१९-२५ पुस २०७२ | 3-9 January 2016

घरमै प्राथमिक उपचार

Share:
  

दुर्घटनाको कुनै साइत हुँदैन। जहाँ, जतिवेला पनि हुनसक्छ। त्यसैले, हरपल सचेत हुनुको विकल्प छैन। यसका लागि मानसिक तयारीले मात्र पुग्दैन। पूर्वतयारीका केही साधनको आवश्यकता समेत पर्दछ। जसमध्ये, सबैभन्दा महत्वपूर्ण हो, प्राथमिक उपचारका सामग्री (फर्स्ट एड किट)।

घर, कार्यालय, विद्यालयदेखि मोटरसाइकल, कार, ट्याक्सी, बस जहाँ पनि प्राथमिक उपचारका सामग्री राख्नुपर्छ। हामीमध्ये अधिकांश चोट लागिहाले अस्पताल वा मेडिकल हल खोज्नतिर लाग्छौं, तर कुनै चोट यस्ता हुन्छन् जसलाई जतिसक्दो चाँडै उपचार गरिहाल्नुपर्छ, त्यस्तो स्थितिमा प्राथमिक उपचारले तत्काल राहत मात्र होइन, बिरामीलाई अस्पतालसम्म पुर्‍याउनका लागि पनि सञ्जीवनीको काम गर्छ। शहरदेखि टाढा, रातको समयमा दुर्घटना भइहाले त यस्ता सामग्री वरदान सावित हुनसक्छन्।

आगोले पोलेमा, ठोक्किएर चोटपटक लागेमा, मौरी–अरिंगाल, सर्पले टोकेमा, ढोकामा हात–पाउ च्यापिएमा, हात, खुट्टा काटेमा, चिप्लिएमा तत्काल प्राथमिक उपचार गरिहाल्नुपर्छ। यसो गरिए तुरुन्त रक्तस्राव रोक्न र शरीरलाई आराम दिन सकिन्छ। तर, हामीकहाँ प्राथमिक उपचारका सामग्री राख्ने चलन अत्यन्तै कम भएको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटीका हाडजोर्नी विभाग प्रमुख डा. राम के. साह बताउँछन्। “गाउँ–घरतिर यसबारे जानकारी नै छैन”, उनी भन्छन्, “शहरकालाई थाहा छ, तर लापरवाही गर्छन्।”

कसरी बनाउने?

चोट लागेर अस्पताल वा डाक्टरकहाँ जानुअघि प्राथमिक उपचार गर्नुपर्छ। त्यो उपचारका लागि आवश्यक औषधि र उपकरण राखिने झोला वा बाकसलाई प्राथमिक उपचार सामग्री (फर्स्ट एड किट) भनिन्छ। यसबारे विद्यालयस्तरमै अध्यापन गराइनुका साथै यस्ता सामग्री बनाउन समेत सिकाउने गरिएको छ। तर; घर, कार्यालयमा उपचार सामग्री राख्ने चलन कमै देखिन्छ। “केटाकेटी वा वृद्धवृद्धा भएका घरमा त झन् किट राख्नैपर्छ”, डा. साह भन्छन्, “यसले सामान्य चोटपटकलाई ठूलो समस्या हुनबाट पनि बचाउँछ।”

कतिपय अस्पताल वा औषधि पसलमा आईएसओ प्रमाणित चिन्ह भएको 'फर्स्ट एड बक्स' वा 'मेडिकल ब्याग' किन्न सकिन्छ। यस्ता ब्याग आफैंले बनाउन पनि खासै मिहिनेत पर्दैन। पानी वा शीतले नबिगार्ने खालको प्लास्टिकको भाँडामा एन्टिसेप्टिक क्रिम वा मल्हम, कपास, पट्टी, ब्यान्डएज/टेप, सिटामोल, थर्मोमिटर, सानो कैंची र ट्वीजर (चिम्टी) राखेपछि सामान्य किट तयार हुन्छ। भाँडालाई अलि आकर्षक बनाउन मन लागे त्यसको बाहिरी भागमा सेतो चार्ट पेपर टाँसेर प्लस चिन्ह बनाउन सकिन्छ।

किटमा राखिएका औषधिको समयसीमाबारे विशेष ख्याल राख्नुपर्छ। किटलाई भान्सा कोठामा बालबालिकाले नभेट्ने ठाउँमा राख्नुपर्छ। सधैं निश्चित ठाउँमा राख्नाले चोट लागेका वेला खोजिरहनु पर्दैन। बढी चिसो वा तातोमा भने राख्नुहुन्न। डा. साह किटबारे परिवारका सबै सदस्यलाई जानकारी दिई प्रयोगको तरीका पहिल्यै सिकाउनुपर्ने बताउँछन्। “किटमा सुई र कडा खालका औषधि वा मल्हमहरू नराखेकै राम्रो”, उनी भन्छन्, “हतारका वेला झुक्किएर उल्टो दबाइ पर्न सक्ने भएकाले सामान्य औषधि र औजार मात्रै राख्नुपर्छ।”

किटभित्र औजार, औषधि, मल्हम आदिका विभिन्न खण्ड बनाउन सकिन्छ। यसो गर्नाले आपत्का वेला पहिल्याउन सजिलो हुन्छ। किटसँगै घरमा चित्रसहितका उपचार विधिका पोस्टर राखिए झनै उपयोगी हुने स्वास्थ्यकर्मीको सुझाव छ।

सजना बराल

comments powered by Disqus

रमझम