृद्ध भत्ता समेत पाएका छैनन्। १३ पुसको दिउँसो घरको भग्नावशेषमा घाम तापिरहेका उनले हिमाल प्रतिनिधिसँग भने, “सूर्य भगवानले हेर्ने हुनाले दिनभर न्यानो हुन्छ, रातभरि जाडोले सुत्न सक्दिनँ।”
गाईबस्तुसँगै ओछ्यान
कुशादेवी–९ फापरचौर, काभ्रेका सन्तबहादुर र सुनमाया थिङ १२ वैशाखयता गाईबस्तुको छेउमै सुत्दै आएका छन्। (हे. तस्वीर)भूकम्पले घर–गोठ भत्काएपछि मान्छे र गाईको बास एकै भएको छ। ८ जनाको परिवारमध्ये छोरा–नाति अर्को टहरोमा बस्छन्। बूढाबूढी गाईबस्तुसँगै सुत्छन्, भान्सा त्यहीं छ। “तुषारोले खपिनसक्नुभएको वेला गाई–बाख्रालाई पनि न्यानो होला, हामीलाई पनि तातो होला भनेर यसो गरेको”, थिङ भन्छन्, “अरु उपाय पनि छैन।”
परिचयपत्रको समस्या
१२ वैशाखमा घर भत्किएपछि तीन छोरी लिएर नीलकण्ठ नगरपालिकास्थित अल्छीडाँडा शिविर आएकी झार्लाङ–२, धादिङकी नानीमाया तामाङ (३६) का श्रीमान् विदेशमा रहेको निहुँमा भूकम्पपीडित परिचयपत्र बन्न सकेको छैन। शिविरमा उनीसहित ३१ जना परिचयपत्रविहीन छन्। नानीमायाकै गाउँले सनी तामाङ (३०) सबै प्रमाण पेश गर्दा पनि परिचयपत्र नपाएको बताउँछिन्। सेर्तुङका ४५, झार्लाङका २४ र लापाका पनि १७ परिवारको परिचयपत्र बनेको छैन। “सचिवकहाँ जाँदा प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीकहाँ जाँदा सचिवकोमा पठाउँछन्”, सनी तामाङ भन्छिन्, “परिचयपत्र नभएकालाई राहत दिंदैनन्, हामीलाई सरकारी कर्मचारीले विभेद गरेका छन्।”
'हामीलाई राहत बाँड्ने अधिकार छैन'
भूकम्पपीडितलाई आवास, खाद्यान्नलगायतको समस्या परेको जानकारी मलाई छ। पीडितहरू चिसोमा लुग्लुग् काँपिरहँदा प्राधिकरणले के गर्छ भनेर सञ्चारकर्मीहरूले सोध्ने गरेका छन्। तर ऐनले प्राधिकरणलाई उद्धार वा राहत वितरणको अधिकार दिएको छैन, भूकम्पले भत्काएका संरचना निर्माणको वातावरण मिलाउने जिम्मेवारी मात्रै दिएको छ। तर, राहत वितरण नगरी पुनःनिर्माण कार्य अगाडि बढ्न कठिन छ। दक्ष र अर्ध–दक्ष जनशक्तिको व्यवस्थापन तथा निर्माण सामग्री आपूर्ति पुनःनिर्माणका मुख्य चुनौती भएका छन्।
प्रहरी नै पीडित
बिजोग भौतिक अवस्थामा रहेको प्रहरीचौकी ठोकर्पालाई कालिका गाविसको पनि सुरक्षाको जिम्मेवारी छ। प्रहरी सहायक निरीक्षक (प्रसनि) को नेतृत्व रहेको चौकीमा आठ प्रहरीको दरबन्दी छ। जस्ताको बार र छाना भएको सानो टहरोमा प्रहरीहरू कोच्चिएर बस्छन्। टहरोभित्र एउटा टेबल राखेर कार्यालयको काम चलाएका छन्। चौकी इन्चार्ज प्रेम गिरी आफैं पनि भूकम्पपीडित हुन्। सिन्धुपाल्चोककै कुन्चुक–३ का उनले १२ वैशाखमा बाबु ठूलोप्रताप गिरी, भाइको छोरो, दाइकी बुहारी र उनको भदा गरी परिवारका चार सदस्य गुमाए। “घर भत्कँदा सबै पुरिनुभएछ, त्यसपछि नुवाकोट दरबन्दी भएको म काजमा आफ्नै जिल्लामा खटिएको छु”, प्रसनि गिरी भन्छन्, “म जस्तै पीडित जिल्लावासीलाई सहयोग कति आवश्यक छ भन्ने बुझेको र सेवा गर्न तत्पर छु।”
'मलाई पत्रिकाले मार्यो'
कान्तिपुर दैनिकमा आफ्नो मृत्युको खबर पढेका र थुप्रै रेडियोबाट त्यही खबर सुनेका ठोकर्पा–३, सिन्धुपाल्चोकका यामबहादुर पहरी अहिले आफू जीवितै भएको बताएर हिंड्नुपर्दा हैरान छन्। १२ पुसको बिहान हिमाल प्रतिनिधिले भेट्दा उनी निकै दुःखी थिए। शुरुमै उनले भने, “म कठ्याङ्ग्रिएर मर्ने खालको मान्छे होइन, ज्याकेट नै किनेर लगाउन सक्ने मान्छे हुँ। मेरा ओढ्ने ओछ्याउने पनि न्यानै छन्।”
कुराकानीको क्रममा शान्त हुँदै गएका उनले पत्रिका र रेडियोले मृत्युको झूटो खबर फैलाएपछि आफूलाई परेको मर्काबारे भने, “नातागोता, आफन्त र इष्टमित्रमा अचानक ठूलो खैलाबैला भयो, धेरैले खोजीनिती गरे। साथीभाइले कताकताबाट फोन गरेर 'यामबहादुर त कठ्याङ्ग्रिएर मर्यो भन्ने खबर छ, तिमी फेरि बोल्दैछौ त' भने। मलाई त जिउँदै भएर पनि मरेजस्तो भयो। पत्रकारले झूटो समाचार छापेर प्रचारमा ल्याइदिंदा मैले सबैसामु जिउँदैछु भन्दै हिंड्नुपरेको छ। अरु चिसोले मरे मलाई पत्रिकाले मार्यो।”
'रक्सीले जाडो भगाउँदैन'
सुरक्षित आवास नहुँदा भूकम्पपीडितलाई चिसो ठूलो चुनौती बनेर आएको छ। स्वस्थ मानिसको शरीरले जाडो मौसममा न्यानो उत्पादन गर्दछ; तर बिरामी, सुत्केरी, वृद्ध–वृद्धा, गर्भवती र केटाकेटीमा त्यो क्षमता कम हुन्छ। उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ। जस्तो, पुरानो दमका बिरामीलाई चिसो हावा घातक सावित हुन सक्छ, श्वासनलीमा सीधै प्रभाव पार्ने हुनाले। लामो समय चिसो लागेपछि शरीरको तापक्रम घट्दै ९५ डिग्री फरेनहाइटमा झार्छ। यस्तोमा स्वस्थ शरीरले तापक्रम बढाउँछ। कतिपयमा रक्सीले चिसो भगाउँछ भन्ने भ्रम पनि छ। यो केवल भ्रम हो। बरु यसले शरीरभित्र न्यानो उत्पादन गर्ने क्षमतामा बाधा पुर्याउँछ। भूकम्पपीडितलाई चाहिं तत्काल न्यानो कपडा, पर्याप्त खानेकुरा र आवासको आवश्यकता छ।
स्थानीयसँग तिक्तता
नुवाकोटको भोटेचउरमा साल्मे, भाल्जे, सामरी, देउराली, किम्ताङ, काउले गाविस र रसुवाका ९ सहित ३१८ परिवारको अस्थायी बसोबास छ। भोटेचउरका केही स्थानीयले उनीहरूलाई त्यहाँबाट हट्न भनिरहेका छन्। अवस्था यस्तो छ कि झडपको संभावनालाई ध्यानमा राखेर त्यहाँ प्रहरी खटिएको छ। भूकम्पमा श्रीमतीसहित परिवारका ११ जनाको एकै चिहान भएको बताउने भाल्जे–२ का डाबेन तामाङ (६५) आफूहरूले अर्को विकल्प नपाएसम्म त्यहीं बस्न पाउनुपर्ने बताउँछन्। “विपत्तिमा एउटा मान्छेले अर्कोलाई सघाउनुपर्ने हो, तर हामीलाई यहाँबाट हट भनिरहेका छन्”, उनी भन्छन्, “फोहोर नगर्ने, हरियो रुख नकाट्ने, होहल्ला नगर्ने जिम्मेवारी हाम्रो हो, अर्को ठाउँ नपाएसम्म हामी हट्दैनौं।”
हाकू–८, रसुवाका ८८ परिवार भने लहरेपौवा–१ मा जग्गा भाडामै लिएर बसेका छन्। भूकम्पलगत्तै त्रिशूली–ए जलविद्युत् आयोजनाको शान्तिबजारस्थित चउरमा बसेका उनीहरू असारबाट लहरेपौवामा सरेका हुन्। उता, १२१ परिवार भूकम्पपीडित बसेको धादिङको धनसारपाखाको जग्गा व्यक्तिको नाममा छ। जग्गाधनीले दशैं अगाडि नै खाली गर्न भने पनि म्याद बढाउन आग्रह गर्दै बसिरहेको विस्थापित भूकम्पपीडित समितिका अध्यक्ष टेकबहादुर तामाङले बताए। जग्गाधनीको कृपा रहेसम्म यहीं बस्ने, त्यसपछि कहाँ जाने थाहा नभएको उनी बताउँछन्।