१९-२५ पुस २०७२ | 3-9 January 2016

नपत्याउँदो मनोरोग ओसीडी

Share:
  
- डा. सुमनराज ताम्राकार
चोरीचकारी होला वा रोग–महामारी आइपर्ला भनेर सतर्कता अपनाउनु राम्रो भए पनि यस्तो होशियारी अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसीडी) मा परिणत हुन बेर लाग्दैन।

व्यावहारिक सोचविचारबाट आउने एक प्रकारको मनोरोग हो– ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर)। व्यक्ति विशेषमा कुनै विचार आउँछ र त्यो नगरेसम्म उसको चित्त शान्त हुँदैन। दोहोरिरहने भएकोले त्यस्तो विचारलाई अंग्रेजीमा 'अब्सेसन' र त्यस्तो विचार आउने बित्तिकै नगरेसम्म चित्तै नबुझने भएकोले 'कम्पल्सन' भनिन्छ। यसरी 'अब्सेसिभ कम्पल्सिभ डिसअर्डर' हुँदा व्यक्तिले एकैखालको क्रियाकलाप दोहोर्‍याइरहन्छ। झ्ट्ट व्यावहारिक होशियारी जस्तो लागे पनि यो मध्यमस्तरको मानसिक रोग हो।

बारम्बार प्रार्थना, सरसफाई (पटक–पटक लुगा, हात धुने, बढार्ने) गर्नु, ढोकामा ताल्चा वा चुकुल लगाए/नलगाएको जाँच्नु, ग्याँस वा बत्ती निभाएको छ/छैन, लकर सेफ वा दराज राम्ररी बन्द गरे नगरेको बारम्बार हेर्नु, बाटो सुरक्षित छ/छैन भनेर पटक–पटक आश्वस्त हुन चाहनु, कामै नलाग्ने चिज भए पनि फ्याँक्न नचाहनु, घरी–घरी सामान मिलाउनु आदि ओसीडीका लक्षण हुन्। ओसीडीको समस्याबाट ग्रसित व्यक्तिहरू कुनै सामान यथास्थानमा नपाउँदा बढी चिन्तित हुन्छन्।

यस समस्याबाट प्रताडित व्यक्तिले त्यस्तो क्रियाकलाप सहजताका साथ बारम्बार दोहोर्‍याइरहन्छन्। समस्याको शुरुआतमा त्यस्तो क्रियाकलाप रोक्न खोजे पनि विस्तारै मनमा खेलिरहेको विचारलाई रोक्न सक्दैन र बानी बस्छ। पछि गएर यस्तो बानीले दिनचर्या र कार्यक्षमतामै असर पार्न थाल्छ।
हरेक ५० मध्ये एक व्यक्तिले आफ्नो जीवनकालमा एक न एक पटक ओसीडीको सामना गर्ने मानिन्छ। नेपालमै पनि कुल जनसंख्याको करीब तीन प्रतिशतमा ओसीडीको समस्या रहेको आकलन छ। महिला होस् वा पुरुष, यो समस्या भएका व्यक्तिलाई आफूले असामान्य व्यवहार गरिरहेको महसूस गरे पनि अरूले खिसी गर्ला, हाँसोको पात्र बनिएला, पानी बौलाहा भन्ला भनेर समस्या लुकाउँछन्। कतिपय भने यसलाई एक प्रकारको मनोरोग हो भन्ने मान्न तयारै हुँदैनन्।

ओसीडीबाट प्रताडित व्यक्तिहरूले आफू तनावमा रहेको, समस्या भएको दुःखबोध गर्न सक्छन्। आफूले दोहोर्‍याइरहेको कुनै क्रियाकलाप रोक्न चाहेर पनि नसक्दा आत्मग्लानि एवं आफू साँच्चिकै बहुलाउन थालेको त होइन भन्ने आशंका हुन्छ। उमेर २० वर्षबाट उकालो लागेपछि यो समस्या देखिन सक्छ। ब्रेन ट्युमरलगायतका मस्तिष्कको समस्या भएकाहरूमा पनि यो मनोरोग देखिन सक्छ।

शुरूमा साधारण बानीको रूपमा देखिने यो समस्याबाट प्रताडित व्यक्तिले उही विचार मनमा खेलाइरहन्छ र तदनुरूप गरिरहन्छ। मनमा खेलिरहेको विचार अनुसारको क्रियाकलाप पूरा नगरेसम्म बेचैन रहन्छ। ओसीडी पीडितहरूलाई निन्दाजन्य एउटा शब्द, वाक्य वा ध्वनिले नै चिन्तित तुल्याउँछ। त्यस्ता व्यक्तिहरू आफ्नो कारण अरूलाई कुनै समस्या नहोस् भन्नेमा आवश्यकताभन्दा बढी सजग हुन्छन्। त्यसक्रममा अनावश्यक शंकाबाट पनि पीडित हुन सक्छन्। आफूले उठाउनुपर्ने सम्भावित कदमबारे धेरै सोचेर पनि निर्णय लिन वा कार्यान्वयन गर्न सकिरहेका हुँदैनन्।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको सटिक कारण पत्ता लागेको छैन, तर मस्तिष्कमा सेरोटोनिन (एक प्रकारको रसायन) तत्वको असन्तुलनलाई यसको प्रमुख कारक मानिन्छ। करीब एकतिहाइलाई तनावपूर्ण घटनाले यो मनोरोगको शिकार बनाउँछ भन्ने मानिन्छ। अत्यन्त न्यून व्यक्तिलाई वंशाणुगत कारणले ओसीडी हुन्छ।

यो समस्यालाई शून्यमा ल्याउन कठिन छैन, तर अन्य मानसिक रोगको जस्तो उपचार विधि पनि छैन। ओसीडीलाई व्यवहारजन्य मनोपरामर्श उपचार र औषधिबाट उचित व्यवस्थापन गर्न सकिन्छ। मनोपरामर्श र औषधिको प्रयोग घरीघरी आउने सोचाइलाई कम पार्न गरिन्छ। कुनै काम वा घटनाप्रति डर वा घृणा छ भने विस्तारै त्यसको सामना गर्न लगाई मनोबल बलियो पार्न सघाइन्छ। कुनै काम गर्दै नगरे पनि त्यसको नतीजा धेरै नकारात्मक हुँदैन भनेर सप्रमाण विश्वास दिलाउनु ओसीडीको प्रभावकारी उपचार विधि हो। यसको अलावा स्नायु प्रणालीका लागि नपुग रसायन तत्व (सेरोटोनिन) औषधिका रूपमा दिन सकिन्छ।

comments powered by Disqus

रमझम