१९-२५ पुस २०७२ | 3-9 January 2016

आत्मविश्वासले अग्ला

Share:
  
- सविता श्रेष्ठ
होचो शारीरिक उँचाइलाई दृढ मनोबलले गलत सिद्ध गरेका यी आत्मविश्वासीहरूको संघर्ष कैयौं अग्लाहरूको भन्दा अग्लो छ।

तस्वीरहरुः सविता श्रेष्ठ
साथसाथः निर्मला केसी र निश्चल श्रेष्ठ।
साथीले साइकल हुँइक्याउँदा चोरमारा, नवलपरासीका ज्याक गुरुङ (४५) भने टोलाइरहन्थे। न उनी साइकल कुदाउन सक्थे, न आफैं चढ्न नै। आफूभन्दा भाइ अग्लिंदै गएपछि भने उनलाई नरमाइलो लाग्न थाल्यो। बाजे, काकालगायत धेरै जना सैनिक भएकाले उनलाई पनि यही पेशाप्रति रुचि थियो। तर, उँचाइ ३ फीट ४ इन्चमै रोकिएपछि सपना विपना हुन पाएन।

तीन दाजुभाइ र चार दिदी–बहिनीमा सबैभन्दा होचा ज्याकलाई देखेर आमाबुबा सारै दुःख मान्थे। गाउँलेले जिस्क्याउँथे। आफू किन यस्तो भएछु भन्ने कुराले उनलाई बारम्बार पिरोल्थ्यो। तर, उनै ज्याक अहिले शानको जीवन बिताइरहेका छन्। गोदावरी, ललितपुरस्थित एभरेष्ट म्यानपावर कम्पनीका प्रबन्धक उनले साउदी अरबमा तीन वर्ष र दुबईको होटलमा ८ वर्ष काम गरे। नक्खुमा घर पनि बनाए। आफूभन्दा अग्लीसँग विवाह गरेका उनी दुई सन्तानका बाबु बनिसकेका छन्। चारचक्के स्कूटरमा आउजाउ गर्छन्। होचा ज्याकको अग्लो प्रगति देखेर सबै अचम्म मान्छन्। “म स्वयंलाई यतिसम्म गर्न सक्छु जस्तो कहिल्यै लागेन”, बीबीएसम्म पढेका उनी भन्छन्, “तर, शिक्षा र सीप भयो भने उँचाइले केही फरक नपार्ने रहेछ।”

पनौती, काभ्रेकी रेणुका श्रेष्ठ (३५) तीन बहिनी र एक भाइकी दिदी हुन्। तर, उनी सबैभन्दा कान्छी जस्ती देखिन्छिन्। व्यापारका क्रममा उनको परिवार सर्लाही पुगेपछि उनले त्यहीं प्लस टु पढिन्। “मान्छे यति सानो, पढ्ने कक्षा ठूलो भनेर साथीहरू हेप्थे”, रेणुका सम्झिन्छिन्। तर, ३ फीट १० इन्चमै बढ्न रोकिएकी उनलाई आमाबुबाले भने सधैं पढ्न प्रोत्साहित गरे। १० वर्षअघि काठमाडौं बसाइँ सरेयता उनले सिलाइ, इम्ब्रोइडेरी, कम्प्युटर तालीम लिइन्। तर, जागिर दिन कोही तयार भएनन्। २०६९ सालमा रेणुकाले ७ महीना लगाएर कानूनी लेखन सम्बन्धी आधारभूत तालीम लिइन्।

काठमाडौं जिल्ला अदालतबाट लेखापढी लाइसेन्स पनि लिइन्। एक वर्षसम्म हनुमानढोकास्थित प्रहरी वृत्तमा लेखापढीको काम गरेकी उनी अहिले तीनकुनेस्थित प्रहरी कार्यालयमा त्यही काम गरिरहेकी छन्।

अमरमान नगरकोटी।

ज्याक गुरुङ।

उँचाइकै कारण गुम्दो उनको आत्मविश्वास लेखापढीले ब्यूँताएको छ। अहिले उनी मासिक रु.१० हजार कमाउँछिन्। परिवार पनि खुशी छन्। रेणुका भन्छिन्, “कसैको भरमा बाँच्नु परेको छैन, खुशीको कारण यही हो।” ज्याक र रेणुका जस्तै नेपालमा करीब पाँच हजार होचाकदका मानिस छन्। तर, तीमध्ये १२० जना मात्रै नेपाल होचा पुड्का संघको नियमित सम्पर्कमा छन्। “सही तथ्यांकका लागि जनगणनामा शारीरिक अशक्तको महलमा होचा–पुड्का समेत समावेश गर्नुपर्ने हाम्रो माग छ”, संघका अध्यक्ष समेत रहेका गुरुङ भन्छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका उपप्राध्यापक डा. सूर्यबहादुर थापाका अनुसार उँचाइ नबढ्नुमा वंशाणुगत गुण, जन्मँदा कम तौलका बच्चा, पोषण अभाव, दीर्घरोग प्रमुख कारण हुन्। उनी उँचाइ बढ्न रोकिएमा कारण पत्ता लगाई उपचार गर्न सकिने बताउँछन्। 'वशांणुगत बाहेक अन्य कारणको उपचार गर्न सकिन्छ' डा. थापा भन्छन्, “यसका लागि समयमा नै जाँच गराउनुपर्छ।”

४ फीटकी पुर्कोट, तनहुँकी निर्मला केसी (२९) लाई समयमै परिवारले उपचारमा ध्यान दिएको भए आफू पनि औसत महिला झ्ैं अग्ली हुनेथिएँ भन्ने आजसम्म लागिरहन्छ। जन्मिएको महीना दिनमै उनले आमा गुमाइन्। लगत्तै बाबुले अर्को बिहे गरे। शिशु अवस्थामा स्याहार नपुगेकै कारण उनको उँचाइ स्वाभाविक रूपमा बढ्न सकेन।

उँचाइ जाँच गराउन १२ वर्षको उमेरमा उनी सानिमासँग काठमाडौंस्थित शिक्षण अस्पताल आइपुगिन्। डाक्टरले उपचारका लागि भारत जान सुझ्ाए। तर, बुबा मानेनन्।

'दुःखी हुने कारण छैन'

उपचार गराउन बुबा सहमत नभएपछि सात कक्षासम्म पढेकी निर्मला गाउँ बसिनन्। काठमाडौंमा ईंटा, बालुवा बोकेर गुजारा गर्न थालिन्। गाउँ छँदा विद्यालयको सांगीतिक कार्यक्रममा दोहोरी गाएकी उनले रेस्टुरेन्टमा गाउने नै काम पाइन्। त्यहीं उनको भेट आफू जति नै उँचाइका गुल्मीका निश्चल श्रेष्ठ (३०) सँग भयो। उँचाइ मात्र होइन, विचार पनि मिल्यो। घरजम गरिन्।
अहिले उनी माछापोखरीस्थित निर्णायक बचत तथा ऋण सहकारीमा काम गरिरहेकी छन्। सामान्य व्यक्तिले जति धेरै शारीरिक श्रम गर्न नसके पनि श्रीमान्को सहयोगले खुशी–खुशी परिवार चलेको निर्मला बताउँछिन्। उनी भन्छिन्, “धन्न अरूको भरमा बस्नु परेको छैन।”

रेणुका श्रेष्ठ।

दलबहादुर कार्की।

ललितपुर, च्यासलमा ए ए ह्याण्डिक्राफ्ट उद्योग चलाइरहेका छम्पीका अमरमान नगरकोटी (४०) मेटलमा स्टोन भरेर बाला, लकेट, टि–पट लगायतका सामान उत्पादन गर्छन्। पाँच जनालाई रोजगारी नै दिएका नगरकोटी मासिक रु.१ लाख ५० हजारसम्मको कारोबार गर्छन्।

तर, यस्तो पनि दिन थियोे, जब उनको उँचाइ (चार फीट चार इन्च) हेरेर साथीहरू गिज्याउँथे। 'तैंले केही गर्न सक्तैनस्' भन्थे। अरू त अरू परिवारका सदस्यसमेत व्यंग्य गर्थे। ६ सन्तानमध्ये उनी जस्तै होची एक जना दिदीले पनि यस्तै दुर्व्यवहार सहनुपर्थ्यो। अन्ततः उनले घर छाडे। र, बाहिरै बसी हस्तकला सिक्न थाले।

त्यसो त केही वर्षयतादेखि सरकारले होचा पुड्काका निम्ति वार्षिक रु.३ लाख छुट्याउने गरेको छ। उक्त रकमबाट सीपमूलक तालीम आयोजना गर्दै आएको अध्यक्ष गुरुङ बताउँछन्।

आफ्नै मिहिनेतले प्रारम्भिक सीप सिकेपछि उनले उद्योग सञ्चालन गर्न परिवारसँग अंशको साटो रु.३० हजार दिन अनुनय गरे। तर, अपमान मात्र पाए। उनी भन्छन्, “६ वर्षसम्म पैसा जोहो गरंे, अनि उद्योग खोलें।” एक छोराका बाबु उनी आफूभन्दा अग्ली श्रीमतीसँग खुशी छन्।

हरिहर गाविस, गुल्मीका दलबहादुर कार्की (४६) लाई पनि जीवनमा दुःखी हुनुपर्ने कारण छ जस्तो लाग्दैन। धुलीमाटी सँगै गरेका साथीहरू आफूभन्दा अग्लो हुँदै गएपछि उनलाई पहिलोपटक आफ्नो उँचाइप्रति शंका लाग्न थालेको थियो। ४ फीट २ इन्चबाट नबढेका उनी विद्यालयका खेलकुद कार्यक्रममा सहभागी हुन सकेनन्। १० वर्षकै उमेरमा आमा गुमाएका उनले एसएलसी दिएकै वर्ष बुबाको मृत्यु भएपछि थप अध्ययन गर्न पाएनन्।

त्यसपछि दलबहादुर काठमाडौं आए। होटल, रेस्टुरेन्टमा काम गरे। नाचगानका लागि सिङ्गापुर, ओमान, इरान, दुबई पनि पुगे। तीन वर्ष यता भने उनलाई उँचाइले मात्र होइन, स्वास्थ्यले पनि साथ दिएन। ढाडको नसा च्यापियो। शल्यक्रिया नै गर्नुपर्‍यो।

बैसाखीको सहारामा हिंडडुल गरिरहेका दलबहादुरले गएको साउनमा राजधानीको भृकुटीमण्डपमा रु.७ लाखको लगानीमा 'हाम्रो खाजा घर' खोलेका छन्। “होटल, रेस्टुरेन्टमा काम गरेको अनुभवले खाजा घर चलाउन खोजेको छु”, उनी भन्छन्, “साथीभाइले पनि सहयोग गरे।”

आफूभन्दा अग्ली श्रीमती भए पनि प्राथमिक तह पढिरहेका दुई छोरीहरूले भने बुबाकै उँचाइ पछ्याएका छन्। तर, उनलाई खासै चिन्ता छैन। शिक्षाले उँचाइलाई पराजित गर्ने कुरा बुझेका उनी छोरीहरूलाई जतिसक्दो धेरै पढाउन चाहन्छन्। आफू जस्ता व्यक्तिलाई सहयोग र प्रोत्साहनको खाँचो रहेको औंल्याउँदै दलबहादुर भन्छन्, “संघर्षका क्रममा यहाँसम्म आइपुगेको छु, दुःखी हुनुपर्ने कारण छैन।”

comments powered by Disqus

रमझम